समसामयिक

आवरण कथा» पतञ्जली साम्राज्यका सारथि

भारतीय अर्बपतिमा सूचीकृत नेपाली मूलका आचार्य बालकृष्णको चामत्कारिक प्रगति

- रामबहादुर रावलदीर्घराज उपाध्याय, हरिद्वार (भारत)

दृश्य १ : ध्यानस्थ योगी मुद्रामा निर्मित पतञ्जली योगपीठको सदभावना भवनको पहिलो तलामा विभिन्न तहमा सुरक्षाकर्मीहरू पहरा दिइरहेका छन् । भित्र सचिवालयका कर्मचारीहरू आगन्तुकको स्वागत र भेटघाटको व्यवस्थापनमा व्यस्त छन् । आचार्य बालकृष्ण, ४४, आफ्नो कार्यकक्षमा एउटा आरामदायी मेचमा आसीन छन् । 

र, उनको टेबुलअगाडिका कुर्सीमा तीन जना उच्च तहका उनीभन्दा पाका कर्मचारी/व्यवस्थापक छन्, जो आचार्य बालकृष्णलाई गाई पालनसम्बन्धी एक नयाँ परियोजनाबारे ब्रिफिङ गरिरहेका छन् । जग्गा, आर्थिक व्यवस्थापन र कार्यप्रणाली टुंगो गरेपछि कुरो अड्कियो, नाममा । बालकृष्णले छेवैको सोफामा बसेका बाबा रामदेवतिर पुलुक्क हेरे । रामदेवले सुझाए, “यसमा गाईसम्बन्धी अनुसन्धानको पक्ष नछुटोस् ।” परियोजनाको नाम गौ संवद्र्धन तथा अनुसन्धान ट्रस्ट राख्ने निधो भयो । तुरुन्त नासिक, महाराष्ट्रमा उक्त परियोजनाको काम अगाडि बढाउन बालकृष्णले निर्देशन दिए । तीनै जनाले उनको आदेश पालन गर्ने सहमतिस्वरूप शिर झुकाए र बाहिरिए । 

दृश्य २ : यतिखेर साँझको ७ बज्दै छ । कृपालुबाग आश्रम, कनखल, हरिद्वारको गेटमा केही सुरक्षाकर्मी र आश्रमका सेवकहरू सतर्क अवस्थामा छन् । सेतो रंगको रेन्जरोभर गाडी हुइँकिँदै गेटभित्र पस्यो । पातलो सेतो कुर्ता, सेतै धोती र साधारण चप्पलमा आचार्य बालकृष्ण गाडीबाट झरे । अघिपछि उनका अर्दली देखिए । बालकृष्णचाहिँ बगैँचाभित्र लुकेको कुटीतिर छिरे । सहयोगीमार्फत आगन्तुक भेट्न आइपुगेको खबर पाएपछि तुरुन्तै उनी प्रांगणमा निस्किए । 

साँझको अँध्यारोमा डुबेको कृपालुबाग आश्रम । हलुका मुस्कानसँगै देखापरेका बालकृष्णको सेतो पहिरनमाथि सेता दाँत थप चम्किला भए । नम्र लबजमा उनले भने, “कस्तो रह्यो तपाईँहरूको भ्रमण ? चिया त खानुभयो नि †” उनले नै चिनाए, यो त्यही आश्रम हो, जहाँबाट पतञ्जलीको आजको आध्यात्मिक–आर्थिक साम्राज्यको लहरो टुसाएको थियो, २२ वर्षअघि । 

हुन पनि पुस ०५१ तिरको कुरा हो, यही कनखल हरिद्वारमा दिव्ययोग मन्दिर ट्रस्ट स्थापनाका लागि १२ हजार भारतीय रुपियाँ (भारु) नहुँदा उनी धेरैतिर भौँतारिएका थिए । सांसारिक जीवनबाट मोहभंग भएर वैराग्यको जीवन अपनाएका साधुहरूको हात थापेर गुजारा चलाउने शैलीप्रति उनी सहमत थिएनन् । त्यसैले कसैसँग भिक्षा माग्नु उनको धर्मले दिँदैनथ्यो । निकै कसरतपछि मात्र उनले दुई जना सज्जन भेटे, जो १२ हजार भारु सापटी दिन तयार भए । त्यो रकम उनले बैंकमा राखे र ट्रस्टको काम अगाडि बढाए । पछि ट्रस्टको आफ्नै आम्दानी भएपछि सापटी फिर्ता गरिदिए ।

२२ वर्षअघि १२ हजार रुपियाँ नपाएर सापटी खोज्न भौँतारिने तिनै युवक आज भारतका ठूला अर्बपतिहरूको सूचीमा दरिएका छन् । ती युवक आज आचार्य बालकृष्ण हुँदै अर्बपति बालकृष्ण कहलिएका छन् । आर्थिक र आध्यात्मिक साम्राज्य आज सवा एक अर्ब जनसंख्या र करिब ३३ लाख किलोमिटर क्षेत्रफल भारतभर फैलिएको छ । भारतका प्रख्यात योगगुरु बाबा रामदेव, ४८, अध्यक्ष रहेको पतञ्जली योगपीठ ट्रस्टका महामन्त्री बालकृष्ण पतञ्जली आयुर्वेद लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृतसमेत हुन् ।

विसं २०६२ मा स्थापित यस कम्पनीको पछिल्लो एक वर्षको कारोबार मात्र ५० अर्ब भारु (८० अर्ब रुपियाँ) छ, जुन कम्पनीको ९७ प्रतिशत सेयर आचार्य बालकृष्णको स्वामित्वमा छ । यस कम्पनीले आयुर्वेदिक औषधिदेखि जडीबुटीबाट बनेको भनिने टुथपेस्ट, चाउचाउसम्म उत्पादन गर्छ, जसका परिकल्पनाकार, संस्थापक, प्रमुख व्यवस्थापक र प्रशासक सबै भूमिकामा आचार्य बालकृष्ण छन् । अझभन्दा पतञ्जलीका नाममा जहाँ सम्पत्ति, कारोबार र स्वामित्वको कुरा आउँछ, त्यहाँ बालकृष्ण हुन्छन् । पतञ्जली ब्रान्ड अन्तर्गत ५० वटा कम्पनी सञ्चालित छन् । ती सबैको सम्पत्तिमा ९० प्रतिशतभन्दा बढी स्वामित्व आचार्य बालकृष्णको छ । यिनैमध्येको एक पतञ्जली आयुर्वेद लिमिटेड हो, जो सबैभन्दा ठूलो कारोबार भएको संस्था पनि हो । 

बाबा रामदेव बालकृष्णलाई पतञ्जलीका ‘ मास्टर डिजाइनर’ मान्छन् । भन्छन्, “म यति मात्र भन्न सक्छु कि जो हामीले सोच्यौँ, उसको मूर्तरूप आचार्यजीले दिनुभयो । आचार्यजी एक महान् शिल्पी हुन्, ठूला इन्नोभेटर (आविष्कारक) हुन्, वैज्ञानिक हुन्, ठूला भिजनरी हुन्, मिसनरी हुन्, कुशल प्रबन्धक हुन्, प्रशासक/प्रशास्ता हुन् । ठूला विद्वान् हुन् । यी सबका अतिरिक्त एक निष्काम, निर्लोभ कर्मयोगी हुन् ।”

बाहिर रामदेव, भित्र बालकृष्ण

झट्ट हेर्दा लाग्छ, बाबा रामदेव नै पतञ्जलीका पर्याय हुन् र आचार्य बालकृष्ण उनका शिष्य मात्र । तर, पतञ्जली योगपीठभित्र छिरेपछि भने यो धारणा स्वत: खण्डित हुन्छ । बाबा रामदेव आर्थिक कारोबारबाट सम्पूर्ण रूपमा अलग छन् । आयुर्वेद, योग र प्राकृतिक चिकित्सालाई अत्याधुनिक प्रविधि र आधुनिक जीवनशैलीसँग जोड्दै भारतभरि आर्थिक साम्राज्य विस्तार गर्न सफल एक नेपाली मूलका भारतीयको छवि पनि बालकृष्णले बनाएका छन् ।

बाहिर जसरी रामदेवको चर्चा हुन्छ, पतञ्जलीमा त्यसै गरी बालकृष्णको नाम गुञ्जिन्छ । पतञ्जली र यससँग सम्बन्धित संस्था, गुठी र कम्पनीका भित्ताहरूमा र ामदे वसँगै र छुट्टै पनि बालकृष्णका विभिन्न उमेर र अवस्थाका तस्बिरहरू अंकित छन् । उनलाई भेट्ने, आशीर्वाद थाप्ने र औषधोपचारका लागि अनुरोध गर्नेहरूको सधैँ भीड लाग्छ । ३० असोज अपराह्नकै दृश्य हेरौं ।

आचार्य बालकृष्णलाई भेट्ने आगन्तुकको भीड छ, उनको कार्यकक्षबाहिर । तीमध्ये एक मध्यमवर्गीय परिवारका तीन सदस्य उनको कार्यकक्षमा प्रवेश गर्छन्, सचिवालयको अनुमतिपछि । श्रीमान्, श्रीमतीले पालैपालो बालकृष्णको पाउ समातेर ढोग्छन् र छोरालाई पनि त्यसै गरी ढोग्न लगाउँछन् । बालकृष्णले तथास्तु शैलीमा सबैको शिरमा हात राखेपछि छेउको सोफामा बसेका रामदेवतर्फ इसारा गर्दै भन्छन्, “स्वामीदेवको पनि दर्शन गर्नूस् र आशीर्वाद लिनूस् ।” त्यसपछि त्यो परिवार रामदेवसामु पनि निहुरिन्छ । यो प्रसंगले पनि मद्दत गर्छ, बालकृष्णको व्यक्तित्व र प्रभावको आकलन गर्न । स्वयं रामदेव भन्छन्, “म त केवल अनपेड (नि:शुल्क) ब्रान्ड एम्बेसडर हुँ । कसैकसैले त मार्केटिङ गुरु भन्छन् ।”

चामत्कारिक प्रगति 
आचार्य बालकृष्ण प्रबन्ध सञ्चालक/प्रमुख कार्यकारी अधिकृत रहेको पतञ्जली आयुर्वेद लिमिटेडले मारेको छलाङले सिंगो भारतीय व्यवसायी समुदायलाई स्तब्ध तुल्याएको छ । यो त्यही कम्पनी हो, जसले सात वर्षअघि २ अर्ब ६० करोड रुपियाँको कारोबार गरेको थियो । त्यसैको अर्को वर्षमा त्यो कारोबार दोब्बर बनाउँदै ५ अर्ब ८ करोड पुर्‍यायो । पाँच वर्षअघिको कारोबारसँग तुलना गर्दा यस कम्पनीको कारोबार ११ गुणाले बढेको छ । अर्थात्, पाँच वर्षअघि ७ अर्ब २० करोड रुपियाँ वार्षिक कारोबार भएको यस कम्पनीले पछिल्लो एक वर्षमा ८० अर्ब रुपियाँ (५० अर्ब भारु)को व्यापार गरेको छ । 

बालकृष्णकै शब्दमा यति तीव्र वृद्धि हासिल गर्ने कम्पनी भारत स्वतन्त्र भएयताको सम्भवत: पहिलो र बिरलै भेटिने उदाहरण हो । भन्छन्, “पाँच हजार करोड (भारु)को कारोबारमा ११–१२ प्रतिशत नाफा हुँदा पनि ६ सय करोड (अर्थात् करिब साढे ९ अर्ब नेपाली रुपियाँ) हुन्छ । तर, यो सबै नगद मेरो हातमा छ भन्ने होइन । नयाँनयाँ परियोजना, व्यवसाय विस्तारमा गइरहेको छ ।” 

हालैका दिनमा यस कम्पनीको कारोबार यसरी बढिरहेको छ कि एक वर्षमै दुईपल्ट दोब्बर हुँदै छ । कम्पनीका उच्च व्यवस्थापकहरूको अनौपचारिक अनुमानमा चालू वर्षमा यो कम्पनीको कारोबार करिब २५ हजार करोड (भारु) अर्थात् चार खर्ब नेपाली रुपियाँबराबरको चामत्कारिक वृद्धि हासिल गरिसकेको छ । नेपालको यस वर्षको बजेट साढे १० खर्ब रुपियाँको तुलनामा पतञ्जली आयुर्वेदको एक वर्षको कारोबार मात्रै करिब ४० प्रतिशत हुन आउँछ । 

फेरि यो त एउटा कम्पनीको मात्र विवरण हो । अरू पनि यस्ता कम्पनी र उच्च कारोबार भएका ट्रस्टहरू छन्, जसको नेतृत्व, सञ्चालन र व्यवस्थापन आचार्य बालकृष्णले गरिरहेका छन् । जस्तो कि, दिव्य फार्मेसीले पनि आयुर्वेदिक औषधिको कारोबार गर्छ, जुन दिव्य योग मन्दिर ट्रस्ट अन्तर्गत सञ्चालित छ । दिव्य योग मन्दिर, पतञ्जली योगपीठलगायत विभिन्न ट्रस्टहरूले सेवामूलक गतिविधि गर्न यस्तै करोडौँ कारोबार गर्ने परियोजना चलाएका छन् भने कतिपय सञ्चालनको क्रममा छन् । यी सबै गरी ५० भन्दा बढी कम्पनी बालकृष्णको स्वामित्व र सञ्चालनमा छन् ।

विश्वविद्यालय, महाविद्यालय, विद्यालय, योग आश्रम, खाद्य तथा जडीबुटीहरूका उद्यान, गाई पालन, मह, दुग्ध पदार्थलगायत उत्पादन गर्ने उद्योग तथा कारखानाहरू उनको नेतृत्वमा छन् । तिनले भारतमा सञ्चालित धेरै बहुराष्ट्रिय कम्पनीहरूको निदहराम गरिदिएको छ । भारतका कतिपय प्रान्तीय सरकारहरूले आफ्ना संस्थान र गुठीहरूले व्यवस्थापन गर्न नसकेका परियोजनासमेत जिम्मा लिइदिन पतञ्जलीलाई अनुरोध गर्दै छन् । भारतभर र बाहिरसमेत गरी पाँच हजारभन्दा बढी आयुर्वेद तथा प्राकृतिक चिकित्सालय/आरोग्य केन्द्र आचार्य बालकृष्णका मातहत सञ्चालनमा छन् ।

पतञ्जली विश्वविद्यालय र योग तथा आयुर्वेद अनुसन्धान संस्थानको नेतृत्व पनि उनले गरेका छन् । थप पाँच हजारभन्दा बढी संस्थाहरू पतञ्जलीको चिकित्सा पद्धति अनुशरण गरिरहेका छन् । आयुर्वेदिक चिकित्सक, योग प्रशिक्षक तथा बिक्रेताहरूको सञ्जाल त्यसै गरी बढिरहेको छ । करिब २० हजार जनाले बालकृष्णको मातहत रहेर प्रत्यक्ष रूपमा स्थायी रोजगारी पाएका छन् भने अरू २० हजार चिकित्सकले पतञ्जलीको छाताभित्र रहेर काम गरिरहेका छन् । अप्रत्यक्ष रूपमा रोजगारी पाउनेहरूको संख्या करिब डेढ लाख हुन सक्ने अनुमान बालकृष्णको छ । “प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी तथा व्यावसायिक लाभग्राहीको संख्या जोड्ने हो भने पाँच लाख पुग्छ होला,” बालकृष्ण आफ्नो व्यावसायिक साम्राज्यको व्याख्या गर्छन्, “उत्तराखण्डमा सर्वाधिक ठूलो करदाता पनि हामी नै हौँ ।”

यसरी सम्भव भयो 
बालकृष्ण र रामदेवले भारतीय अन्य योगी, साधक वा बाबाले नगरेको काम गरे । उनीहरू आफ्नो कुटीमा मात्र सीमित भएनन्, सार्वजनिक फाँटमा ओर्लिए । अध्यात्म र आरोग्यमा चासो राख्ने जनसमूहलाई संगठित गरे । योग, आयुर्वेद र प्राकृतिक चिकित्साबारे जागरण पैदा गर्न सबै प्रकारका विधि, प्रविधि र उपकरण प्रयोग गरे । १० नोभेम्बर १९९४ मा कृपालु बाग आश्रम, हरिद्वारबाट सुरु भएको संगठित सोच अनुरूपको योग शिविर क्रमश: बाहिर निस्केर गुजरात, हरियाणा, राजस्थान, दिल्लीका सार्वजनिक स्थलमा पुग्यो । उनीहरूले सार्वजनिक मञ्चमा प्रवचन दिए । त्यतिबेला मुस्किलले २ सयदेखि २ सय ५० जनासम्म भेला हुन्थे । वार्षिक ५० देखि १ सयवटा योग शिविर चलाए, सुरुका वर्षमा । “एक दिन त यस्तो आयो, दिल्लीको छत्रशाल रंगशालामा आयोजित शिविरमा १० हजारको उपस्थिति रह्यो,” रामदेव सम्झन्छन्, “त्यतिखेर हामीसँग न धेरै पैसा थियो, न त धेरै जानकारी नै । ठाउँठाउँमा स्क्रिन लगाउने सुविधा पनि थिएन । मञ्चमा म जे सिकाउँथेँ, फिल्डमा हाम्रा कार्यकर्ताले बीचबीचमा गएर नक्कल गर्न सघाउँथेँ ।” अहिले हरिद्वारमै ४० हजार सहभागीले एकैपटक योग सिक्न मिल्ने भव्य अत्याधुनिक हल, त्यति नै आगन्तुकलाई खाने/बस्ने क्षमता र विभिन्न स्तरका सुविधा जडित आवासगृहको व्यवस्था गरिएको छ ।

उनीहरूले आमसञ्चारका माध्यमबाट योगका प्रशिक्षण दिए । योग र आरोग्यसम्बन्धी केन्द्रहरू ठाउँठाउँमा विस्तार गरिए । तिनले योग प्रशिक्षकहरू उत्पादन गरे । योग शिविर र प्रवचनमा दिइने आरोगितासम्बन्धी शिक्षा अनुरूपका जडीबुटीय औषधिहरू उपलब्ध गराउन थाले । जतिजति संगठन सञ्जाल विस्तार हुँदै गयो, त्यति नै उनीहरूको उत्पादनको माग बढ्दै गयो । त्यो माग पूरा गर्न एउटा स्थायी उत्पादन तथा वितरण केन्द्र आवश्यक भयो । कनखलस्थित आश्रममै एउटा चिकित्सालय सुरु गरियो । त्यहाँ आयुर्वेद र प्राकृतिक चिकित्सा विधि अनुरूप रोगको पहिचान र उपचार हुन थाल्यो । आवश्यक औषधि वितरण गर्न थाले । सन् २००२ पछि त्यसले अत्याधुनिक प्रविधिसहितको दिव्य फार्मेसीको रूप लियो ।

बजारको माग अनुरूप आपूर्ति बढाउन पतञ्जली आयुर्वेद कम्पनी खुल्यो, सन् २००६ मा । त्यसले औषधि मात्र होइन, अन्य तत्काल उपभोग गर्न सकिने तयारी उपभोग्य वस्तु ‘फास्ट मुभिङ कन्जुमर गुड्स’ (एफएमसीजी) उत्पादन गर्न थाल्यो । उसले जे उत्पादन गर्‍यो, त्यो बजारमा छिनभरमै सकिन थाल्यो, दन्तमन्जनदेखि साबुन, कपालमा लगाउने तेल, फेसवास, क्रिम, पाउडरहरूसम्म । यी उत्पादनतर्फ अरू कुनै पनि आयुर्वेदिक सामग्री उत्पादकहरूको ध्यान जान सकेको थिएन । बालकृष्ण भन्छन्, “अहिले करिब एक हजारजति उत्पादनहरू हाम्रो (पतञ्जलीको) ब्रान्डमा बजारमा उपलब्ध छन् । अब यो संख्या दोब्बर/तेब्बर भएर बढ्नेछ, घट्ने छैन ।”

पतञ्जलीको बजार प्रवेश यस्तो समयमा भयो, जतिखेर भारतीयहरू राजनीतिक स्वतन्त्रताको उपयोग गर्दै तीव्र आर्थिक वृद्धिका निम्ति दौडिरहेका थिए । हुन पनि सन् १९९० को दशक यस्तो ऐतिहासिक कालखण्ड थियो, जतिखेर सर्वाधिक आर्थिक वृद्धिदर हासिल गर्ने विश्वका १३ अर्थतन्त्रमा भारत पथ्र्यो । आर्थिक सम्पन्नताको खोजीमा दौडिएको त्यो पुस्ताले आफ्नो स्वास्थ्यतर्फ ध्यान दिन सकिरहेको थिएन । यसले भारतमा मध्यमवर्गको आकार त विस्तारित गर्‍यो तर भारतीय संस्कृति र दिनचर्यालाई पश्चिमा उपभोगवादी संस्कृति र बजार अर्थतन्त्रले खर्लप्पै निल्दै गयो । व्यस्त दैनिकी, अस्तव्यस्त खानपान तथा रहनसहनका कारण सम्पन्नतासँगै घरघरमा मधुमेह, मुटुरोग, अनिद्रा, अशान्ति, पारिवारिक बेमेल, नयाँ पुस्तामा कुलतको प्रकोप देखिन थाल्यो । ठीक त्यही बेला रामदेवले टेलिभिजनबाट भन्न थाले, ‘कम खाऊ । स्वस्थ खाना खाऊ । योग गर । प्राकृतिक जीवन पद्धति अपनाऊ । आफ्नो धर्मसंस्कृति नभुल ।’ आस्था, संस्कार, सत्संग, आस्था भजनलगायत टेलिभिजन च्यानलहरू प्रत्यक्ष रूपमा बालकृष्णको स्वामित्वमा सञ्चालित छन् । त्यसै गरी आधा दर्जन सञ्चारगृहको लगानीमा उनको हिस्सेदारी छ । पतञ्जली विश्वविद्यालय योग साहित्य अनुसन्धान विभाग प्रमुख आचार्य महेशानन्द विद्यालंकार भन्छन्, “मिडिया प्रवेशले नै हामीलाई संसारको धेरै ठूलो जनसंख्यासम्म पुग्न मद्दत पुग्यो । र, ठूलो जनसमुदाय हामीसँग जोडियो ।”

भारत मात्रै होइन, संसारका कुनै पनि ठूला कम्पनीसँग नभएको सामथ्र्य पतञ्जलीसँग कुनै छ भने त्यो हो सांगठनिक सञ्जाल हो । आध्यात्मिक जागरण र सामाजिक सेवाको पृष्ठभूमिमा हुर्किएको पतञ्जलीका संगठनहरू भारत र छिमेकमा मात्रै होइन, विश्वभर फैलिएका छन् । आरोग्यका लागि योग र उपचारका लागि आयुर्वेद तथा प्राकृतिक चिकित्साको महत्त्वपूर्ण ब्रान्ड पतञ्जलीको छत्रछायामा ठाउँठाउँमा चिकित्सालय तथा आरोग्य केन्द्र चलिरहेका छन् । 

आचार्य बालकृष्णकै भनाइमा, भारतमा मात्र १० लाख शिक्षक पतञ्जलीका उत्पादन छन्, जसले एक लाखभन्दा बढी नि:शुल्क योग कक्षाहरू चलाउँछन् । पाँच हजारभन्दा बढी आयुर्वेद चिकित्सालय र आरोग्य केन्द्रले पनि पतञ्जलीको ‘ब्रान्ड भ्यालु’ वृद्धिमा प्रत्यक्ष/परोक्ष योगदान गरिरहेका छन् । पतञ्जलीका गतिविधिको प्रचारप्रसार तथा कार्यान्वयनका लागि भारतकै विभिन्न भाग, नेपाल, बेलायत, अमेरिका, क्यानडालगायत मुलुकमा ट्रस्टहरू स्थापना गरिएका छन् । विभिन्न ठाउँमा रहेका आश्रम र गुरुकुलहरूले पनि पतञ्जलीप्रति सद्भावना बढाउने काम गरेका छन् । 

भारत स्वाभिमान ट्रस्ट र यसको सञ्जाल पतञ्जलीको अर्को ठूलो शक्ति हो, जसमार्फत भारतीय जनसाधारणमा रहेको राष्ट्रभक्तिको भावना, सांस्कृतिक एकता र आध्यात्मिक लगावलाई एकमुष्ट रूपमा परिचालन गर्न खोजिएको छ । यसको प्रत्यक्ष–परोक्ष प्रभावले पतञ्जलीको साम्राज्य विस्तारमा मद्धत पुगेको छ । 

राजनीतिमा प्रभाव
पूर्ववर्ती कंग्रेस (आई) नेतृत्वको यूपीए गठबन्धन सरकारले पतञ्जलीका गतिविधिमाथि विभिन्न आरोपमा प्रहार गर्‍यो । रामदेवको नाम र बालकृष्णको कारोबार जोडिएका सबैजसो संस्थाका खातापाता कब्जामा लियो । बालकृष्णलाई नेपाली नागरिकतासमेत लिएको, दुवैतर्फ सम्पत्ति राखेको लगायत आरोपमा अनुसन्धान गरे, यहाँको ठूला अपराध र भ्रष्टाचार हेर्ने अनुसन्धान निकायहरूले । उनलाई नियन्त्रणमा लिए । रामदेवले दिल्लीको रामलीला मैदानमा अनशन र प्रदर्शन नै गरे । त्यहाँ प्रहरीले हस्तक्षेप गरेपछि नौ महिनासम्म हरिद्वार नफर्किने अडान लिएर उनले देश दौडाहा सुरु गरे । त्यस क्रममा २० लाख किलोमिटर यात्रा गरी १० हजार ९ सय ५० वटा सभा/शिविरमा रामदेवले सम्बोधन गरेको र २० करोड जनतासँग प्रत्यक्ष संवाद भएको रामदेव बताउँछन् । “हामीलाई सिध्याउन लागेको कंग्रेस सरकार उखेलेर मात्र हरिद्वार फर्कने कसम खाएर निस्केको थिएँ । आज नतिजा तपाईं–हाम्रो सामुन्ने छ ।”

भारत स्वाभिमान आन्दोलन र कंग्रेस सरकारको विरोधलाई लिएर रामदेव र बालकृष्णले राजनीति गरिरहेको आरोप लागिरहेकै छ । तर, यी राजनीतिक दृश्यपटमा भने बालकृष्णको उपस्थिति कम छ । राज्यले आफूमाथि धरपकड गर्दा मुलुकभरबाट समर्थनमा आवाज उठ्नुलाई उनले ठूलो उपलब्धि ठानेका छन् । सरकारको हस्तक्षेपलाई गलत भनेर सारा भारतले विरोध गरेको र आफ्नो पक्षमा आवाज उठाएको बालकृष्ण बताउँछन् ।

रामदेव, बालकृष्ण र पतञ्जलीका गतिविधि र पृष्ठभूमिबारे उठेका प्रश्नहरू साम्य हुँदै छन् । अनुसन्धान गर्ने निकायले विवादहरूको निप्टारा लगाउँदै छ र अहिलेसम्म कुनै पनि आरोपमा अड्डा–अदालतले उनीहरूलाई दोषी स्थापित गरेको छैन । यो तथ्य हो । र, आफ्नो उद्देश्य गलत नभएकाले कुनै पनि सरकारले आगामी दिनमा पनि गलत प्रमाणित गर्न नसक्ने यी दुवै योगगुरुको दाबी छ । विगतमा सरकारले गरेको आक्रमणले आफूहरूप्रति थप सहानभूति प्राप्त गरेको, आफ्ना काम–कारबाहीको औचित्य प्रमाणित गर्न सकेको र आगामी दिनका लागि थप आत्मविश्वास प्राप्त गरेको उनीहरूको निचोड छ । बालकृष्ण भन्छन्, “गलत काम गरेर कोही अगाडि बढेको छ भने उसको यात्रा अवश्य एक ठाउँमा गएर रोकिन्छ तर हाम्रो यात्रा अनवरत चल्छ । हामी सत्यमा उभिएका थियौँ र त्यसैले जित्यौँ पनि । हामीमाथि ज्यादती गर्ने सरकारलाई भारतीय जनताले नै बढारिदिए ।”

दुई वर्षअघिको आमचुनावको नतिजा सार्वजनिक भएपछि आज भारतीय बजारमा धनबल र जनबल दुवै भएको सर्वाधिक ठूलो पार्टीमा गणना गर्न थालिएको छ, पतञ्जली साम्राज्यलाई । उक्त चुनावमा ५ सय ४३ स्थानमध्ये २ सय ८२ स्थान पतञ्जलीका ‘ब्रान्ड एम्बेसडर’ रामदेवको समेत समर्थन भएको भारतीय जनता पार्टी (भाजपा)ले जित्यो । के अब पतञ्जलीको संगठन सञ्जालले प्रत्यक्ष राजनीतिमा हात हाल्छ ? रामदेव आफ्नै ब्रान्डको हाँसो हाँसे । शब्दमा जवाफ बालकृष्णले नै दिए, “हामीले जे गरिरहेका छौँ, त्यो राजनीति नै हो । राजनीति अर्थात् राष्ट्रहित–नीति । राष्ट्रको सेवा गर्ने नीति । आजको दुनियाँलाई चाहिएको यही होइन ?” 

अभिन्न जोडी

बाबा रामदेव र आचार्य बालकृष्ण आफैँ चाहिँ एकअर्कालाई बालसखा भन्न रुचाउँछन् । उनीहरूको भेट सन् १९८७/८८ तिर हरियाणाको गुरुकुलमा भयो । रामदेव त्यतिखेर बालक रामकिशन (रामकृष्ण) यादवका रूपमा खानपुरस्थित आर्ष गुरुकुलमा शिष्य थिए । रामदेवभन्दा करिब चार वर्ष कान्छा बालकृष्ण पनि गुरुकुलीय शिक्षा हासिल गर्न पुगेछन् । त्यहाँ धेरै घुलमिल हुन पाएनन् ।

जब केही वर्षपछि तिनै दुई जनाको भेट कालवा गुरुकुल, जिन्द, हरियाणामा भयो अनि उनीहरूबीच प्रगाढता बढायो । “मित्रहरू त धेरै थिए तर हामी दुई एकापसमा बढी नै सेयर गथ्र्यौं,” बालकृष्ण भन्छन्, “एकअर्काको भावना बुझ्थ्यौँ । एउटालाई खाना नमिठो लागेछ भने अर्को कुद्दै बजारबाट घ्यू लिन पुग्थ्यौँ ।” रामदेव थप्छन्, “एउटा आत्मीयताबाट सुरु भएको हाम्रो सम्बन्ध थोरै दिनमा गहिरो प्रेममा बदलियो । करिब दुई वर्षभित्र हामी दुई शरीर एक आत्माको रूपमा जिउन पुग्यौँ ।” 

पहिलो सार्वजनिक योग शिविरका प्रारम्भकर्ता बालकृष्ण नै रहेछन्, जसमा उनले रामदेवलाई पनि सामेल गराएछन् । सन् १९९० मा राजस्थानको हिन्दौनमा उनीहरूले त्यो शिविर गरेका थिए । त्यसको प्रशंसा भएपछि उनीहरू उत्साहित भए । बालकृष्ण भन्छन्, “योगलाई सार्वजनिक जीवनमा लैजानुपर्छ भनेर योग शिविर लगाउने, प्रचार गर्ने मेरो मनमा थियो ।” 

प्राकृतिक चिकित्सा तथा आयुर्वेदसम्बन्धी साधना (अनुसन्धान) गर्न पहिला आचार्य बालकृष्ण हिमालय क्षेत्र गए । पछि उनले रामदेवलाई समेत त्यहीँ बोलाए । गंगोत्री, गौमुख, तपोवनमा रहे । त्यहाँबाट फर्केपछि उनीहरूले योग, आयुर्वेद र प्राकृतिक चिकित्साका माध्यमबाट सामाजिक काममा प्रवेश गर्न कनखल, हरिद्वारमा दिव्ययोग मन्दिर ट्रस्ट स्थापना गरे । हुन पनि पतञ्जली योगपीठलगायतका सबै ट्रस्टमा रामदेव अध्यक्ष छन्, बालकृष्ण महासचिव । उनीहरू दुवैको दाबीमा, रामदेवको कुनै बैंकमा खाता छैन । कुनै कम्पनीमा सेयर छैन । “एउटा ऋषिको मर्यादा अनुकूल उहाँले यो निर्णय लिनुभएको हो,” मुस्कुराइरहेका रामदेवतर्फ हेर्दै बालकृष्ण भन्छन्, “कम्पनी मोडलमा गइसकेपछि कोही न कोही त कार्यकारी हुनुपर्‍यो, बैंक खाता खोल्नुपर्‍यो, स्वामित्व कायम गर्नुपर्‍यो भनेर म कारोबारमा अघि सरेको हुँ ।”

बालकृष्ण रामदेवलाई त्यत्तिकै आदर गर्छन् । भन्छन्, “स्वामी रामदेव मभन्दा जेठो हुनुहुन्छ । मेरो दाइजस्तो हुनुहुन्छ, उहाँ । उहाँले मलाई भाइजस्तो मान्नुहुन्छ । हाम्रो नाता पनि दाजुभाइको नै हो ।”
त्यसो भए यी दुईबीच समानता र भिन्नता के त ? बालकृष्णकै शब्दमा, रामदेव र उनका रुचि र प्रवृत्ति फरक छन् । रामदेव योग आदिको कार्य बढी गर्न र घुम्न रुचि राख्छन् । लाखौँ व्यक्तिलाई सम्बोधन गर्न र लाखौँ किलोमिटर यात्रा गर्न रुचाउँछन् । उनी आफैँ भने प्रशासन, व्यवस्थापन, कुनै नयाँ पहलकदमी लिन, नयाँ सोचलाई कार्यरूप दिन रुचाउँछन् । साहित्य र आयुर्वेद उनका प्रमुख रुचिका विषय हुन् । अनुसन्धान र लेखनमा पनि उनी उत्तिकै लागिरहन्छन् । उनी भन्छन्, “हामी दुईबीच कुनै काममा प्रतिस्पर्धा छैन । उहाँले आफ्नो काम गर्नुहुन्छ, मैले आफ्नो ।”

खासमा यी दुईलाई के कुराले जोडेको छ ? बालकृष्णको भनाइमा जोगी भनेको वैरागिएर हिँड्ने, समाजसँग हात थाप्ने वर्ग होइन, समाज, राष्ट्र र विश्वलाई केही योगदान गर्न सक्छ भन्ने आधारभूत सोच उनीहरूलाई जोड्ने मूल कडी हो । रामदेव त्यसभन्दा अघि बढेर गहिरो प्रेमको भावनाले आपसमा जोडेको बताउँछन् । 

आज यो अविवाहित जोडीले हासिल गरेको समृद्धि र समुन्नतिले योगीभन्दा बढी व्यापारीको पहिचान बनाएको छ । उनीहरूको व्यापार साम्राज्य यत्रोविधि बढ्नु, एउटा पूरापूर बाबा देखिनु र अर्काचाहिँ व्यवस्थापक बनेर अर्बौं सम्पत्तिको मालिक बन्नुका पछाडि कुनै सम्झौता पो छ कि ? बालकृष्ण भन्छन्, “त्यस्तो कुनै सहमति वा सम्झौता भएर यहाँसम्म आइपुगेका होइनौँ । हामीले व्यक्तिगत जीवनका लागि केही गर्ने होइन । जे गर्ने हो समाज, राष्ट्र र संस्कृतिका लागि केही न केही योगदान पुग्ने गरी कार्य गर्नुपर्छ भन्ने साझा सोचले हामी नजिकियौँ । थुप्रैपटक हाम्रो मित्रता समाप्त होस् भनेर केही मान्छेले प्रयत्न पनि गरे । त्यो असफल भयो र विश्वासको मात्रा झन् प्रगाढ भयो ।”

नेपाल नाता

“भारतमा रहेका नेपालीहरू आफूलाई नेपाली भन्न धक मान्छन् र गोर्खाली भन्छन् । तर, म त्यसो भन्ने पक्षमा छैन । हामी नेपाली नै हो र नेपाली हुनुमा गौरव गर्नुपर्छ,” आचार्य बालकृष्ण भन्छन्, “नेपालीहरूमा दमित भावना छ । त्यो हट्नुपर्छ ।”

नेपाली मूलका भारतीयलाई स्वाभिमानपूर्वक बाँच्न र बस्नका लागि अभियान नै चलाउन उनले ‘हाम्रो स्वाभिमान ट्रस्ट’ स्थापना गरेका छन्, जसमा ५० लाख नेपाली मूलका भारतीयहरू आबद्ध रहेको पतञ्जली विश्वविद्यालयका योग साहित्य अनुसन्धान विभागका प्रमुख आचार्य महेशानन्द विद्यालंकार बताउँछन् । परापूर्वकालदेखि आधुनिक भारत निर्माणमा नेपालीहरूको पनि बलिदानी र योगदान छ भन्ने कुरा भारतलाई सम्झाइरहन पनि यो अभियान आवश्यक रहेको उनको भनाइ छ । 

आचार्य बालकृष्ण पनि नेपालीहरूको शौर्य, देन र ऐश्वर्यप्रति भारतले गर्व गर्नुपर्ने बताउँछन् । भन्छन्, “आचार्य वाल्मीकिदेखि धेरै ठूला ऋषि, तपस्वी, योद्धाहरूले भारतवर्षको इतिहासको निर्माण, संस्कृति र ज्ञानको विस्तारमा योगदान दिएका छन्, जो नेपाल भूमिमै जन्मेहुर्केका थिए । आज पनि हामी चौकीदार र भाँडा माझ्ने मात्रै होइन, विश्वमै भारतको सान बढाउने काम गर्न समर्थ छौँ ।” 

नेपालमा भूकम्पपछिको उद्धार र राहतका कार्यमा पतञ्जली सञ्जालले उल्लेखनीय कार्य गरेको, १ हजार ७ सय बालबालिकाको पठनपाठनको व्यवस्था गरेको र यो संख्या बढाउँदै लैजाने आचार्य बालकृष्ण बताउँछन् । उनकै भनाइमा नेपालका ७५ वटै जिल्लामा ४० हजार योग शिक्षक कार्यरत छन् । पतञ्जली आयुर्वेद कलेज धुलिखेल, काभ्रेमा सञ्चालित छ । यसले वार्षिक ४० जना आयुर्वेद चिकित्सक उत्पादन गर्नेछ । आचार्य बालकृष्णका अनुसार योग सिकाउने, आयुर्वेदिक उपचार हुने उच्चस्तरको एउटा आश्रम/अस्पताल सञ्चालन गर्ने योजनाले पनि मूर्त रूप पाउँदै छ । वीरगन्ज, पर्सामा पतञ्जलीका उपभोग्य सामग्री उत्पादन कारखाना स्थापना भएको छ, जुन पूर्ण क्षमतामा सञ्चालन भएपछि आठ अर्ब रुपियाँबराबरको वार्षिक कारोबार गर्नेछ । “नेपालको कमाइ नेपालमै खर्च गर्छौं,” बालकृष्ण भन्छन्, “नेपालमा रहेको बेरोजगारी र युवाहरूको विदेश पलायनले मलाई बहुत ठूलो आतुरी छ । धेरै युवालाई रोजगारी दिन सकिने उपायबारे सोच्दै छौँ ।” बाबा रामदेव थप्छन्, “कुनै पनि गरिब मुलुकमा धन कमाएर हामी भारतमा ल्याउँदैनौँ । त्यहीँको शैक्षिक, सामाजिक र आर्थिक विकासमा खर्च गर्छौं ।”

अमला क्रान्ति

करिब १० वर्षअघिको कुरा हो । स्वामी रामदेव र आचार्य बालकृष्ण च्यवनप्रास बनाउनका लागि अमला खरिद गर्न हिँडे । त्यस वर्ष अमला एकदमै कम पाइए । किन कम हुँदै छ भनेर खोजी गरे । उत्तर पाए, अमला बिक्न कम भयो । त्यसैले ठूलठूला अमलाका रूख किसानहरूले काट्न थाले । त्यसको पनि जड कारण रहेछ, उत्पादन गर्ने किसानले मूल्य नपाउने, सबै बिचौलियाले खाइदिने । “अनि, हामी आफैँ किसानकहाँ गएर भएभरका अमला खरिद ग¥यौँ,” आचार्य बालकृष्ण भन्छन् ।

अमला त किनियो, अब के गर्ने ? रामदेवले सुझाए, ‘जुस बनाएर बेचौँ ।’ उनीहरूले पढेको आयुर्वेदमा अमलाका गुणहरूको व्याख्या थियो तर जुस कतै उल्लेख थिएन । बालकृष्णले नै उपायको खोजी गरे । पन्जाब सरकारले टमाटरको जुस निकाल्न राखेको एउटा प्लान्ट खेर गएको रहेछ । “ट्रकमा अमला भरेर त्यहीँ पठायौँ । जुस निकालेर बोतलमा भ¥यौँ,” बालकृष्ण सम्झन्छन्, “अनि, स्वामीजीलाई भन्यौँ, ल बेच्नूस् अब ।”

रामदेव पनि के कम ? बोतल हातमा लिएर टेलिभिजनमा भन्न थाले, ‘यहाँ अमलाको जुस छ । यसमा भिटामिन सी छ । धेरै खनिज पनि मिल्छ । आँखा, पेटलाई ठीक राख्ने तŒव यसमा छन् । छालामा चमक आउँछ । आयु पनि बढ्छ ।’ बालकृष्ण भन्छन्, “त्यसपछि के चाहियो ? सारा देश अमलाको जुस पिउन थाल्यो । करिब ६ हजार टन अमलाको जुस पहिलो वर्षमै निकाल्यौँ ।”
स्थिति यस्तो आयो कि जुस कसरी बेच्ने भन्ने चिन्ता एकाएक कसरी माग अनुसार आपूर्ति गर्ने भन्नेमा परिणत भयो । “मान्छेहरू आएर कपाल लुछ्न थाले, जुस किन दिँदैनौ भनेर ?” उनी सम्झन्छन्, “खुसीको कुरा, उत्तरबाट सुरु भएको हाम्रो अभियानले दक्षिण भारतलाई जुर्मुराइदियो । दक्षिण भारतमा चाँडै पाक्ने अमला टनका टन उठाइदियौँ ।”

अहिले घरघरमा पुगेको अमलाको जुससम्बन्धी यो कथा भारतमा ‘अमला क्रान्ति’का नामले चर्चित छ । यसलाई रामदेव सिद्धान्तमा ढाल्छन्, “गरिब, बेरोजगार किसानले मूल्य पाए, जो एकदमै कम संसाधनबाट हाम्रो भरणपोषण गर्छन् । तिनको जीवनमा परिवर्तन ल्याउन सक्यौँ, त्यसैमा सन्तुष्टि छ ।”

प्रकाशित: कार्तिक २०, २०७३