समसामयिक

जनश्रमदानले कायापलट

जनताकै लगानीमा गाउँ विकासको लहर

- दुर्गालाल केसी, मुसिकोट

सदरमुकाम मुसिकोट बजारको उत्तरतर्फ डाँडैभरि हरिया घर देखिन्छन् । हरिया घरको लहर देख्दा लाग्न सक्छ, किन सबैले एकै खालको रंग लगाएका होलान् ? हरेकको मन पर्ने रंग हरियै त नहुनुपर्ने ? 

यो हो, चन्दननाथ नमुना टोल । केही समयअघिसम्म मान्छे हिँड्न नमिल्ने डाँडो अहिले गाउँलेको प्रयासमा उदाहरणीय बस्ती बनेको छ । वातावरणमैत्री नमुना टोल बनाउने लक्ष्यसाथ सांकेतिक रूपमा घरसमेत हरियो बनाउने अभियान थालिएको छ । ३७ घर रहेको यस टोललाई पूर्ण सरसफाइयुक्त, प्लास्टिकमुक्त, बालश्रममुक्त र वातावरणमैत्री घोषणा गरिएको छ । 

एउटा घरबाट अर्को घरमा जाने बाटो नभएपछि एक वर्षअघि राम्रो बाटो बनाएर नमुना टोलको अभियान थालिएको टोलका अध्यक्ष देवबहादुर खड्का सुनाउँछन् । दुई वर्षअघिसम्म भिरालो डाँडा थियो । खड्का भन्छन्, “प्रत्येक घरले २६ दिन श्रमदान गरेर बाटो बनायौँ । सबै मिले आफ्नो गाउँ आफँै बनाउन सकिँदो रहेछ ।” 

माओवादी सशस्त्र विद्रोह समाप्तिको १० वर्षसम्म पनि गाउँमा चाहेजस्तो विकास नभएपछि रुकुमेलीले सरकारलाई दोष लगाइरहन उचित ठानेनन् । त्यसपछि सुरु भयो, जनताकै लगानी र श्रममा विकास निर्माण अभियान । यस अभियानले रुकुमका धेरै गाउँलाई तताएको छ ।

जनताले सडक, खानेपानी र सरसफाइ मात्रै होइन, स्थानीयस्तरमा विद्युत् उत्पादनमा समेत लगानी गरेका छन् । तीन वर्षमा २३ गाविसमा ४३ वटा लघु जलविद्युुत् आयोजना सम्पन्न भएका छन् । यसमा स्थानीय जनताले नगद १ करोड ९८ लाख ७४ हजार २ सय १३ रुपियाँ र श्रमदानमार्फत ६ करोड ५८ लाख ६० हजार १ सय ६९ रुपियाँ लगानी गरेका छन् । यसबाट ९ सय ३१ किलोवाट विद्युत् उत्पादन भएको छ भने ९ हजार ८ सय ८० घरधुरीमा बिजुली बलेको छ । अझै जनताको लगानी र सहभागितामा २५ आयोजना निर्माण भइरहेको जिल्ला विकास समितिका ऊर्जा शाखा प्रमुख धनसिंह केसी बताउँछन् । 
विकास निर्माणमा महिलाको सक्रियता पनि लोभलाग्दो छ । पुर्तिमकाँडा–८, भण्डारवनका सबैजसो विकास निर्माणका काममा महिलाको अगुवाइ छ । महिलाले विकास निर्माणका काममा अगुवाइ गरेपछि अपेक्षा गरेभन्दा बढी काम भएका छन् । यहाँका महिलाले श्रमदान गरेर २ सय ४० मिटर पक्की सिँचाइ कुलो निर्माण गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले १ सय २० मिटरको सिँचाइ नहर पक्की बनाउन २ लाख ५० हजार रुपियाँ दिएकामा महिलाले ३ सय ६० मिटर बनाइदिए । २६ घरधुरी रहेको गाउँमा हरेक घरका महिलाले ३० दिन बढी श्रमदान गरेर नहर बनाएको निर्माण समिति अध्यक्ष रूपकला बुढाले बताइन् । “आएको बजेटले पूरै काम नहुने भयो,” उनले भनिन्, “तर, हामीले महिनाभरि श्रम गरेर रकम बचत गर्‍यौँ र सिँचाइ कुलो लामो बनायौँ ।”

घेत्मा–८, बाँकीज्यूलामा पनि स्थानीयवासीको श्रमदानबाट १ सय ३० मिटर पक्की सिँचाइ कुलो निर्माण भएको छ । ४८ घरले श्रमदान गरेर कुलो निर्माण गरेपछि अहिले खेतीपातीमा सहज भएको स्थानीय धन जैसी सुनाउँछन् । पहिले पानीको अभावमा किसानहरूबीच झैँझगडा हुने गरेकामा अहिले सहज रूपमा १ सय ५० घरको खेतमा सिँचाइ गर्ने पानी पुगिरहेको उनको अनुभव छ ।

रुकुमका ३९ वटै गाविसमा जनताको सहभागिता र लगानीमा विकास निर्माणका काम भइरहेको जिल्ला विकास समितिले जनाएको छ । “विकासमा आफैँ सक्दो लगानी गरौँ भन्ने भावना फैलिएको छ,” सिम्तारु सडक निर्माण आार्थिक समितिका संयोजक कमल दाहाल भन्छन्, “मानिसले फजुल खर्च कटाएर सडकका लागि योगदान गरेका छन् ।”

जिल्ला शिक्षा अधिकारी रामलाल खड्काका अनुसार गाउँगाउँमा जनताको सक्रियतामा विद्यालय निर्माण भइरहेको छ । “विकासलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा रुकुममा नमुना काम भएको छ,” उनले भने, “यसले आफ्नो विकास आफँै गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।”

जिल्ला शिक्षा कार्यालयले बाँफीकोट–४, सिम्तारुस्थित बाल कल्याण माविलाई चारकोठे भवन निर्माणका लागि ३२ लाख रुपियाँ दिने भयो तर निर्माण सामग्री ल्याउने सडक थिएन । भवन कसरी बनाउने ? गाउँलेले जुक्ति निकाले– रकम उठाएर सडक निर्माण गर्ने । गाउँमा आमभेला बोलाइयो । त्यसपछि अभिभावकले फटाफट सहयोग रकम घोषणा गर्न थाले ।

अवस्था हेरी प्रतिघरले ५ देखि २५ हजार रुपियाँसम्म जम्मा गरे । ८७ घरधुरीबाट सात लाख रुपियाँ संकलन भयो । विकासका लागि सरकारी बजेटको मात्र आश गर्ने चलन अन्त्य गर्दै सिम्तारुवासीले आफ्नो गाउँ आफैँ बनाउने अभियान चलाए । ६ किलोमिटर सडकका लागि गाउँलेहरू २२ वैशाखयता नगद संकलन र श्रमदानमा तल्लीन छन् ।

सिम्तारुमा सडक निर्माण गरी विद्यालयका लागि ढुंगा, गिट्टी, बालुवा, छडजस्ता सामग्री ओसार्न थालिएको छ । सडक बनेपछि गाउँमा निजी घर निर्माण गर्न, व्यावसायिक सामान ओसारपसार गर्नसमेत सहज भएको निर्माण समितिका अध्यक्ष शेरबहादुर ओलीको अनुभव छ । “विद्यालय बनाउन त सजिलो भइहाल्यो । गाउँसम्म सडक सञ्जाल जोडियो,” उनले भने, “सडक बनेपछि विकासका अन्य ढोका पनि खुल्दा रहेछन् । सामान सस्तोमा पाइने । गाउँका उत्पादन बजारसम्म लैजान सकिने ।”
किमानदेखि सिम्तारु नेटापोखरासम्म सडक पुर्‍याउने योजनाका लागि सुरुमा कतिपयले रकम जम्मा गर्न अनकनाए पनि बिस्तारै सबै तयार भएको निर्माण समितिकी सदस्य देवकी पुनको अनुभव छ । “आफैँ पैसा उठाएर सडक बनाउने कहाँ हुन्छ ? यो त सरकारको काम हो भन्थे,” उनले भनिन्, “सरकारलाई पर्खेर कति बस्ने भनेर सम्झाएपछि गाउँलेहरू आफैँ अघि सरे ।”

चैतसम्म गाउँदेखि तल मुसिकोट–आठबिसकोट चल्ने गाडी ओहोरदोहोर गरिरहन्थे, सिम्तारुवासी माथिबाट हेर्थे र मन खिन्न बनाउँथे । आफ्नो गाउँसम्म सरर गाडी चल्ने दिन कहिले आउला भनेर सोचिरहन्थे । तर, दुई महिनामै त्यो दिन पनि आयो । अहिले गाउँसम्मै गाडी आउँछन् । “सडक नहुँदा सबै निर्माण सामग्री मानिसले बोकेर ल्याउने अवस्था थियो । यसरी निर्माण ढिलो र महँगो हुन्थ्यो,” बाल कल्याण मावि सिम्तारुका प्रधानाध्यापक निर्मल गिरी सुनाँउछन्, “सडक बन्दा विद्यालय र गाउँलाई दोहोरो फाइदा भयो ।”

स्थानीय प्रयासमा सडक, जलविद्युत् केन्द्र र विद्यालय निर्माण काममा थप प्रोत्साहन गर्न जिविसले केन्द्रमा सिफारिस गरी पठाउने गरेको छ । कतिसम्म भने, मुसिकोटको चन्दननाथ टोलको हरियो अभियानलाई साथ दिँदै जिविसको कार्यालयसमेत हरियो बनाइएको छ । यो हरियो अभियानलाई मुसिकोट बजारभरि विस्तार गर्न खोजेको स्थानीय विकास अधिकारी भरतकुमार शर्माले बताए । “हरियो रंग लगाउने घरलाई जिविसले प्रोत्साहनस्वरूप एक हजार रुपियाँ दिने गरेको छ । यो सांकेतिक सन्देश हो,” उनी भन्छन्, “घर हरियो बनाएपछि आँगन र बाटामा अनिवार्य रूख रोपेर हरियो बनाउन थाल्नुपर्छ ।” 

स्वयंसेवी गाउँ
- कृष्णप्रसाद गौतम र हरि गौतम/ तकसेरा 

तकसेरा–७, रुकुमका बुद्धिराज र हिकु बुढा दम्पतीलाई जिल्ला विकास समितिले गाउँमै सम्मान गर्‍यो । बुद्धिराजलाई फेटा गुथाएर, हिकुलाई लुंगी ओढाइदिएर । 

भेडा पालनबाट गरेको आम्दानीलाई बुढा दम्पतीले गाउँ बनाउने अभियानमा खर्चिदै आएको छ । ढोरपाटन जाने बाटोमा रहेको सेरा खोलामा १ लाख ९० हजारभन्दा बढी व्यक्तिगत रकम खर्च गरी पुल निर्माण, तकसेरा गाविसका आठवटै विद्यालयमा १५ हजार रुपियाँका दरले १ लाख २० हजार नगद, तकसेरा समाजमार्फत चिहानको जग्गा खरिद गर्न ३ लाख ५० हजार नगद सहयोग गरेको छ ।

तकसेरा–७, कै राजेन्द्र र तारा बुढाले पनि बाबु–आमाको सम्झनामा पुल निर्माणमा सकेको आर्थिक सहयोग गरे । तकसेरा–९, का सुरेन्द्रबहादुर पुनले झन्डै २५ लाख रुपियाँ खर्चेर ५२ सय वर्गमिटर जग्गा खरिद गरी स्थानीय हिमालय जनजागृति निमाविको नाममा पास गरिदिए । उनका पिताले ३७ वर्षअघि झन्डै तीन लाख रुपियाँ खर्चेर कोलदेखि तकसेरासम्मको तीन किलोमिटर र कोल गाविसकै विर्गुमदेखि तकसेराको बाच्छीगाउँसम्म घोडेटो बाटो बनाएका थिए । 

सुरेन्द्रकै अगुवाइमा स्थानीयबाट चन्दा संकलन गरी ४० लाख रुपियाँ जम्मा गरेर २०६४ मा महेन्द्र माविमा उच्च माविको पठनपाठन सुरुवात गरियो । विद्यालयको खातामा अहिले पनि ३० लाख रकम बचत रहेको सुरेन्द्रले जानकारी दिए । 

“राज्यले काम नगरेपछि सर्वसाधारण आफैले अगुवाइ गरेर विकास निर्माणका काम भइरहेका छन्,” सुरेन्द्रले भने, “त्यसका निम्ति व्यक्तिगत र सामूहिक स्वयंसेवाको ठूलो भूमिका बनेको छ ।”

तकसेराकै लालकुमारी बुढा मगरले झन्डै दुई लाख बराबरको रकम खर्चेर तकसेराबाट ढोरपाटन जाने चार किलोमिटर घोडेटो बाटो निर्माण गरेकी छन् । तकसेरा–९, का रामदास बुढा मगरले तकसेराबाट ढोरपाटन जाने बाटोमा धर्मशाला निर्माण गरिदिएका छन् । तकसेरा–८, की शिर बुढाले पनि दिवंगत पतिको सम्झनामा १ लाख ५० हजार रुपियाँ खर्च गरेर कोल र तकसेरा गाविसको सिमाना दख्यूमा धर्मशाला निर्माण गरिदिएकी छिन् । 

तकसेरा–१, कै रामसिंह बुढाले तकखोलामा भोजभतेर गरेर ढुंगाको पुल बनाइदिएका थिए । त्यहाँ पक्की पुल बनिरहेको छ । तकसेरा गाविसका पाँचवटा विद्यालय भवन गाउँलेकै पहलमा निर्माण भएका छन् । तकसेराको १ देखि ५ नम्बर वडाका सर्वसाधारणले महेन्द्र प्राविको पाँच कोठे पक्की भवन निर्माण गरेका छन् । 

तकसेरा–७, उपल्लो सेराका वैदेशिक रोजगारीमा रहेका युवाहरूले उत्तरगंगा निमाविको तीनकोठे भवनसहित गाउँलाई उत्तरगंगा नदीबाट जोगाउन तटबन्ध समेत बनाएका छन् । “यहाँ व्यक्ति–व्यक्तिले सामाजिक काम गरेका छन्,” तकसेराका अगुवा तेजेन्द्र खाममगर भन्छन्, “यसले गाविसको विकासमा थप टेवा पुगेको छ ।” 

 

प्रकाशित: श्रावण १२, २०७३