जीवनशैली

बालापनमा बाधा

- नारायण अमृत, काठमाडौं

पाटन, मंगलबजारका गजमान श्रेष्ठ, ९४, को आँखामा अहिले पनि नौ दशकअघिको उपत्यकाको सेरोफेरो नाच्छ । ठूल्ठूला फाँट, खुला चौर, ढुंगेधारामा बगेको सङ्लो पानी, छेउछेउमा वनजंगल र चिरबिर कराइरहेका चराचुरुंगी । “हामी खेल्दै खेल्दै टुँडिखेल पुगेर आउँदा फतक्कै गल्थ्यौँ,” आफ्नो बालापन सम्झँदै उनी भन्छन्, “वाग्मतीमा पौडेको, किनारैकिनार दौडेको सम्झन्छु । अहिलेका केटाकेटीले त्यो कहाँ पाउनू ?”

गजमानको काखमा अहिले चारवर्षे पनाति छ, जसको हालत देखेर उनी कायल हुन्छन् । “यसलाई दौडने ठाउँ पनि छैन, कुँजिन्छ कि जस्तो लाग्छ,” उनी नेवारी भाषामा गुनासो गर्छन्, “रमाएर खेल्न नपाउँदा केटाकेटीको मन रुन्छ ।” 

हुन पनि बढ्दो सहरीकरणले बालबालिकाका लागि भौतिक रूपमा खेल्ने, दौडने, सानातिना जोखिम उठाउने र रमाउने स्थानको अभाव हुँदै गइरहेको छ । बालबालिकाको अधिक समय कोठामा बित्न थालेको छ । आधुनिक चरित्र अनुरूपको शिक्षा संरचना र पद्धतिले गर्दा बालबालिका शिशु स्याहार केन्द्र, मन्टेसरी या स्कुल पुग्छन् र उनीहरूको अधिक समय त्यहाँ नै बित्छ । “अधिकांश स्कुलमा ससाना बालबालिकाका लागि पनि बस्ने मेच र टेबुल बनाइएको छ जबकि सामान्यतया ६ वर्षसम्मका केटाकेटी एकै ठाउँमा उस्तै मुद्रामा पाँच मिनेट पनि बस्न सक्दैनन्,” बाल विकासकी अध्येता मिनाक्षी दाहाल भन्छिन्, “त्यसैले यस्ता केन्द्र बालमैत्री हुनुपर्छ भनिएको हो, जहाँ उनीहरू स्वाभाविक रूपमा खुसी हुन सकून् ।” 

नेपाली समाजको परम्परागत मूल विशेषता भनेको सहकार्य हो । छरछिमेकीकहाँ जाने–आउने, मर्दापर्दा सहयोग गर्ने, कृषिमा सामूहिक परिश्रम गर्ने, भोजभतेर गर्ने, पूजाआजा गर्ने र आफन्त भेटघाट गर्ने जस्ता अनुष्ठानको प्रभाव बालबालिकाको सामाजिकीकरणमा गहिरो र गाढा हुन्छ । तर, सहरी समाजमा बिस्तारै संयुक्त परिवार टुक्रिएर एकल परिवार बन्दा बालबालिकाले परिवारबाट सिक्ने सम्भावना साँघुरिँदै गएको छ । 

अभिभावकसँग बालबालिकाका लागि पर्याप्त समय छैन । छिमेकीकहाँ आवतजावत पनि पातलिँदै छ । त्यसैले बालबालिकाको सिक्ने प्रक्रिया स्याहार केन्द्र या स्कुलहरूमा हस्तान्तरण हँुदैछ । एकातिर स्याहार केन्द्र र स्कुलहरू बालापनमैत्री नहुने र अर्कोतिर परिवार र छरछिमेकसँग बालबालिकाको सम्बन्ध र समय पातलिँदा उनीहरूको सामाजिक सम्बन्ध प्रभावित भएको त छैन ? प्रश्न मात्र होइन, कतिपय अभिभावक चिन्तामा पर्नु स्वाभाविक छ ।

“सहरी बालबालिकाको सामाजिकीकरण ग्रामीण भेगको भन्दा वा विगतको भन्दा फरक भएको पक्कै हो तर यो खुम्चिएको छ वा फैलिएको छ भन्ने निचोड आफैँमा पूर्ण नहुन सक्छ,” मानवशास्त्री सुरेश ढकाल भन्छन्, “परम्परागत कडीमा राख्दा सामाजिकीकरणको अवसर र प्रक्रिया खुम्चिएको होला तर यसलाई वस्तुगत आधारमा विश्लेषण गर्नु उपयुक्त हुन्छ ।”

ढकालका अनुसार सामाजिकीकरणको त्यत्तिकै सशक्त बाहक ठानिने विद्यालय र प्राविधिक माध्यम (मिडिया)मा सहरी बालबालिकाको पहुँच बढी छ । त्यसको प्रयोग, प्रक्रिया र प्रभावको मूल्यांकनको वस्तुस्थितिबारे भने बहस भइरहेको छ । सहरी बालबालिकाको ब्यक्तित्व निर्माणमा यी पछिल्ला दुई एजेन्ट प्रभावकारी देखिएका छन् । परिणाम, हिजोको पारिवारिक, सामूहिकताको मूल्यबाट क्रमश: टाढिँदै गएको तर व्यक्तिगत वा निजत्व निर्माण गर्दै हुर्किरहेका केटाकेटी सहरी सामाजिकीकरणको मूल चरित्र हो । 

“त्यसैले अहिलेका सहरी अभिभावकको मूल चिन्ता भनेकै केटाकेटीलाई परम्परागत पारिवारिक मूल्यसहित कसरी आधुनिक बनाएर हुर्काउने भन्ने भएको छ,” मानवशास्त्री ढकाल भन्छन्, “तर, यो अवस्था सहरभित्र पनि एउटै वा समान हुन्न ।”

सहर भूगोल मात्र होइन, चरित्र हो र यसभित्र पनि विविधता छ । सहरी गरिब, सहरी सुकुमबासी र धनाढ्य व्यापारी, पेसाकर्मी र ठूलो हिस्सा ओगट्ने मध्यमवर्ग पनि यसका हिस्सा नै हुन् । उदाहरणका लागि मानन्धर टोल र मुस्लिम टोल, दुवै उपत्यकाभित्रै छन् तर यी स्थानका केटाकेटीको सामाजिकीकरण एउटै नहुन सक्छ । तर, जुनसुकै परिवार, वातावरण, प्रकृति, अर्थव्यवस्था र परम्परामा रहेका बालबालिकाको सामाजिकीकरण भन्नु उसको सर्वाङ्गीण विकासको एउटा पहलुचाहिँ हो । बुझ्दै जाने, सिक्दै जाने, अभ्यास गर्दै जाने, व्यवहारमा रूपान्तरण गर्दै जाने र संवेगात्मक रूपमा बलियो हुँदै जाने प्रक्रियाको यो निरन्तरता बालबालिकाको विकासको बृहत् पक्षसँग जोडिन्छ । 

मनोवैज्ञानिकहरूका अनुसार बालबालिकाको विकासका मुख्यतया चार पक्ष हुन्छन् । शारीरिक, बौद्धिक, सामाजिक र संवेगात्मक । शारीरिक विकास भन्नाले तौल, मोटाइ, उचाइ मात्र नभएर मांसपेशी सञ्चालन र त्यसको अनुक्रम नियन्त्रण गर्ने क्षमतालाई बुझिन्छ । स्थूल र सूक्ष्म अंगहरूको विकासक्रम पनि यसैमा पर्छ । दौडने, उफ्रने, एक खुट्टाले हिँड्ने प्रयास गर्ने जस्ता व्यवहारहरू यसैका उपज हुन् । त्यसैले बालबालिकाले अरूले गरेका काम र व्यवहारलाई नक्कल गर्ने चरणसँग यसको सोझो सम्बन्ध हुन्छ । 

“खास गरी ६ वर्षको उमेरसम्म आइपुग्दा शारीरिक अभ्यासको चरण फराकिलो भइसक्छ, त्यसैले यस्तो बेला उनीहरूलाई अरू बढी खेल्ने र दौडने आवश्यकता महसुस हुन्छ,” बालमनोविज्ञ शंकर अधिकारी भन्छन्, “शारीरिक व्यवहारको साइनो वातावरण र प्रकृतिसँग हुनाले उनीहरूको आवश्यकतालाई ख्याल गरिदिनुपर्छ ।”

सोच्ने, बुझ्ने, सिर्जनशीलताको परख गर्ने, सिक्ने र तर्क गर्ने सीप भने बालबालिकाको बौद्धिक विकासमा पर्छ । यसमा उनीहरू सानातिना समस्याबाट बाहिर आउने उपायको खोजी गर्छन् र सफल पनि हुन्छन् । जस्तो : कुनै बालक अलिक अग्लो स्थानमा चढ्यो भने उसले सहज तरिकाले झर्ने तौरतरिका खोज्छ । यसमा उसको अनुभव र मनोदशाको महत्त्वपूर्ण स्थान रहन्छ । त्यसैले सिक्ने र बुझ्ने प्रक्रिया एक हदसम्म भावनात्मक पक्षसँग पनि जोडिएको हुन्छ । बालबालिकाको भावनालाई परिष्कृत र बलियो बनाउने तार संवेगात्मक र सामाजिक विकाससँग पनि जोडिएको हुन्छ ।
“संवेगात्मक पक्षले भने बालबालिकामा बढ्दै जाने आत्मविश्वास, सन्तुष्टि र आत्मसम्मानको भावनालाई प्रकटीकरण गर्छन्,” अध्येता दाहाल भन्छिन्, “यसमा उनीहरूले पाउने प्रेरणा, प्रशंसा, सुरक्षा, माया, प्रेम, स्नेहजस्ता अनुभूतिजन्य पक्षको विकास पनि जोडिन्छ ।”

उमेरको सापेक्षमा बालबालिकाले घरपरिवारका सदस्य, आफू सरहका साथीभाइ र आफन्तसँग व्यवहार गर्ने, मिलेर खेल्ने, नियमको पालना गर्ने र सरसहयोग गर्ने कुरा सिकिरहेका हुन्छन्, जसलाई उनीहरूको सामाजिक विकास भनिन्छ । त्यसैले घर, स्कुल, भेटघाट, मेलापर्वजस्ता कुराको प्रभाव बालबालिकाको व्यक्तिगत सभ्यताको विकाससँग पनि जोडिएको हुन्छ । 

अध्येता दाहालका विचारमा बालबालिकाका विकासका सबै पक्ष एकआपसमा अन्तरसम्बन्धित भएकाले उनीहरू के कुराले प्रभावित भइरहेका छन् भन्ने हेक्का राखिनुपर्छ । सहरी समाजमा बालबालिका प्रविधि र व्यवहारलाई समन्वय तथा समायोजन गर्न एक कदम अगाडि छन् । यो नै सहरी बालबालिकाको सबैभन्दा सशक्त पक्ष हो । 

परम्परागत संस्कृतिबाट टाढिँदै जानु, प्रकृतिबाट सिक्ने तथा विकास हुने अवसरबाट वञ्चित हुनु, आफूलाई बढी महत्त्व दिने (स्वार्थी) हुनु, एकान्तलाई प्राथमिकतामा राख्नु र परम्परागत भाषामा कमजोर देखिनु बालबालिकाका सहरी सामाजिकीकरणका कमजोर पक्ष हुन् । “सहरी बालबालिकाको सिकाइको अवसरको समीक्षा युरोप र अमेरिकामा पनि भइरहेको छ, त्यहाँ पनि अभिभावकहरू चिन्तामा छन्,” बालमनोविज्ञ अधिकारी भन्छन्, “झन् हाम्रो जस्तो अव्यवस्थित सहरमा बालबालिकाको बहुपक्षीय विकासका लागि अरू जटिलता थपिएका हुन्छन् ।” 

थोरै जग्गामा, त्यो पनि अव्यवस्थित हिसाबले बसोबास बनाइनु, बाटोघाटो चौडा नहुनु, पार्क र बगैंचाको अभाव हुनु, स्कुलमा समेत बालबालिका खेल्ने स्थान नहुनु र कक्षाकोठा बाल स्वभावलाई सहज बनाउने पूर्वाधारका नहुनुले बालापनको स्वच्छन्दता र उमुक्ततालाई बाधा पुर्‍याइरहेका छन् । 

सबैखाले वातावरणको भूमिका बालबालिकाको व्यक्तित्व निर्माणमा अहं हुन्छ भन्ने कुरा विज्ञानले स्पष्ट पारेको छ । सामाजिकीकरणको उदार अवस्था, प्राकृतिक वातावरण, सम्बन्ध र सद्भावको गहिरो धरातलमा हुर्केको अघिल्लो पुस्ताले सहरको नयाँ छिमललाई अप्ठ्यारोमा हुर्केको देख्नु स्वाभाविक पनि छ । 

पुस्तान्तरले उत्पन्न गरेको दृष्टि अन्तर आफ्नो ठाउँमा छँदैछ तर मानवशास्त्री ढकाल भने सहरभित्रका र अभिभावकीय पक्षका केही कुरा सुधार्ने हो भने सहरी बालबालिकाको सर्वाङ्गीण विकासमा व्यापक सुधारको सम्भावना देख्छन् । भन्छन्, “बालबालिकालाई पायक पर्ने स्थानमा खेल्ने, रमाउने ठाउँ मात्र पर्याप्त हुने हो भने फरक परिहाल्छ ।”

अर्को कुरा, अभिभावकत्वबारे हाम्रोमा बहस–विमर्श कमै हुने गरेको छ । अभिभावकले घरमा बालबालिकासँगको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने र उनीहरूका लागि सिर्जनशील हुने, खेल्ने र खुसी हुने वातावरण बनाउने कुरामा ध्यान दिने हो भने सहरी बालापनमा अझै उल्लास थपिन्छ । “घरमा खेल्ने जग्गा भएन भने पनि छतमा सानो बगैँचा या करेसाबारी बनाइदिने हो भने हुर्कंदै गरेका बालबालिकालाई त्यसले केही न केही सकारात्मक प्रभाव पार्छ,” बालमनोविज्ञ अधिकारी भन्छन्, “ससाना कुरामा ध्यान दिन सकियो भने बालबालिकालाई खुसी राख्न सकिन्छ, जसको प्रभाव उनीहरूको सर्वपक्षीय विकासमा पर्छ । र, यो गुण शिक्षकमा पनि हुनु जरुरी छ ।” 

बालबालिका स्वभावैले चञ्चल र चपल हुन्छन् । निर्वाध रूपमा रमाउन खोज्नु र आफूले चाहेको कुरा तत्कालै गर्नु उनीहरूको चाहना मात्र होइन, सिक्ने प्रक्रियाको कडी हो । तर, हाम्रो अभिभावकीय चरित्र आफ्नो सोच र परिपक्वताका कारण उनीहरूका हरेक क्रियाकलापलाई नियन्त्रण गर्ने प्रकृतिको हुन्छ ।

कतिपय अनावश्यक सन्दर्भ र परिस्थितिमा पनि उनीहरूको स्वतन्त्रतालाई खोस्ने र आफ्नो कुरा लाद्ने प्रवृत्ति घर र विद्यालयमा छ, जसले बालबालिकाको बालापनमा घाउ बनाइरहेको छ ।


अब यस्तो व्यवहार

बालविकासका विभिन्न सिद्धान्त र यसका जानकारहरूका अनुसार बालबालिका खुसी र स्वतन्त्र रहे भने मात्र उनीहरूको सर्वाङ्गीण विकास सकारात्मक गतिमा अघि बढ्छ । त्यस्तो अवस्थामा मात्र उनीहरूको स्वास्थ्य गतिलो, ज्ञानको दायरा फराकिलो र सिकाइको क्रम सघन हुन्छ ।

सकारात्मक बनौँ
बालबालिकाका अगाडि सकारात्मक कुरा गर्नु राम्रो हुन्छ । त्यसले उनीहरूको आत्मबल बलियो पार्छ । ‘सकिन्छ’, ‘गर्नुपर्छ’, ‘हुनुपर्छ’ खालका पदावली प्रयोग गर्नु राम्रो हुन्छ । ‘तिमी यो गर्न सक्दैनौ,’ ‘यो पटक्कै नगर’ या ‘यस्तो गर्नैपर्छ’ भनेर दबाबमूलक व्यवहार गरियो भने बालबालिकामा नकारात्मक प्रभाव पर्छ । 

नरम बनौँ
अभिभावक, आफन्त र शिक्षकको व्यवहार बालबालिकाका लागि सबैभन्दा महत्त्वपूर्ण हुन्छ । हाम्रा व्यवहारबाटै बालबालिकाले आफ्ना व्यवहार बनाउँदा रहेछन् । त्यसैले बालबालिकासँग र बालबालिकाका अघि सधैँ नरम बनौँ । हप्काउने, धम्क्याउने, ठूलो स्वरले झपार्ने, रिसाउने, मुर्मुरिने, कड्किने जस्ता व्यवहार बालबालिकासँग नगरौँ । आफ्नो रिस काबु गरौँ । सल्लाह र सहभागिताको संस्कृति सिकाऔँ ।

दंग पारौँ
बालबालिकाहरू चञ्चल हुन्छन् । त्यसैले उनीहरूलाई कुनै न कुनै काममा व्यस्त गराउन सकियो भने सिकाइ प्रक्रिया सघन हुन्छ । उमेर, अवस्था हेरेर लेख्ने, चित्र बनाउने, ब्लकहरू मिलाउने जस्ता काममा उनीहरूको रुचि निर्माण गर्न सकियो भने बालबालिका दंग पर्छन् । अचेल बजारमा बालबालिकालाई सिर्जनशील बनाउन मद्धत गर्ने प्रकारका शैक्षिक सामग्री पनि पाइन्छन् । 

चासो बुझौँ
हामी प्राय: बालबालिकाका चासोलाई बेवास्ता गर्छौं । बालबालिकाका प्रश्न, जिज्ञासा सुनिदिँदा उनीहरूमा सकारात्मक प्रभाव पर्छ । बालबालिकामा जिज्ञासुपन र ज्ञानको भोक बढाउने भनेकै यस्तै संवादको प्रक्रियाले हो । बालबालिकालाई बेवास्ता गर्दै गइयो भने उनीहरूमा अन्तरमुखी स्वभाव देखिन्छ ।

रुचिको सम्मान गरौँ
बालबालिकामा कुनै न कुनै प्रकारको विशेष रुचि देखिन सक्छ । जस्तो : कोही खेलौना भनेपछि हुरुक्कै हुने हुन्छन् भने कोही बाहिर वागबगैंचामा घुम्ने भनेपछि खुसी । त्यसैले उनीहरूको रुचिलाई सम्मान गर्न र त्यही अनुरूप व्यवहार गर्न सकियो भने ससाना कुराले बालबालिकामा खुसी पैदा गर्छ । आत्मविश्वास जगाउँछ ।

पर्याप्त समय दिऔँ
सहरी समाजको सबैभन्दा ठूलो समस्या बालबालिकाले अभिभावकको पर्याप्त समय नपाउनु हो । हामी बालबालिकालाई जति धेरै समय दिन्छौँ, बालबालिका उति धेरै खुसी हुन्छन् । र, बालबालिका जति धेरै खुसी हुन्छन्, उनको शारीरिक, मानसिक, भाषिक, सामाजिक, भावनात्मक वा संवेगात्मक विकास उति धेरै हुन्छ ।

सुरक्षित तर रोमाञ्च बुझौँ
भनिन्छ, बालापनको सबैभन्दा रोमाञ्चकता बालबालिकाले लिने ससाना जोखिमपूर्ण व्यवहारमा अन्तरनिहित हुन्छ । स्वभाव नै चलिरहने, केही न केही गरिरहने, सिकिरहने र नयाँ कुराप्रति अधिक आकर्षित हुने हुनाले बालबालिकाको सुरक्षाबारे अभिभावकमा चासो हुनु स्वाभाविक छ । तर, सुरक्षित अवस्थामा पनि बालबालिकाले कुनै पनि जोखिम उठाउन खोज्यो भने हामीले उसलाई रोक्नु हुँदैन ।

 

प्रकाशित: जेष्ठ १६, २०७३