खेलकुद

सागमा १२ वर्षयताकै सबभन्दा कमजोर प्रदर्शन

अंक तालिकाका हिसाबले यसपालिको साग नेपालको १२ वर्षयताकै सबैभन्दा कमजोर प्रदर्शन हो ।

- नवीन अर्याल, काठमाडौं

भारतको उत्तरपूर्वी सहर गुवाहाटी र सिलोङमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद (साग)मा जानुअघि युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल निकै हौसिएका थिए । सागमा सहभागी हुने सबै खेलका पदाधिकारीले कम्तीमा एउटा स्वर्ण पदक जित्ने दाबी गरेका कारण उनलाई लागेको रहेछ, सन् १९९९ मा काठमाडौँमा सम्पन्न आठौँ सागको ऐतिहासिक सफलतालाई नेपालले दोहोर्‍याउन त नसक्ला । तर, बजेट निकासामा भएको चरम लापरबाहीका बीच २२ वटा स्वर्ण त पक्कै जित्ला ।

मन्त्री मण्डलको त्यो सोच केही दिनमै भताभुंग भयो । उसु र तेक्वान्दोका खेलाडी फाइनलमा पुगेर धमाधम हार्न थाले । अन्य खेलमा खेलाडीको स्तर निकै फितलो देखियो । २२ माघदेखि सुरु भएको साग ४ फागुनमा सम्पन्न हुँदा नेपाल ३ स्वर्ण, २३ रजत र ३४ काँस्य पदक जित्दै छैटौँ स्थानमा थन्कियो । अंक तालिकाका हिसाबले यसपालिको साग नेपालको १२ वर्षयताकै सबैभन्दा कमजोर प्रदर्शन हो । दक्षिण एसियाली खेलकुदमा नेपालको औसत स्थान चौथो मानिन्छ । 

काठमाडौँमा भएको आठौँ सागमा नेपालले जितेको ३२ स्वर्णको इतिहासलाई अपवाद मान्ने हो भने बंगलादेशको आयोजनाबाहेक अन्य संस्करणमा नेपाल अविचलित चौथो स्थानमा रहँदै आइरहेको छ । आठौँ सागमा नेपाल दोस्रो भएको थियो । यस्तै, बंगलादेशमा साग आयोजना हुँदा मात्र नेपाल पाँचौँ स्थानमा झर्ने गरेको थियो । तर, गुवाहाटी र सिलोङमा नेपाल पाँचौँ स्थानबाट पनि तल झरेको छ । स्वर्ण जित्ने मामिलामा नेपाललाई बंगलादेशले मात्र होइन, अफगानिस्तानले पनि पछाडि पारेको छ । 

१२औँ सागमा नेपालले पुरुष हकीबाहेक आयोजक राष्ट्रले समावेश गरेका २२ वटै खेलमा भाग लियो । जुन आर्थिक, तालिम र तयारी तीनवटै हिसाबले गलत साबित भयो । बरू त्यसको सट्टा पदक आशा राखिएका खेलमा लगानी गरिएको भए नेपालले अहिलेको नतिजाभन्दा राम्रो गर्ने सम्भावना देखियो । जसलाई अफगानिस्तानले साँचो अर्थमा लागू गर्‍यो । उसले तेक्वान्दो, उसु, जुडो, कुस्ती र बक्सिङमा लगानी गरेको थियो । परिणाम, अफगानिस्तानले तेक्वान्दोमा ६ र उसुमा एक स्वर्ण जित्दै अंक तालिकामा आफूलाई चौथो स्थानमा राख्यो । 

नेपालले भाग लिएका २२ मध्ये १७ खेलले मात्र पदक जित्न सके । १२ वैशाखको भूकम्प, त्यसपछि भारतीय नाकाबन्दी र ढिलो बजेट निकासाका कारण सागमा नेपालको प्रदर्शन प्रभावित बन्न पुगेको केही पदाधिकारीको विश्लेषण छ । तर, भारतीय, श्रीलंकाली र अफगानी खेलाडीको प्रदर्शन हेर्दा लाग्थ्यो, यी कारण मात्र नेपालको खेल प्रभावित बनेको पक्कै होइन । यिनीहरूसँग प्रतिस्पर्धा गर्ने ल्याकत नेपाली खेलाडीमा कमजोर देखियो । 

दक्षिण एसियाको प्राविधिक मुख्यालय नै काठमाडौँ भएका कारण उसुबाट नेपालले पाँचदेखि सातवटा स्वर्णको आशा गरेको थियो । तर, १७ महिना चीनमा बसेर प्रशिक्षण लिएको भारतले नेपालको सम्भावनामाथि तुषारापात गरिदियो । आइरन गेट भनेर चिनिने एसएलसी परीक्षा मुखैमा भएको अवस्थामा पनि सिलोङ पुगेकी निमा घर्तीमगरले थाउलोमा स्वर्ण नजितेको भए १६ स्वर्ण पदकका लागि भएको उसु स्पर्धामा नेपाल स्वर्णविहीन बन्ने पक्का थियो । चार वर्षअघि बंगलादेशमा उसुले तीन स्वर्ण जितेको थियो । यसलाई कायम राख्न नसके पनि उसुले १० वटा रजत जित्दै अचम्मको इतिहास रच्यो ।
 
जुडोमा पनि नेपालले ऐतिहासिक सफलता पायो । सन् १९९५ भारतको मद्रासमा भएको सातौँ सागमा तीनवटा स्वर्ण जितेपछि लगभग सुस्ताएको जुडोका लागि २१ वर्षपछि फुपु ल्हामु क्षत्रीले स्वर्ण जितिन् । उनी ब्राजिलमा हुने रियो ओलम्पिकका लागि पनि छनोट हुने सम्भावना प्रबल छ । ओलम्पिक छात्रवृत्ति अन्तर्गत हंगेरीमा प्रशिक्षण लिइरहेकी फुपु सागमा स्वर्ण जितेपछि पुन: हंगेरी फर्किइन् । 

थुप्रै खेलले आशा अनुरूप प्रदर्शन गर्न सकेनन् । तर, पुरुष फुटबलले स्वर्ण जित्दै सन् १९९३ मा बंगलादेशमा एक मात्र स्वर्ण जितेको इतिहासको झझल्को दियो । २३ वर्षदेखि उपाधिविहीन बनेको पुरुष टोलीले भारतलाई उसैको मैदानमा २–१ ले पराजित गर्‍यो । महिला फुटबलले लगातार दोस्रोपल्ट रजत जित्यो । 

पौडीमा यसपालि पदकको आशा गरिएको थिएन । तर, बेलायतमा बसेर तालिम गरिरहेकी गौरिका सिंह, १३, ले एक रजत र तीन काँस्य जित्दै सनसनी मच्चाइन् । गौरिका पनि आफ्नो पढाइलाई थाती राख्दै बेलायतबाट सीधै गुवाहाटी आएकी थिइन् । सन् १९८४ देखि सुरु भएको सागको ३२ वर्ष लामो इतिहासमा कुनै पौडी खेलाडीले एकल स्पर्धामा पदक जितेका थिएनन् । तर, गौरिका एकल स्पर्धामा रजतसहित चारवटा पदक जित्न सफल भइन् । 

महिला नम्बर एक खेलाडी आयरा राउतको एकल स्पर्धामा काँस्य जित्ने सम्भावना प्रबल थियो । तर, प्रशिक्षकसँग कुनै संवाद नै नगरी एकलमा उनको सट्टा अन्य खेलाडीलाई खेलाउने संघको निर्णय अप्रिय बन्न पुग्यो ।

भलिबलमा पनि नेपालले पुरुषतर्फ रजत र महिलातर्फ काँस्य पदकको आशा गरेको थियो । तर, अन्तिम समय इरानी प्रशिक्षकलाई भित्र्याउनु नै नेपालका लागि दुर्भाग्य बन्यो । उनको प्रशिक्षणको अवधि कम हुनु र खेलाडीसँग घुलमिल हुन नसक्दाको असर गुवाहाटीमा उदांगो भयो । पुरुष स्पर्धामा नेपाल पदकविहीन बन्यो । 

दक्षिण एसियाली खेलकुदमा नेपाली बक्सिङको इतिहास गर्विलो छ । तर, यसपालि नेपाली बक्सिङ भारतका अगाडि बामे सर्न लागेको मात्र देखियो । नेपाली बक्सरले मेरी कोम, सरिता देवी र शिव थापाजस्ता अन्तर्राष्ट्रिय खेलाडीमाझ उभिएका दलबहादुर रानामगरजस्ता खेलाडीको आभास दिलाउन सकेनन् । भारतले १० मा १० वटै स्वर्ण जित्यो । नेपालले तीन काँस्यमा चित्त बुझायो । 

यस्तै, टेबल टेनिसमा शिवकुमार श्रेष्ठले सागका लागि खेलाडी तयार पारेका थिए । तर, परिषद् उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीका महासचिव टेन्डी शेर्पाको हस्तक्षेपमा शंकर गौतमलाई मुख्य प्रशिक्षकको जिम्मेवारीसहित सागमा समावेश गरियो । प्रशिक्षक नियुक्ति विवादकै कारण पहिले पदक दिलाउँदै आइरहेको ह्यान्डबलले पनि निराश पार्‍यो ।

सुटिङमा पनि नेपाल पहिलोपल्ट पदकविहीन बन्यो । पहिलोपल्ट सागमा समावेश गरिएको खो–खोको पुरुष तथा महिला दुवै स्पर्धामा नेपालले काँस्य जित्यो । यसका लागि नेपाली टोलीले भारतमै २२ दिन विशेष अभ्यास गरेको थियो । ब्याडमिन्टनमा नङ्सलादेवी तामाङ १० वर्षपछि महिला एकलमा काँस्य जित्न सफल भइन् । सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको दसौँ सागमा सुमिना श्रेष्ठले एकलतर्फ काँस्य जितेकी थिइन् । 

यस्तै, आर्चरीको पुरुष एकलतर्फ प्रेमप्रसाद पुनले काँस्य जिते । आर्चरीमा एकलतर्फ नेपालले जितेको यो नै पहिलो पदक हो । पहिलोपल्ट सागमा समावेश भएको ट्रायथोलनमा टिम इभेन्ट्समा रजत र महिला एकलमा रोजा केसीले काँस्य जितेर खेलको सम्भावना पुष्टि गरे । यी खेलाडीलाई डेनिस प्रशिक्षकले तीन महिना काठमाडौँमा प्रशिक्षण दिएका थिए ।

यसपालि ३७ वटा स्वर्णका लागि भएको एथलेटिक्स स्पर्धामा नेपालले एउटा मात्र काँस्य जित्यो । नेपाली खेलकुदमा सबैभन्दा सफल मानिने तेक्वान्दोमा सात खेलाडी फाइनलमा पुगे तर सबै स्वर्णविहीन बने । एसियन गेममा पदक जितिसकेकी अनुभवी आयशा शाक्य र उदीयमान खेलाडी रेजिना कार्की आफ्ना प्रतिद्वन्द्वीसँग समान अंकमा हुँदा हुँदै पराजित बन्न पुगे । 

सबैभन्दा रोचक महिला हकी बन्न पुग्यो । तीन साताको अवधिमा खेलाडी तयार पारेर गुवाहाटी पुगेको नेपाली महिला हकी टिमले खेल खेल्नुअघि नै काँस्य जितिसकेको थियो । किनभने, यो खेलमा भारत, श्रीलंका र नेपाल गरी तीनवटा देश मात्र सहभागी थिए । नेपालले भारतसँग २२ गोल खायो । श्रीलंकासँग १८ । दुई खेलमा ४० गोल खाएको नेपालले सहभागिता जनाएबापत काँस्य जित्यो । यसपालि सागमा यसको स्तरीयतामै प्रश्न उठेको छ ।

खेलविज्ञहरू यो नतिजालाई नेपाली खेलकुद ओरालो लाग्दै गएको बताउन हिचकिचाउँदैनन् । यसमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट पनि आंशिक सत्यता देख्छन् । त्यसैले उनले खेलकै दौरान नेपालसँग सिलोङमा भने, “स्पष्ट नीति र योजनाबिना अब खेलकुद अगाडि बढाउन सकिन्न । सम्पूर्ण खेलकुदको पुनरावलोकन जरुरी भइसकेछ ।” 

पुष्पेन्द्र : नेपाली कि भारतीय ?

सागका लागि दुई महिनाअघि काठमाडाैँमा छनोट खेलको आयोजना भएको थियो । लङजम्पतर्फ राष्ट्रिय कीर्तिमान कायम गरेका पुष्पेन्द्रकुमार गोइतलाई सागको बन्द प्रशिक्षणमा बोलाइयो । तर, साग खेल्न जाने क्रममा संघले उनीसँग नागरिकताको सक्कल माग गर्‍यो । 

यसैबीच उनी आमा बिरामी भएको भन्दै तीन दिनको छुट्टी लिएर घर फर्किए । त्यसपछि सम्पर्कमा नआएका गोइत ट्रेन चढेर सीधै गुवाहाटी पुगेका थिए । गुवाहाटीमा सम्पर्कमा आएका उनलाई संघका पदाधिकारीले कागजसहित उपस्थित हुन आग्रह गरे । तर, उनी अन्तिम समयमा फेरि सम्पर्कविहीन बने । त्यसपछि यो स्पर्धामा नेपालले नाम हटाउनु परेको थियो । 

धनुषाबाट राष्ट्रिय प्रतियोगितामा सहभागी भएका पुष्पेन्द्रले सागमा आफ्नो नाम हुँदा हुँदै कागजात किन पेस गरेनन् ? किन उनी अन्तिम समय सम्पर्कविहीन बने ? अहिले यो कौतूहलको विषय बनेको छ । “उनी नेपाली हुन् कि भारतीय भन्ने केही प्रमाण भेटिएको छैन । तर, उनको व्यवहारबाट हामी छक्क परेका छौँ,” एथलेटिक्सका मुख्य प्रशिक्षक सुशीलनरसिंह राणा भन्छन् ।
 

 

प्रकाशित: फाल्गुन १९, २०७२