जीवनशैली

ज्यान जोगाएर इलममा

रोल्पा, रुकुमबाट लखेटिएर घोराही झरेका द्वन्द्वपीडित परिवार अर्थोपार्जनतिर

- दुर्गालाल केसी, दाङ

सदरमुकाम लिबाङ बोलाएर सुरक्षा निकायले ‘माओवादीलाई कुनै पनि सहयोग नगर्न’ भनेको भोलिपल्टै प्रहरी जवान आएर भने, ‘डीएसपी सापले बोलाउनु भा’छ ।’ देवप्रसाद पुन सीधै डीएसपीको कोठामा जान खोजे तर जवानहरूले पुर्जीबिनै हिरासतमा राखे । चिनेका एक प्रहरी निरीक्षक भेटिएपछि दिउँसोतिर छुटे । छुटेको केही समयमै पक्राउ परे । माओवादीबारे केही थाहा नभएको बताएर अपराह्नतिर छुटे । बेलुकी फेरि समातिए । 

यसरी एकै दिनमा तीनपटक पक्राउ परेका पुनको मन बिग्रियो । गाउँमा माओवादीले ‘सरकारी भाते’ भन्ने, सदरमुकाममा सरकारले ‘माओवादी आतंककारी’ भन्ने । यस्तो त्रासमा बस्नुभन्दा जागिर नै छोड्नु जाती सम्झेर पुन दम्पतीले नै ०५८ सालमा स्थायी शिक्षकबाट राजीनामा दियो ।

देवप्रसाद रोल्पाको राङकोटस्थित भानुभक्त प्रावि ट्याम, लामीडाँडामा प्रधानाध्यापक थिए भने पत्नी प्रेमकुमारी उक्त विद्यालयमै शिक्षिका थिइन् । देवप्रसाद स्थायी भएको १६ वर्ष र प्रेमकुमारी स्थायी भएको १२ वर्ष बितिसकेको थियो । जिल्ला शिक्षा अधिकारीले ६ महिनासम्म उनीहरूको राजीनामा स्वीकृत गरेनन् ।

गाउँमा उनीहरूलाई नपुग्दो केही थिएन । जागिर घरनजिकैको विद्यालयमा थियो । अझ राङकोट स्रोत केन्द्रका १७ विद्यालयमध्ये उनको विद्यालय उत्कृष्ट र नमुना थियो । पुन दम्पतीले निकै कर गरेपछि बल्ल शिक्षा कार्यालयले राजीनामा स्वीकृत गर्‍यो ।

त्यसपछि पुन दम्पती एक छोरा, दुई छोरीसहित रोल्पाको राङकोट–७, जैपास्थित पुख्र्यौली थलो छोडेर दाङतिर झरे । गाउँमा अहिले जग्गा बाँझै छ, घरको नामोनिसान छैन । “जागिरको माया लागेन, ज्यान बाँचेपछि गरिखाने उपाय केही न केही होला भनेर गाउँ छोडियो,” पुनले भने, “रहरलाग्दो जागिर हुँदाहुँदै छोडेको त्यो ठाउँ खाली हात कसरी फर्कनू ? जे जसरी हुन्छ, नयाँ ठाउँमै बाँकी जीवन बिताउने उपाय खोजिरहेका छौँ ।”

घोराहीमा पुन दम्पतीले आफूजस्तै द्वन्द्वका कारण विस्थापित अन्य परिवार पनि भेट्यो । सबैको चिन्ता उस्तै थियो, जीविका कसरी चलाउने ? प्रेमकुमारीले बाल्यकालदेखि नै आमाबाट सिकेको परम्परागत सीप थियो, अल्लोका कपडा बुन्ने । “गाउँमा अल्लोकै कपडा लगाएर हुर्केको, कपडा बुन्न पनि सिकेको,” उनले भनिन्, “घोराहीमा रहेका विस्थापित महिला जुटाएर यही सीपलाई व्यावसायिक रूप दिने सोच बनायौँ ।”

अल्लो सिस्नु प्रजातिको वनस्पति हो । रुकुम, रोल्पातिर यसलाई पाते सिस्नु या ठूलो सिस्नु भन्ने चलन छ । गाउँमा पुरुषहरू बाहिर काममा जाँदा महिलाहरू घरमै अल्लोका कपडा बुन्ने गर्छन् । तीन वर्षजति त्यत्तिकै अलमलिएपछि प्रेमकुमारीले ०६१ सालमा अल्लो धागोको व्यापार सुरु गरिन् । बिस्तारै कपडा नै बुनेर बेच्न थालिन् । त्यसमा पुनले उपदानबापत पाएको २ लाख ५० हजार रुपियाँ र पत्नीको १ लाख ७५ हजार लगानी गरे ।

देवप्रसाद र प्रेमकुमारीजस्तै द्वन्द्वका कारण रोल्पाको राङकोटस्थित घरवास छोडेर दाङ झरेका हुन् अम्बरबहादुर वली । राङकोट–६ स्थित भालुकोट प्राविमा स्थायी शिक्षक रहेका वलीले ०५७ सालमा राजीनामा दिए । स्थायी भएको आठ वर्षमै जागिर छोड्नु उनको बाध्यता थियो । शनिबार मात्र पार्टीलाई सहयोग गर्न सक्ने भएकाले माओवादीले ‘शनिबारे कमरेड’ भन्थ्यो भने प्रहरीले ‘सदाबहार कमरेड’ ठान्थ्यो ।

गाउँमा दुवैतर्फबाट तनाव भएपछि वली एक वर्षका लागि बेतलवी बिदा लिएर ०५६ सालमा वैदेशिक रोजगारमा गए । एक वर्षपछि फर्केर जागिरमा निरन्तरता दिन खोज्दा उस्तै त्रास कायमै रह्यो । उनी अहिले वैदेशिक रोजगारका सिलसिलामा मलेसिया छन् भने उनकी श्रीमती झुला डाँगीले घोराहीमा अल्लो उद्योग खोलेकी छन् ।

द्वन्द्वका कारण गाउँघर छोडेका रुकुम, रोल्पाका महिला मिलेर ‘सहनशील दिदीबहिनी अल्लो धागो उद्योग समूह’ बनाएका छन् । सुरुमा प्रेमकुमारीसँगै काम गरे पनि अहिले छुट्टै समूह बनाएर उक्त पेसालाई व्यावसायिक रूप दिइरहेका छन् । डाँगी भन्छिन्, “हिजो खाइपाइ आएको स्थायी जागिर छोड्नुपर्‍यो । आज देशमा शान्ति स्थापना भइसक्यो तर हामीलाई ती दिनले सताइरहन्छन् ।”

रुकुमको चुनबाङ–४, गैह्रीगाउँबाट आएकी प्रभा ओली समूहको अध्यक्ष छन् । १० दिदीबहिनी समूहका सेयर सदस्य छन् । सुरुमा प्रतिव्यक्ति १५ हजार रुपियाँ उठाएर थालेको व्यवसायमा अहिले प्रतिव्यक्ति तीन लाख सेयर पुगेको छ । वार्षिक ३५ लाखको कारोबार गरी ६ लाख ८२ हजार आम्दानी गरेको ओलीले बताइन् ।

ओलीका परिवार पनि द्वन्द्वका कारण शिक्षकको जागिर र व्यवसाय छोडेर ०५५ सालमा दाङ आएको हो । उनका पति पूर्णबहादुर स्थानीय मावि चुनबाङ गैह्रीगाउँमा १२ वर्षदेखि पढाइरहेका थिए । प्रहरीले माओवादी आरोपमा पक्राउ गरी एक महिनासम्म हिरासतमा राखेपछि जागिर र घरबास छोड्ने निधोमा पुगे । प्रभाले गाउँमै किराना तथा कपडा पसल गरेकी थिइन् । भन्छिन्, “नयाँ ठाउँमा आइसकेपछि केही न केही इलम नगरी जीवन चलाउन गाह्रो भयो । आजसम्म अल्लो नै जीवन निर्वाहको आधार बनेको छ ।”

द्वन्द्वपीडित दिदीबहिनीले खोलेको अल्लो उद्योगमा अहिले ८५ महिलाले प्रत्यक्ष रोजगार पाइरहेको समूहकी सचिव सीता मल्लले बताइन् । समूहका महिलाले मासिक ३ देखि १५ हजार रुपियाँसम्म कमाइरहेका छन् । नेपाली परम्परागत वस्तु र सीपबाट उत्पादित सामग्री भए पनि यसको बजार अन्तर्राष्ट्रिय समुदायसम्म विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उता प्रेमकुमारीको नेतृत्वमा रहेको चिनारी महिला साझेदारी अल्लो उद्योग समूहले घोराही–१० मा जग्गा भाडामा लिएर अल्लोको व्यवसाय गरिरहेको छ । उद्योगमा ७१ प्रत्यक्ष र नौ सय अप्रत्यक्ष गरी ९ सय ७१ महिलाले रोजगारी पाइरहेका छन् । अल्लोका तयारी कपडा लिएर उनीहरू विभिन्न जिल्लामा हुने मेला, महोत्सव र प्रदर्शनीमा जान्छन् । महोत्सवमा अल्लोका कपडा हेर्न मानिसहरू टिकट काटेर आउने गरेको प्रेमकुमारीले बताइन् ।

अल्लोबाट ७० प्रकारका सामानको रोल्पा, तुलसीपुर, बुटवल, सुर्खेतका विभिन्न संग्रहालय र बजारमा सामान नियमित माग भइरहेका छन् । यसमध्ये जुत्ता, झोला, जुहारी कोट, पेटी, पर्सजस्ता सामान वार्षिक ७५ लाखभन्दा बढी कारोबार भइरहेको प्रेमकुमारीले सुनाइन् । ३० लाखबराबरको कच्चा पदार्थ मात्रै खरिद हुन्छ ।

उनका अनुसार कच्चा पदार्थ राप्तीका पहाडी जिल्लाबाट प्राप्त नहुने भएकाले कठिनाइ छ । रुकुम, रोल्पामा स्थानीय स्तरमै कपडा बुन्ने र लगाउने चलन भएकाले त्यहाँबाट कच्चा पदार्थ बाहिरिन सकेको छैन । त्यसैले सुदूरपश्चिमका बाजुरा, डोटी, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुलालगायतका जिल्लाबाट कच्चा पदार्थ ल्याउने गरिएको छ ।

कच्चा पदार्थ काठजस्तै कानुनी प्रक्रिया पूरा गरेर मात्र ल्याउन पाइने भएकाले खर्चिलो र जटिल छ । कच्चा पदार्थको यही जटिलतालाई मध्यनजर गरी अहिले दाङको लक्ष्मीपुर, सिस्नेखोलास्थित पालुथान सामुदायिक वनमा अल्लो खेती गरिएको छ ।

आधुनिक मेसिन खरिद गर्न सकेमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सहज हुने उद्यमी इन्द्रा बुढा मगरको अनुभव छ । उनी पनि रोल्पाको गैरीगाउँ–६, टीलाबाट घोराही आएकी हुन् । उनका अनुसार कम्मरमा पेटी बाँधेर अर्को छेउमा कीला गाडेर त्यसमा तान जोडी कपडा बुन्ने गरिन्छ । कतिपय महिलाले अझै पनि यही कम्मरे तान प्रयोग गरिरहेका छन् भने कतिपयले नयाँ खालका काठका तान । भन्छिन्, “नयाँ प्रविधि भित्र्याउन लगानी धेरै लाग्छ । अहिले हाम्रो क्षमताले भ्याउँदैन ।”

उद्यमी सबै महिलाका नाममा जग्गा छैन । बैंकले धितो खोज्ने भएकाले व्यक्तिबाट चर्को ब्याजमा ऋण लिएर व्यवसाय गर्नु परिरहेको छ । चुनबाङ–४, भेरीडाँडा रुकुमबाट ०५६ सालमा दाङ आएकी गोमती ओली भन्छिन्, “हामीले गाउँको घरजग्गा त्यत्तिकै छोडेर आयौँ । यहाँ केही सम्पत्ति छैन । सरकारले हामीलाई बिनाधितो ऋण दिने व्यवस्था गर्‍यो भने हौसला हुने थियो ।”

द्वन्द्वकै कारण स्थायी जागिर र घरबास छोडेर सुकुमबासीका रूपमा सहर पसेका रुकुम, रोल्पाका यी उद्यमी महिला कसैको नजरमा पर्न सकेका छैनन् । द्वन्द्वपीडित उद्यमी महिलाकी अगुवा प्रेमकुमारी भन्छिन्, “बाँच्ने रहरले घरबास छोड्यौँ, जागिर छोड्यौँ । मिहिनेत गरेरै खान सिकेका छौँ । अब यसै गरी बाँचिरहन थप हौसला र ऊर्जा चाहिएको छ ।” 

प्रकाशित: फाल्गुन ६, २०७२