साहित्य

[संस्मरण] बिस्तारो गर, ब्यूँझन्छे

- कृष्ण धरावासी, काठमाडौं

बिहान ७ बजेको थियो होला, एकाएक मोबाइलमा रिङ बज्यो । हेरेँ, सञ्जीवको नाम थियो । हामी उति फोनमा कुरा गर्दैनौँ । फोनमा बोलेर हाम्रा कुरा पनि सकिँदैनन् । एकदम महत्त्वपूर्ण समाचार नभई प्राय: हाम्रा फोनमा घन्टी जाँदैनन् । मैले फोन उठाएँ । उताबाट भारी स्वरमा सञ्जीव बोले, ‘कृष्ण । पाँच मिनटअघि आमाको प्राण गयो ।’ एकपल्ट थररर भएर हल्लियो भित्र कतै । बुबाले बोल्दै गरेको सुनेँ, ‘बिस्तारो गर, बिस्तारो, ब्यूँझन्छे ।’ यो वाक्यले झन् थर्कियो भित्र ।

मैले दुई वर्षअघि नै श्रीमतीको निधनको पीडा बेहोरिसकेको थिएँ । आमा छ–सात वर्षदेखि अल्जाइमरले थलिनुभएको थियो । उहाँले बिस्तारै बोल्ने शब्दहरू बिर्संदै जानुभएको थियो । पछिल्ला दुई वर्ष त सञ्जीव, अर्चना, डाक्टर बा र रेणुबाहेक कसैलाई नचिन्ने हुनुभएको थियो । म एक प्रकारले उहाँकै काखमा हुर्किएको थिएँ । यो कुरा मैले आधा बाटोमा लेखिसकेको छु ।

सञ्जीव जन्मिएकै एउटा छोरो । उहाँले भन्नुहुन्थ्यो, “मैले नजन्माएकी भए पनि तँ मेरै छोरो होस् ।” मेरी आमा बितेपछि पनि मलाई मातृ अभाव महसुस भएको थिएन । म घन्टौँ उहाँसँग बसेर दु:खसुखका कुरा गर्थें, उहाँले आफ्नै हातले बनाएको केही खान नदिएसम्म हिँड्दिन थिएँ ।

अल्जाइमर भए पनि, नचिने पनि, नबोले पनि म हरेक दुई–तीन दिनमा उहाँलाई हेर्न जान्थेँ । कहिले सुतिरहेको, कहिले बसेर एकोहोरो हेरिरहेको । कहिले हाँसेजस्तो, कहिले रोएजस्तो देख्थेँ अनुहार । छेउमै बस्नुभएको हुन्थ्यो डाक्टर बा । केही पढिरहेको, केही लेखिरहेको भेट्थेँ सधैँ । जब म पुग्थेँ, उहाँ निकै खुसी भएर आफ्ना अनुभव सुनाउन थाल्नुहुन्थ्यो । म पनि चाहन्थेँ, सञ्जीवसँग भन्दा बालाई नै बढी समय दिनु उचित छ । अनि, उहाँले सुनाउनुहुन्थ्यो– आफ्ना कहालीलाग्दा विगत ।

झलक्क हेर्दा डा शंकरप्रसाद उप्रेतीलाई केको दु:ख होला र ! १९९१ सालमा आठराई चुहानडाँडाका सम्पन्न मेदिनीप्रसाद उप्रेतीका काहिँला छोराका रूपमा जन्मिएका उनलाई कहिले के नै दु:ख भयो होला र † कुनै अभाव, गरिबी र दु:ख भए ०१७ सालमा कसैले एमबीबीएस गर्न सक्थ्यो † धनीका छोरा, पैसा पेल्न सके र त आजभन्दा ५५ वर्षअघि नै एमबीबीएस हुन सके नि !

तर, उहाँको कथा अनुमान गरेजस्तो सुखद छैन । जब उहाँ मसँग आफ्नो विगत भन्न थाल्नुहुन्थ्यो, म ट्वाल्ल परेर सुनिरहन्थेँ । एकदिन उहाँ निकै भावुक हुनुहुन्थ्यो । भन्नु भो, ‘हेर् केटा ! प्रकृतिले जीवलाई दुइटा कर्मको जिम्मा दिएको छ । एउटा आफ्नो सुरक्षा गर्, दोस्रो आफू बाँच् र फैल । मानिसबाहेक अरू सबै जीवले त्यत्ति नै गर्छन् तर हामी त्यसभन्दा अरू धेरै नै गरिरहेका हुन्छौँ । तैपनि, विचार गरेर हेर्‍यो भने सारांशमा हामी पनि त्यत्ति नै गरिरहेका छौँ । यो तेरी आमासँग म ५५ वर्षदेखि सँगै छु । हामीले मिलेर बाँच्ने र फैलिने खेलमा कैयौँ रमाइला र पूर्ण क्षणहरू बितायौँ । तर हेर् न, यसलाई अहिले ती कुनै कुरा थाहा छैन । यससँग बाँकी जीवन, बितेका दु:खसुख सम्झँदै बिताउन मन थियो तर ऊ त कत्ति सुखी भई, बच्चो जस्ती ।’

अलिकति–अलिकति गर्दै उहाँले मलाई आफ्नो जीवनका प्राय: सबै पृष्ठ सुनाइसक्नुभएको थियो । पछिल्लो कालको उहाँको शनिश्चरेको जीवनसँग म प्रत्यक्ष सम्पर्कमा भएकाले ती मेरा लागि रहस्य थिएनन् । मलाई रहस्य लागेको उहाँको बाल्यकालको कथा थियो, जुन सुनेर म छक्क पर्थें । उहाँको बाल्यकालको कथा सुन्नुअघि, जब उहाँले बिरामीहरूलाई जाँचेको, पैसा नलिएको, सस्तो र थोरै दबाइले उपचार गरिदिएको, पैसा नभएका गरिबलाई नि:शुल्क दबाइ दिएको देख्थेँ, मलाई अचम्म लाग्थ्यो । बजारमा मुरली, भट्टाचार्य र सुब्बाहरू थिए । उनीहरू सामान्य अनुभवी थिए तर डाक्टर बा शनिश्चरे नआएसम्म उनीहरू नै त्यहाँका डाक्टर थिए । तिनीहरूले गर्ने उपचार, दबाई र पैसाको महँगाइका अघि डाक्टर बाले नि:शुल्कजस्तै सेवा गरेको देख्थेँ । उहाँले किन त्यसरी मानिसहरूको सेवा गर्नु हुँदोरहेछ भन्ने कुरा मैले धेरैपछि मात्र बुझेँ, जब उहाँले मन खोलेर मलाई आफ्नो कथा भन्न थाल्नुभयो ।

सारांशमा यस्तो थियो उहाँको कथा : असाध्यै पढ्ने रहर भए पनि पहाडमा त्यस्तो पढ्ने व्यवस्था थिएन । त्यसैले घरबाट भागेर विराटनगर आई एक जना उप्रेतीकै घरमा बालश्रमिक भई काम गर्न थाल्नुभयो । ००४ सालको विराटनगर जुट मिलको मजदुर आन्दोलनमा फुच्चे केटो त्यत्तिकै जुलुसमा कुद्यो ।

त्यहाँबाट भेटेर काठमाडौँमा बसेका माहिला दाइले ल्याउनु भो । तर, काठमाडौँमा पढाइमा फेल भएपछि त्यहाँबाट पनि भागेको मान्छे, नुवाकोट, धादिङ, कताकता हुँदै महिनौँ लगाएर भारतको कानपुर पुग्नुभयो । कम उमेर भएकाले त्यहाँ एउटा मिलमा पाउनै लागेको काम पनि पाउनुभएन । अनि, एउटा असल मान्छेकहाँ पढ्न पाउने सर्तमा घरेलु कामदार भएर बस्नुभयो । अत्यन्त कठोर परिश्रमसँगै आफ्नो पढाइलाई अघि बढाउँदै एसएलसी उत्तीर्ण गर्नुभयो । आईएस्सी उत्तीर्ण गरी नेपाल आएको उहाँ कोलम्बो प्लान अन्तर्गत फेरि भारत नै पुग्नुभयो ।

फेरि एकदिन भन्नुभएको थियो, ‘जुन दिन मैले कोलम्बो प्लान पाएँ, त्यो दिन परमात्मालाई सम्झेर मनमनै प्रतिज्ञा गरेँ, म एमबीबीएसभन्दा माथि पनि पढ्दिनँ र आफ्नो जीवनको सबै समय दुर्गम गाउँमा बसेर ५० वर्षसम्म सेवा गर्नेछु ।’

धनीको कोखमा जन्मेर पनि गरिबको जीवन बिताएका उहाँमा दया र करुणाको भाव अथाह छ । बिरामीलाई मायाले हप्काउँदै, गाली गर्दै भए पनि उपचार गरिरहनुभयो । उहाँको उपचारकालमा सायदै बिरामीहरू अन्यत्र रिफर गरिए ।

०२६ सालदेखि उत्तरी झापाको शनिश्चरे क्षेत्रमा आफ्नै क्लिनिक खोलेर बसेपछि पूर्वी पहाड आठराई, ताप्लेजुङ र पाँचथरदेखिका बिरामीको केन्द्र बनेको थियो शनिश्चरे । सामान्य एमबीबीएस भएर पनि उहाँलाई गाइनोको विशेष अनुभव थियो । त्यस बेलाका झापा, मोरङ, इलामदेखिका गर्भवती महिलाहरूले उहाँकै सिपालु हातको सेवा पाएर आफ्नो र बच्चाको ज्यान बचाएका थिए । एकदिन भन्नु भो, “काम गरिरह्यो भने कत्ति गरिने रहेछ कत्ति, केटा । मैले आफ्नो सक्रिय डाक्टरी कालभरि ३६ हजार बच्चा जन्माएछु ।’ हाम्रै घरमा पनि उहाँको हातबाट जन्मेका चार जना छन्– कुमार, नानु, दीपलेश र विवेक ।

केटाकेटीका लागि त उहाँ धामीजत्तिकै हुनुहुन्थ्यो, छोयो कि निको हुने । डा शंकरकोमा नपुर्‍याइ भुरा सञ्चै नहुने । जस्तै असाध्य मानिएका बिरामी पनि निराश भएर फर्किएनन् । एकदिन एउटा मानिसलाई गोरुगाडामा बसाएर ल्याए । घाँस काट्न चढेको रुखबाट लडेछ र डाली घाँसको चोके एकापट्टिको गर्धनबाट छिरेर अर्काेपट्टि निस्केछ । चोके वारपार भएकै अवस्थामा ल्याइपुर्‍याए ।

सयौँ तमासे मानिस जुलुसजस्तै पछिपछि थिए । कसैले पनि बाँच्ला भन्ने सोचेका थिएनन् । तर, उहाँले सबैका अघि हेर्दाहेर्दै त्यसलाई तानेर निकालिदिनु भयो र उपचार गरेर पठाइदिनुभयो । सारा मानिसले डा शंकर देवतै हुन् भने । तर, एकदिन सर्पले टोकेर ल्याएको बेहोस मानिसलाई उहाँले सक्दिन भन्दाभन्दै उपचार गर्न कर लगाए । एन्टी स्नेक भेनम लगाइदिनु भो तर मान्छे बाँचेन । मरेपछि त्यसैलाई विषय बनाएर उजुरबाजुर गरे । प्रहरीले समातेर चन्द्रगढी पुर्‍यायो । एक रात थुनेर छोडिदियो । त्यो दिनदेखि उहाँले सर्पका रोगीको उपचार गर्नुभएन ।

अचम्म त मलाई के लाग्थ्यो भने उहाँले उपचार नगर्ने कुनै रोग थिएन । हातखुट्टा भाँचिएकाहरूको त एक्सरे नै नगरी काम्रो बाँधिदिनु हुन्थ्यो र ती सर्लक्कै जोडिन्थे । अचेल त सामान्य भाँचिएकोलाई पनि स्टिल नहाली उपचार गरेको देखिँदैन । उहाँले छामेकै भरमा हड्डी जोडी दिनुहुन्थ्यो ।

एक दिन मैले सोधेँ, “यति धेरै विषयमा तपाईं कसरी उपचार गर्न सक्नुहुन्छ ?” उहाँले भन्नु भो “पढ्दाखेरि प्राक्टिकलमा अरू साथीहरू अल्छी गर्थे, ठग्थे । टिमभित्रमा मलाई नै रिपोर्ट बनाउन लगाउँथे । म भने एकदम नै ध्यानले सिक्थेँ । त्यही सिकेको अहिले काम लागिरहेको छ ।”

आमालाई अल्जाइमरले समाउन थालेपछि सञ्जीव, अर्चना र मैले पटकपटक उहाँलाई यो पेसा छोडिदिनु, रेस्ट लिनु भनिरह्यौँ । तर, उहाँले हामीलाई सधैँ ‘५० वर्षसम्म यो पेसामा सक्रिय जीवन बिताउनेछु भनेर मैले प्रतिज्ञा गरेको छु, अब दुई वर्ष मलाई केही नभन’ भनेर चुप गराउनु हुन्थ्यो । नभन्दै ०६७ सालमा आफ्नो सेवाको ५० वर्ष पुगेपछि स्वैच्छिक अवकाश लिनुभयो । त्यस बेलासम्म झापामा सयौँ डाक्टर, क्लिनिक र अस्पताल थिए तर डा शंकरकोमा नपुगी कसैलाई सञ्चो हुँदैन थियो । उहाँले पेसा छोड्ने घोषणा गर्दा त्यो क्षेत्र नै एक प्रकारले शोकाकुल भयो । ‘डा शंकर छैनन्, अब हाम्रो के होला ?’ जस्तो मनोवैज्ञानिक दबाबमा परे मानिस । हुन पनि पेसाप्रतिको उहाँको निष्ठा अचम्म लाग्दो थियो । ६ वर्षसम्म राष्ट्रियसभाको सदस्य हुँदा पनि संसद् अधिवेशन सकिनेबित्तिकै गाउँमा गएर क्लिनिकमा व्यस्त हुनुहुन्थ्यो । कति मानिसहरू व्यंग्य गर्थे डा शंकरलाई हेर न, पैसाले नपुगेको । सांसद् भएपछि पनि अझै गाउँमा बसेर सुई हान्न छाडेका छैनन् !

इमानदारी र निष्ठाको एउटा प्रतिमूर्ति हो उहाँ । प्रचारभन्दा टाढा र गोप्य दानमा विश्वास गर्ने उहाँले शिक्षाक्षेत्रमा गरेको लगानीको त बेग्लै चर्चा गर्नुपर्ने हुन्छ । मलाई लाग्छ ०१७ सालमा एमबीबीएस गरेर एउटा दुर्गम गाउँमा ५० वर्ष सेवा गर्ने डाक्टरहरू नेपाली मेडिकल इतिहासमा बिरलै होलान् । उमेरको ७८ वर्षसम्म पनि सक्रिय रहनसक्ने उहाँको दृढता अभिनन्दनीय थियो ।

प्राय: हामी तीनै जनालाई उहाँ भनिरहनु हुन्छ, “तिमीहरू मिहिनेती पनि छौ । प्रतिभाशाली पनि छौ । नाम पनि कमायौ तर एउटा कुरा सधैँ ध्यानमा राख्नू । आफ्नो कर्मप्रति कहिल्यै अभिमानी नहुनू । तिमीहरू जे गरिरहेका छौ, त्यो सबै तिमीहरूका लागि ईश्वरले छुट्याएर दिएको भूमिका हो । तिमीहरूको आफ्नो मात्र होइन ।”

गर्व लाग्छ मलाई । गरिब र अशिक्षित आमाबाबुको कोखबाट जन्मेर पनि मैले यस्ता अभिभावक पाएको थिएँ । बाहिरबाट हेर्दा कडा स्वभावको देखिने उहाँ भित्रभित्रै बदामजस्तो कमलो हुनुहुन्छ । एकदिन चेतनाशून्य आमातिर फर्केर भन्नुभो, “यो महिलाको त्याग कति होला भन् त ! कहाँ राजस्थानमा जन्मेर हुर्किएकी । दुई विषयमा एमए गरेकी, सुखमा पालिएकी । मसँग बिहे नगर । म त गाउँमा बस्छु, दु:ख पाउँछ्यौ भन्दा तिमीले सहेको म पनि सहन सक्छु भनिन् । हुन पनि मसँगै बिताइन् यिनले पनि ५० वर्ष गाउँमा । तर, म खुसी छु, यिनलाई स्याहार्न पाएको छु । मभन्दा अघि यिनको प्राण जाओस् भन्ने कामना गर्छु ।” यसो भनिसक्दा एकाएक उहाँको अनुहार अर्कैजस्तो भएको थियो ।

अनि, त्यस दिन सञ्जीवले आमाको प्राण गएको पाँच मिनेटपछि नै मलाई फोन गरेका थिए । बाक्लो कुहिरो लागेको पुस ०७०  को विर्तामोडको बिहानमा मैले त्यो फोन उठाएको थिएँ । बुबा भन्दै हुनुहुन्थ्यो, ‘बिस्तारो गर, बिस्तारो, ब्यूँझन्छे ।’ सायद लासलाई पलङबाट तल झार्न लागेका थिए होलान् । उहाँलाई लाग्दै थियो होला, ‘आमा निदाएकी मात्र हुन् मरेकी होइनन् ।’ आज पनि जब म डाक्ट बाको अघि पुग्छु, त्यही आवाज सम्झन्छु । 

प्रकाशित: मंसिर २४, २०७२