ब्लग

उपहारजंग शाहको नोटबुक

- उपहारजंग शाह, काठमाडौं


नेपाल र नेपाल छोड्दा
साढे तीन वर्षको नेपाल साप्ताहिकसँगको सम्बन्ध निकै आत्मीय रह्यो । विशेषत: करिअर बनाउने सन्दर्भमा सहकर्मीहरूबाट भुल्नै नसकिने सहयोग प्राप्त भयो । नेपालसँग आबद्ध हुँदा नै उच्च शिक्षाका लागि अमेरिका आउने प्रक्रियामा थिएँ । तर, कारणवश उद्देश्य पटकपटक पछि धकेलियो । 

यसअघि अन्य संस्थामा पनि थुप्रै वर्ष काम गरेको थिएँ । प्राय: ठाउँमा काम छाड्ने क्रममा रहेका कर्मचारीलाई गरिने नमिठो व्यवहारको भुक्तभोगी र साक्षी पनि बनेँ । तर, छहारी जहिल्यै ठूलो रूखको लिनु भन्ने भनाइ मेरो जीवनमा नेपालसँगको कार्यकालमा चरितार्थ भयो । 

७ भदौमा भिसा अन्तर्वार्ता थियो । १३ भदौमा विश्वविद्यालय पुग्नुपर्ने भएकाले ११ भदौमा जसरी पनि उड्नुपर्ने थियो । तर, निश्चित नभएकाले अफिस छाड्ने–नछाड्ने निर्णय दिन सकिएको थिएन । भिसा लाग्यो । नियमानुसार छाड्नुअघि राजीनामा दिनुपथ्र्यो । भोलिपल्टै राजीनामापत्र लेखेँ । अर्को दिन अफिससम्म पुगेँ तर भर्‍याङ उक्लने हिम्मत आएन ।

त्यत्तिकै फर्कें । अमेरिका आउनुभन्दा एक दिनअघि कार्यालयमै बिदाइ कार्यक्रम राखिएको थियो । प्रधान सम्पादकको कोठाबाहिर दुईपटक पुगेँ । तर, यति आत्मीयता दिने टिमलाई छाड्दै छु भन्ने कल्पनाले मन भक्कानियो । त्यही साँझ सहकर्मी रवि मानन्धरलाई ‘दाइ अफिसमा चाहियो भने दिइदिनूस् है!’ भन्दै खाम थमाइदिएँ ।

उड्ने दिन विमानस्थलमा सुरक्षा जाँच गराउँदै थिएँ । प्रधान सम्पादकको फोन आयो । शुभकामना दिनुभयो । त्यसबेला भने मुखै फोरेर भनिदिएँ, ‘मैले आफ्नै हातले औपचारिक राजीनामा बुझाएको छैन, म नेपालकर्मी नै रहिरहनेछु ।’

जीपीएस जीवन
आफ्नो सहर काठमाडौँको त सडक मात्र होइन, गल्लीगल्ली थाहा थियो । तर, अमेरिकाको ठूलो सहर बोस्टन पुगेपछि भने रनभुल्लमा परियो । कति दिनसम्म त बाटो मात्र होइन, दिशा खुट्याउनसम्म हम्मेहम्मे पर्‍यो । घर र बाटोहरू उस्तै उस्तै हुने भएकाले डुल्दै डुल्दै अलि पर पुगियो कि फर्कने बाटै फेला नपर्ने ।

केही दिन त आफू नयाँ भएकाले होला भन्ने लाग्यो । तर, वर्षौंदेखि यहीँ बसेकाहरूसमेत बाटो फेला पार्न नसकेर हैरान हुँदा रहेछन् । समस्याको समाधान गरिदिएको रहेछ, जीपीएस प्रविधिले । कारमा बसेपछि मोबाइलमा जीपीएस खोल्यो । जाने ठाउँ टाइप गर्‍यो अनि त्यसले जताजता जाऊ, जताजता मोडिऊ भन्छ उतैउतै गयो । अझ नजिकका बैंक, रेस्टुराँ, होटल, कार्यालय आदिका जानकारी लिन समेत जीपीएस नै प्रयोग हुने ।

नेपाल घुम्न आउने पर्यटक हातमा नक्सा लिएर फनफनी घुमिरहेको याद आयो । अनि, सोचेँ, नेपालमा जस्तै यहाँ पनि इन्टरनेट कहिले सुस्त हुने कहिले चल्दै नचल्ने भए मान्छेको जीवन कति डामाडोल हुँदो हो ? बेलाबेला दूरसञ्चार सेवा नै बन्द भए के हुँदो हो ? गुगलले विकसित मुलुक मात्र होइन, नेपालजस्ता विकासोन्मुख देशका गल्लीगल्लीलाई समेत आफ्नो म्यापमा अटाएको छ । प्रविधिको थोरै विस्तार गर्न सकिए त नेपाल आउने पर्यटक मात्र होइन, स्वदेशीलाई पनि सजिलो हुने थियो ।

वाइन नपाएर हैरान
यहीँ बस्ने बालसखालाई आफ्नै पैसाले वाइन खुवाउने भएँ । स्टोर धेरै टाढा थिएन तर समय निकै घर्किसकेको थियो । म्यासाचुसेट्स राज्यको कानुन अनुसार रातको ११ बजेपछि मदिराजन्य पदार्थ बिक्रीवितरण नहुने भएकाले हतार गर्दै गयौँ । तर, वाइन रोजेर सेल्स काउन्टरमा पुग्दा घडीमा ११ बजेको घन्टी बज्यो । आफूहरू ११ बजेअघि नै आएको भन्दै सेल्सम्यानलाई अनुरोध गर्‍यौँ । उनले बिल काट्ने कोसिस गरे । तर, मेसिनले लिन मान्दै मानेन । उनले माफी मागे, हामी जिल्ल परेर रित्तो हात फर्कियौँ ।

अर्को दिन पनि त्यस्तै योजना बन्यो । दुई जना सँगै गयौँ । त्यस दिनचाहिँ ११ बज्न ५ मिनेटजति बाँकी थियो । २१ वर्षभन्दा मुनिकालाई मदिराजन्य पदार्थ नबेच्ने भएकाले अनिवार्य परिचयपत्र हेर्ने नियम छ । काउन्टरमा बसेकी अधबैँसे महिलाले परिचयपत्र मागिन् । साथीले आफ्नो परिचयपत्र देखायो । मैले खल्तीबाट १० डलर निकालेर दिएँ । ती महिलाले त मसँग पनि परिचयपत्र मागिन् । पासपोर्ट घरमै छाडेको थिएँ । अरू परिचयपत्र थिएन । 

नियम के रहेछ भने मदिराजन्य पदार्थ किन्न जो जो आउँछन्, सबैको परिचयपत्र हेर्नैपर्ने रहेछ । म त साथी मात्र गएको थिएँ, परै बसेको भए पनि हुने थियो । घडीले ११ बजेको जनाउ दिइहाल्यो । त्यस दिन पनि जिल्ल परियो । घर फर्कंदै गर्दा मठमन्दिर र विद्यालयवरिपरि मदिराजन्य पदार्थ बिक्री गर्न नपाइने, सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने नेपालको कानुन दिमागभरि नाचिरह्यो । कार्यान्वयन नै भएन भने कानुनको के अर्थ ?

प्रकाशित: भाद्र ३१, २०७२