जीवनशैली

हितैषी ब्रोन्सन

- उपहारजंग शाह

बेभरली ब्रोन्सन, ६७, इङ्ल्यान्डमा जन्मिन्, घरजम अमेरिकामा भयो भने प्रीति नेपालसँग गाँसियो । उनी आमपर्यटकजस्तो नेपालको सुन्दरता र सांस्कृतिक वैभवबाट मोहित भएकी भने होइनन् । यहाँका बालबालिका र महिलाको दयनीय अवस्थाबाट यतिसम्म पग्लिन् कि आफ्नो जीवन, ऊर्जा सबै नेपालकै हितमा लगाउने निधो गरिन् ।
सन् २००० मा ब्रोन्सन स्वयंसेवकका रूपमा नेपाल आएकी थिइन् । त्यसै बेला अभिभावकत्व गुमाएका दुई र पाँच वर्षका दुई बालक भेटिन् । उनलाई न्युयोर्क फर्कनु थियो । त्यसैले दुवैलाई होस्टलसहितको एउटा स्कुलमा भर्ना गरिदिइन् । उनीहरूले घामपानीबाट जोगिने छानो त पाए तर पारिवारिक न्यानो पाएनन् । यही कुरा ब्रोन्सनको मनमा खट्किरह्यो । त्यसैले अभिभावकत्व गुमाएका बालबालिका र नि:सहाय महिलाका लागि अलग्गै सुन्दर घर बनाउने सपना देख्न थालिन् ।
आखिर अप्रिल २००१ मा उनको सपनाले साकार रूप लियो । अमेरिकामै केही सहायता जुटाएर नेपालमा १२ कोठे घर भाडामा लिइन् । र, त्यसलाई नाम दिइन्, हाउस विथ हार्ट अर्थात् घरसित मुटु । सन् २००४ मा भने बेलायतका एक सहृदयी व्यक्तिले संस्थालाई १ लाख ५० हजार डलर सहयोग गरे । त्यसबाट संस्थाका लागि काठमाडौँको जोरपाटीमा साढे पाँच रोपनी जग्गा किनियो । संस्थाको आफ्नै पूर्वाधार बन्यो ।
संस्था बालबालिकाका लागि सुरु गरिएको थियो । तर, ब्रोन्सनलाई के लाग्यो भने महिला स्वावलम्बी भएनन् भने त बालबालिका सडकमा आउने क्रम रोकिँदैन । हुर्काउने आधार नै नभएपछि न छाडिने हुन्, दूधे बालबालिकासमेत सडकमा । त्यसैले महिलाका लागि पनि सीपमूलक तालिमको व्यवस्था गरिन् । सात जना बालबालिकाबाट सुरु भएको संस्था अहिले डेढ दर्जनभन्दा बढी बालबालिकाको प्यारो घर बनेको छ । झन्डै दुई दर्जन बालबालिकाको शिक्षालगायत जिम्मेवारी संस्थाले लिएको छ । सुरुआतदेखि संस्थाको रेखदेखमा रहेका बालबालिका त अहिले स्नातक पढ्ने भइसके । संस्था छाडेर गइसकेपछि पनि आफ्नै खुट्टामा नटेकुन्जेल शिक्षा, बसोवासलगायत खर्च संस्थाले नै बेहोर्छ । दुई दर्जनभन्दा बढी महिलाले अहिले पनि संस्थाबाट सीपमूलक तालिम लिइरहेका छन् । अहिलेसम्म करिब आठ सय महिला संस्थाका कार्यक्रमबाट लाभान्वित भएका छन् ।
महिलालाई तालिममा आकर्षित गर्ने शैली पनि गजबको छ ब्रोन्सनको । अति नै गरिब छन् भने तालिममा आएबापत दैनिक भत्ता पाउँछन् । सक्छन् भने महिनाको दुई सय तिर्नुपर्छ । र, नसक्नेले नि:शुल्क पाउँछन् । उनीहरूले बनाउने हस्तकलाका सामान उनी अमेरिका र बेलायत लैजान्छिन् । त्यहाँ वर्षको दुईपटक ‘फन्ड रेजिङ पार्टी’ आयोजना गर्छिन् । सामानको बिक्री र सहायता संकलनबाट उठ्ने रकमबाटै संस्था चलेको छ । संस्थाले अमेरिकाको सेली एन्ड डोनाल्ड रुबिन फाउन्डेसनबाट पाँच वर्षसम्म केही आर्थिक सहायता पायो । न्युयोर्क रोटरीले पनि थोरै सहयोग गरिरहेको छ । यसबाहेक अन्तबाट केही सहयोग लिएको छैन । ब्रोन्सन सुनाउँछिन्, “गत वर्ष मात्र १ करोड २० लाख रुपियाँजति खर्च भयो । स–साना सहयोग गर्ने सहृदयीहरूकै कारण यो सब सम्भव भएको हो ।”
संस्थाले अहिले सरकारी विद्यालयमा पढ्ने बालिकाका लागि ‘राइज एबोभ’ कार्यक्रम चलाइरहेको छ । कार्यक्रम अन्तर्गत कक्षा ६ मा पढ्ने १५ जना बालिकाले हरेक बिहान गणित र अंग्रेजीको ट्युसन नि:शुल्क पढिरहेका छन् । ब्रोन्सन भन्छिन्, “कक्षा चढ्दै जाँदा कठिन विषयमा फेल हुने क्रम बढ्ने र यसै कारण पढ्नै छाड्नुपर्ने अवस्था आउँछ, यसलाई थोरै भए पनि न्यूनीकरण गर्न खोजेका हौँ ।” भूकम्पले क्षति पुगेका काठमाडौँ, भक्तपुर, सिन्धुपाल्चोक र नुवाकोटका केही विद्यालयको पुन:स्थापनाका लागि पनि ब्रोन्सनले सहयोग गरिरहेकी छन् ।
उसो त १२ वैशाखको भूकम्पले यो संस्थाको भवनलाई पनि छाडेन । अधिकांश भवन चर्किए । भवनभित्र बालबालिकाका लागि चिटिक्क परेका कोठा र सुखी परिवारलाई चाहिने हरेक पूर्वाधार छन् । तर, राती सुत्न भने अस्थायी टहरा नै प्रयोग हुन्छ । पुन:निर्माण गर्न थुप्रै पैसा लाग्ने अवस्था छ । ब्रोन्सन भन्छिन्, “यो सत्कार्यमा पनि सहयोगी हातहरू जुट्नेमा ढुक्क छु ।”

प्रकाशित: श्रावण १७, २०७२