समसामयिक

पीडितसँग पर्यटक

नेपाल घुम्न आएका विदेशी राहत वितरण र घर निर्माणतिर

- शिव शर्मा, पोखरा
बेल्जियमकी लुट डी जेइगर एकमहिने छुट्टीमा पोखरा आइपुगिन् । बेल्जियमको आर्थभाल्ड विश्वविद्यालयकी लेक्चरर जेइगरसँग १७ विद्यार्थी पनि थिए । त्यही बेला नेपालमा भूकम्पले निम्त्याएको विपत्तिले उनलाई आहत बनायो । उनले घुम्ने योजना पूरै स्थगित गरी विद्यार्थी समूह लिएर धादिङ तथा गोरखाका  भूकम्पपीडित गाउँका तीन सय जनाभन्दा बढीलाई राहत बाँडिसकेकी छन् ।
उनको विश्वविद्यालयले केही सहयोग रकम पठाएको रहेछ । केही राहत भने आफ्नै पहलमा उठाएर बाँड्दै हिँडेको उनले बताइन् । "अझै पनि थप ठाउँमा राहत बाँड्ने योजनामा छाँै," लेकसाइडमा भेटिएकी उनले भनिन्, "दुःखमा परेका नेपालीलाई सघाउनु हाम्रो पनि दायित्व हो ।"
भिसा अझै १० दिन बाँकी रहेकाले बसुन्जेल भूकम्पपीडितकै सहयोगमा जुट्ने प्रयास छ उनको । भूकम्पबाट क्षतिग्रस्त कास्कीको सल्यानमा एउटा विद्यालय भवन निर्माणका लागि समेत उनले पहल थालेकी छन् ।
पर्यटकीय क्षेत्र लेकसाइडमा अहिले पर्यटकको संख्या उल्लेख्य छैन । धेरैजसो त्रासले फर्किसकेको अवस्था छ । धेरै होटल खाली छन् । तर, पर्यटक बसेका प्रायः होटलका बरन्डा र कोठा यतिबेला राहत सामग्रीले भरिएका छन् । "भूकम्पपछि आफ्नो घरपरिवार तथा अभिभावकले बोलाएर केही पर्यटक त्रासले फर्किर्ए पनि  यहाँ भएकाहरू राहत वितरणमै लागिपरेका छन्," पश्चिमाञ्चल होटल संघका अध्यक्ष गोविन्द पहारीले भन्छन्, "पर्यटकहरू व्यक्तिगतदेखि चन्दा उठाएर भूकम्पपीडितलाई सहयोग गरिरहेका छन् ।"
पहारीका अनुसार विदेशी पर्यटकले तीनदेखि पाँच लाख रुपियाँसम्म गोरखा, धादिङ, नुवाकोट, रसुवालगायतका जिल्लामा राहत सामग्री पुर्‍याएका छन् । टे्रकिङका लागि आउने सबैजसो पर्यटक भ्रमण रद्द गरेर राहत वितरणमै लागेका छन् । लेकसाइडतिर यतिबेला विदेशी पर्यटक चामलका बोरादेखि अत्यावश्यक खाद्यान्न  पोको पारिरहेका देखिन्छन् ।
अन्नपूर्ण पदयात्रा मार्गको रमाइलो यात्रामा निस्कने योजनासहित पोखरा आएको थियो, अमेरिकाका स्कर्ट र एसको टोली । टोलीमा थिए, भारतीय पर्यटक अहमद र सुनील गजराज पनि । भूकम्प आउनुभन्दा चार दिनअघि मात्रै पोखरा आएका उनीहरू ट्रेकिङ जान पाएनन्, बरू भूकम्पपीडितलाई राहत बाँड्न जुटेका छन्  । उनीहरूसँगै स्वीट्जरल्यान्डका स्टेफी, जर्मनका इंगा, एनलगायतले राहतका लागि सहयोग अभियान नै चलाए पोखरामा । राहतको संयोजन गरिरहेका लेकसाइडको सेन्चुरी लजका सञ्चालक रमेश अधिकारी भन्छन्, "भूकम्प आएको भोलिपल्टै सबै योजना
थाती राखेर पीडितसामु राहत पुर्‍याउन जुटिरहे पर्यटकहरू ।"
टोलीले विभिन्न भूकम्पले ध्वंश पारेको काठमाडौँ, काभ्रे, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, गोरखालगायतका ठाउँमा पुगेर पीडितको हातमा राहत पुर्‍याइसके । एकपटकमा ६ देखि १० टनभन्दा बढी राहत पुर्‍याएको भारतीय पर्यटक सुनील गजराजले बताए । रसुवामा रातारात राहत बाँडेर टोली पोखरा फर्किएको छ । एक  महिनादेखि नेपालमा बस्दै आएका उनले भने, "युरोप, अमेरिका, एसियालगायतका पर्यटकको समूह नै बनाएका छौँ ।"


र, यी पनि !

डेनमार्ककी लिन्डा ओल्सेन तीन महिनायता नेपालमै छिन् । बुद्ध धर्म अध्ययनमा आएकी लिन्डा १२ वैशाखको भूकम्प जाँदा काठमाडौँस्थित कपन गुम्बामा ध्यान गरिरहेकी थिइन् । भूकम्पले गरेको मानवीय र भौतिक क्षति देखेर भक्कानिएकी लिन्डा भन्छिन्, "मेरो हृदयमै भूकम्प गयो ।"
त्यसपछि उनी ठमेलस्थित फायर फ्लाई होस्टेल पुगिन् र राहत वितरणमा सहभागी भइन् । उनले सुरूमा आफ्नी आमासँग आठ सय डलर मागिन् र केही त्रिपाल किनिन् । त्यसपछि त उनका अरु साथीले पनि भटाभट सहयोग गर्न थाले । लिन्डाले काठमाडौँको रामकोटमा ३० वटा बाासका घर बनाएर भूकम्प प्र भावितलाई बासको बन्दोबस्त गरिन् ।
स्पेनकी इउलिना स्वीनेक्का पनि खासमा नेपाल घुम्न आएकी थिइन् । तर, १२ वैशाखको भूकम्पपछि नेपाल आउनुको उनको उद्देश्य फेरिएको छ । अहिले उनी राहत वितरणमा सक्रिय छिन् । यिनको समूहमा दुई सय स्वयंसेवक विभिन्न प्रकोपित स्थानमा बाँसका घर निर्माण र राहत वितरणमा सक्रिय छन् । उनको स ंयोजनमा काठमाडौँमै विभिन्न कार्यक्रम गरी भूकम्पपीडितका लागि आर्थिक सहयोग पनि जुट्यो ।
फायर फ्लाई होस्टेलका सञ्चालक गणेश अधिकारीका अनुसार नेपाल घुम्न आएका विदेशीको अर्को समूह नुवाकोटको गेर्खुटारमा बाासका घर निर्माणमा जुटेको छ । समूहले फेसबुक पेज बनाएर र तत्काल वेबसाइट निर्माण गरेर राहत जुटाउने काम गरिरहेको छ ।
प्रकाशित: जेष्ठ ३, २०७२