समसामयिक

मोदी भ्रमणको प्रभाव

आमनागरिकलाई नेपाल-भारत सिमानामा आवत-जावत गर्न सहज र खुकुलो

- राजेन्द्र नाथभवानी भट्ट, बनबसा (भारत)
अघिल्लो महिना महाकालीपारि सीमावर्ती बजार बनबसाका स्थानीय सुवास थपलियाल र उनका भाइ कैलाशसहित चार जनाको टोलीले नेपाल घुम्ने योजना बनायो । उनीहरूको रोजाइमा परे, पर्यटकीय नगरी पोखरा र काठमाडौँ । पश्चिमी नाका गड्डाचौकी हुँदै भारतीय नम्बरको आफ्नै गाडीमा जाँदा सुरक्षा जाँचका क्रममा नेपाली प्रहरीले ठाउँ-ठाउँमा दु:ख दिने उनीहरूको आशंका थियो, विगतमा त्यस्ता केही घटना उनीहरू आफैँले पनि भोगेका थिए । त्यसैले धनगढीबाट हवाईजहाजमार्फत काठमाडौँ र त्यहाँबाट पोखरा जाने योजना बनाए उनीहरूले ।
"नेपालको प्राकृतिक सुन्दरता र भूगोल चिन्न जहाजमा होइन, गाडीमा जानुपर्छ," व्यापारका सिलसिलामा नेपाल आइरहने सुवासका दाजु प्रकाशचन्द्र थपलियालले सुझाव दिए, "अहिले पहिलेजस्तो अवस्था छैन, प्रहरीको अनावश्यक झन्झट खेप्नुपर्दैन ।" त्यसपछि आफ्नै गाडीमा बिनाकुनै झन्झट सुवाससहितको टोली एक साता नेपाल घुमेर फर्कियो । उनीहरूले दुई दिन पोखरा, दुई दिन काठमाडौँ र दुई दिन बाटोमा बिताए । त्यस अवधिमा चार जनाले झन्डै अढाई लाख भारतीय रुपियाँ सकाए, घुमघाम र सपिङमा । नेपालबारे नयाँ अनुभव सँगालेर फर्केका सुवास भन्छन्, "बाटोमा धेरै ठाउँमा प्रहरीले चेकजाँच गर्दा गाडीका कागजात हेरे र धन्यवाद भन्दै सम्मानपूर्वक व्यवहार गरे ।"
भारतीयको मात्र होइन, विगतमा नेपाली नागरिकको बुझाइ पनि त्यस्तै थियो । एक दशकदेखि दिल्लीमा काम गरिरहेका अछामका जयबहादुर बुढा घर फकिर्ंदा सीमामा हुने हैरानीले फेरि कहिल्यै भारत नजाऊँजस्तो लाग्ने गरेको अनुभव सुनाउँछन् । तर, यसपटक घर फकिर्ंदा उनले पहिलेजस्तो समस्या झेल्नुपरेन । भन्छन्, "अहिले घर फर्किंदा निकै सहज भयो । भारतीय सुरक्षाकर्मीले नम्र र शिष्ट व्यवहार गरे ।"
सीमा क्षेत्रमा पछिल्ला केही महिनामा फेरिएको माहोल हो यो । वर्षौं पुरानो नेपाल-भारत सम्बन्धको सुदृढ आयाम दुई देशका नागरिकले आवतजावत गर्दा देखिन थालेको छ । सिमानामा लुटपाटका घटनामा कमी आएको छ । बाटोमा सुरक्षा जाँच तथा अन्य बहानामा हुने झन्झट कम भएका छन् । बनबसा कस्टमका सुपरिटेन्डेन्ट सुरेशकुमार मेहता आफ्नो अनुभव सुनाउँछन्, "भारतीय नम्बर प्लेटका सवारीसाधन देख्दा नेपाली सुरक्षाकर्मीको मनोभावना बेग्लै हुन्थ्यो । ऊ इन्डियन गाडी आयो भन्दै झम्टिने स्वभावमा परिवर्तन आउनु भनेको ठूलो कुरा हो ।" सीमामा चेकजाँचका क्रममा सुरक्षाकर्मीबाट हुने दुव्र्यवहार कम गर्न उनीहरूलाई पटक-पटक सम्झाउने गरिएको उनी बताउँछन् । उनका अनुसार सानातिना घरायसी सामान ल्याउनेलाई पनि व्यावहारिक हिसाबले छुट दिइएको छ । सीमामा विवाह तथा एम्बुलेन्सका गाडी आउजाउ पनि खुकुलो भएको छ ।
नेपाली पक्षले पनि सीमामा सहजता महसुस गरेको छ । कञ्चनपुर भन्सारका प्रमुख रामप्रसाद रेग्मी पछिल्ला केही महिनामा सुरक्षाकर्मीको व्यवहारमा देखिने गरेर परिवर्तन आएको अनुभव सुनाउँछन् । भन्छन्, "खास गरी मजदुरीका लागि भारत जाने तथा नेपाल घुम्न आउनेलाई सजिलो भएको छ । आफ्नै सवारीसाधनका साथ नेपाल घुम्न आउने भारतीय पर्यटक बढेका छन् ।"
अचेल काठमाडौँ र पोखराबाट दिल्ली जाने बस यही नाका भएर ओहोर-दोहोर गर्छन् । ती बसका यात्रुका सुविधा-असुविधाबारे भारतीय सुरक्षाकर्मीले सोधपुछ गर्न थालेका छन् । यो बाटो भएर हाल दैनिक आठवटा बस काठमाडौँ र पोखराबाट दिल्ली आवतजावत गर्छन् ।
मूलत: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्ध सुदृढ हुनुका साथै सीमा वारपार सरल भएको हो ।
प्रधानमन्त्री निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री मोदीले पहिलोपटक गत साउनमा र सार्क शिखर सम्मेलनका क्रममा मंसिरमा दोस्रोपटक नेपाल भ्रमण गरेका थिए । पहिलो भ्रमणका बेला संविधानसभा बैठकलाई सम्बोधन गर्दै उनले सीमा क्षेत्रका समस्या न्यूनीकरण गर्ने बताएका थिए । उनले भनेका थिए, 'सीमामा फलामे पुल होइनन्, अब दुई देशका नागरिक बीच सम्बन्धका पुल बन्नुपर्छ ।'
बनबसा व्यापार मण्डलका संस्थापक महामन्त्रीसमेत रहिसकेका व्यवसायी प्रकाशचन्द्र थपलियाल नेपाल-भारतबीचको गहिरो सम्बन्धको फाइदा दुई देशका नागरिकले पाएमा मात्र आपसी विश्वास बढ्ने बताउँछन् । भन्छन्, "दुई देशबीच उच्च तहमा देखिएको नयाँ सम्बन्धले सीमा क्षेत्रमा पनि प्रभाव पारेको छ ।" यसमा कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष जंगबहादुर मल्ल पनि सहमत छन् । भन्छन्, "पहिले भारततिर घुम्न जाँदा एक्लै जान सकिँदैनथ्यो । अहिले आफ्नै सवारीसाधनसहित आनन्दले घुम्न सकिने भएको छ ।"
त्यसो त नेपाल-भारतबीचको सम्बन्धलाई बोलीचालीको भाषामा रोटी-बेटीको सम्बन्धका रूपमा परिभाषित गरिन्छ । विगतमा यो भनाइ उच्च तहका अधिकारी र राजनीतिक नेतृत्वको मुखमा मात्रै सीमित थियो । अहिले जनस्तरमै उतार्ने प्रयास भइरहेको छ । "रोटी-बेटीको सम्बन्ध मात्रै भनेर पुग्दैन," प्रकाश भन्छन्, "यो सम्बन्धलाई सर्वसाधारणले महसुस गर्ने ढंगले लागू गर्नुपर्छ । त्यसका लागि जनस्तरमै समन्वय आवश्यक छ ।"
उनी सीमा क्षेत्रमा व्यापारी, पत्रकार र राजनीतिक दलहरूले नेपाल-भारत सीमा मैत्री संगठनहरू गठन गरेका भए पनि तिनले सर्वसाधारणका समस्या समाधान गर्न नसकेको बताउँछन् । "व्यापार संगठनले व्यापारीका र पत्रकार संगठनले पत्रकारका समस्या मात्रै उठाउँछन् । जनस्तरमा कुनै समन्वय छैन," प्रकाश भन्छन्, "सर्वसाधारणका समस्या समाधानका लागि स्थानीयकै सहभागितामा जनस्तरको संगठन बनाइनु पर्छ । त्यसमा कुनै राजनीतिक वा अन्य संगठनका व्यक्ति हुनुहुँदैन । उनीहरू भए स्वार्थले प्रवेश पाउँछ ।"

तस्बिर कूटनीति
पहिलोपटक प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण भएलगत्तै भारतीय पक्षले सीमा क्षेत्रको सार्वजनिक स्थलमा मोदीले पालनपोषण गरिरहेका नेपाली युवक जितबहादुर सारु मगरको परिवार र प्रधानमन्त्रीसँगै भएको तस्बिर राखेको थियो । दोस्रोपटक मंसिरमा सार्क शिखर सम्मेलनमा भाग लिन नेपाल आएका बेला मोदीले नेपाली प्रधानमन्त्री सुशील कोइरालासँग हात मिलाएको ठूलो तस्बिर कञ्चनपुर उद्योग वाणिज्य संघले सीमा क्षेत्रमा राखेको छ ।
यो तस्बिर देख्दा जो-कोहीलाई नेपाल-भारत सम्बन्धको सम्झना आउँछ । उत्तरप्रदेशस्थित पिलिभित बजारका इन्दि्रस खान भन्छन्, "यो तस्बिरले राष्ट्रियतासँगै दुई देशको आपसी सम्बन्धलाई पनि बलियो बनाउँछ ।" दुई देशका प्रधानमन्त्रीले हात मिलाएको तस्बिरले सीमामा आउजाउ गर्नेलाई आकषिर्त गर्नुका साथै भाइचाराको सम्बन्ध पनि विस्तार गरिरहेको सीमावासी बताउँछन् । "तस्बिरले आपसी सम्बन्ध सुदृढ गर्ने मात्र होइन, सीमामा आउजाउमा पनि सहजता ल्याएको छ," कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष गणेशदत्त जोशी भन्छन्, "दुवै देशका सुरक्षाकर्मीलाई समेत तस्बिरले हाम्रा सम्बन्ध सम्झाउने काम गरेको छ ।"

अब सात घन्टा खुला
लामो समयदेखि दैनिक चार घन्टा मात्रै खुल्थ्यो, सीमा क्षेत्रको महाकाली नदीमाथिको बनबसा पुल । दुई वर्षअघि काठमाडौँमा सम्पन्न नेपाल-भारतका गृहसचिवस्तरीय बैठकमा शारदा ब्यारेजको पुल खुल्ने समय बढाएर चारदेखि सात घन्टा पुर्‍याउने सहमति भएको थियो । शारदा ब्यारेज र त्यसमाथिको पुल उत्तराखण्ड राज्यमा पर्ने भए पनि उत्तरप्रदेश सरकारबाट स्वामित्व हस्तान्तरण नहुँदा सहमति कार्यान्वयन हुन सकेको थिएन । नेपाल भ्रमणका बेला प्रधानमन्त्री मोदीले पुल खुल्ने समय बढाउने प्रतिबद्धता गरेपछि उक्त सहमति कार्यान्वयनमा आएको हो । र, अहिले पुल दैनिक सात घन्टा खुल्ने गरेको छ ।
पहिले बिहान ६ देखि ७, दिउँसो १२ देखि २ र बेलुकी ५ देखि ६ गरी दैनिक ४ घन्टा मात्रै बनबसा पुल ठूला सवारीसाधन आवागमनका लागि खुला गरिन्थ्यो । गत मंसिरदेखि बिहान ६ देखि ८, १० देखि १२, दिउँसो २ देखि ४ र बेलुका ६ देखि ७ बजेसम्म गरी दैनिक सात घन्टा खुला गरिएको छ । सुदूपश्चिमको औद्योगिक विकासमा बाधक बनेको भन्दै बनबसा पुल खुल्ने समय बढाउन कञ्चनपुर उद्योग वाणिज्य संघले लामो समयदेखि पहल गर्दै आएको थियो ।
सन् १९२८ मा इस्ट इन्डिया कम्पनीले निर्माण गरेको उक्त पुल जीर्ण भएको भन्दै सीमित अवधिका लागि मात्रै खोल्ने गरिएको थियो । तर, त्यसको कुनै वैज्ञानिक आधार छैन । खासमा पुल निर्माण हुने बेला बिहान कामदार आउने, दिउँसो खाना खान जाने र साँझ फर्किने समयमा खुला गरिने पुरानै परम्परालाई अनुसरण गर्दै त्यही अनुसार पुल खुला हुँदै आइरहेको थियो । "बिनाकुनै वैज्ञानिक कारण पुल निर्माण भएदेखि नै त्यसै आधारमा आवागमन खुला भइरहेको थियो," बनबसा व्यापार मण्डलका पूर्वमहामन्त्री प्रकाशचन्द्र थपलियाल भन्छन्, "दिनभरि हुने आवागमन एक-दुई घन्टामै गराउँदा त पुलमाथि झन् बढी भार थपिन्छ, दिनभरि आवागमन हुन दिने हो भने ट्राफिक जाम नभई निर्वाध आवागमन हुन्छ ।"

 दुई देशबीच उच्च तहमा देखिएको नयाँ सम्बन्धले सीमा क्षेत्रमा पनि प्रभाव पारेको छ ।
- प्रकाश थपलियाल
पूर्वमहामन्त्री, बनबसा व्यापार मण्डल
प्रकाशित: माघ २५, २०७१