वर्ष : ४, दुर्घटना : १६३ मृत्यु : २३४

पृथ्वी राजमार्गको ८३ किलोमिटर लामो धादिङ खण्ड यातायात व्यवसायीको अराजकता र स्रोत/शक्ति अभावको सिकार

- जनकराज सापकोटाहरिहरसिंह राठौर
अघिल्लो वर्ष माघको एक साता धादिङ, चरौदीका बासिन्दा अत्यन्त सक्रिय भए । हरेक दिन माइकमा वेदका ऋचापाठ र पूर्णाहुति गरेको देखियो ।  चरौदीवासीको सामूहिक सप्ताहको एक मात्र उद्देश्य थियो, सडक दुर्घटना कम होस् र दुर्घटनामा मरेकाको आत्माले चिरशान्ति पाओस् ।
विडम्बना के भने सप्ताहको शक्तिले न कुनै चमत्कार गर्‍यो, न त दुर्घटनाको संख्यामै कमी आयो । बरू हरेक दिनजसो दुर्घटना र मृत्युका समाचार  राजमार्ग वरपरका बासिन्दाका निम्ति नियमित आकस्मिकताकै रूपमा छ । मुलुकका ५८ जिल्ला जोडिने सरदर रूपमा दैनिक नौ हजार गाडी गुड्ने बाटो  मात्रै पृथ्वी राजमार्गको परिचय होइन, दुर्घटना र मृत्युका शृंखलाले यसलाई 'मृत्युमार्ग'जस्तै बनाइदिएको छ । किनभने, सडक दुर्घटनामा, केही यात्रुको  ज्यान जाँदा र केही घाइते हुँदा कसैलाई नौलो खबरजस्तो लाग्दैन । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार चार वर्षमा भएका १ सय ६३ दुर्घटनामा  २ सय ३४ जनाले ज्यान गुमाइसकेका छन् ।

गुडेको कि उडेको ?

२१ मंसिरमा पृथ्वी राजमार्गमा राडार गन -गाडीको गति नाप्ने यन्त्र) लिएर बसेको ट्राफिक टोलीले दुई घन्टाको अवधिमा तोकिएभन्दा तीव्र गतिमा  गुडिरहेका १८ वटा गाडीका चालकमाथि कारबाही गर्‍यो । ट्राफिक प्रहरीका अनुसार राजमार्गको धादिङ जिल्लामा पर्ने ८३ किमिको सडक खण्डमा  औसत सवारीको गति ६० किलोमिटर प्रतिघन्टा मात्रै हो । जबकि, यो सडक खण्डमा सामान्यत: ७० देखि ८० किलोमिटरको गतिमा सार्वजनिक सवारी  हाँक्ने चलनै छ ।
ट्राफिक प्रहरीले २१, २२ र २३ मंसिरमा राडार गन प्रयोग गरेर ६८ वटा सवारीलाई तीव्र गतिमा हाँकेको भन्दै कारबाही गर्‍यो । गजुरीका प्रमोद शर्मा  टिप्पणी गर्छन्, "सवारीको गति ध्यान दिएर हेर्दा गाडी गुडेको होइन कि उडेको जस्तो लाग्छ । जुनसुकै मोडमा जुनसुकै गाडी घोप्टिन सक्छ ।"
यसरी तीव्र गतिमा सवारी हाँक्नेमध्ये अधिकांश यात्रुवाहक नै हुन्छन् । जस्तो कि, २३ मंसिरमा ट्राफिक प्रहरीले एकाध घन्टाको चेकजाँचमा तीव्र गतिमा  सवारी हाँक्ने २३ सवारीलाई जरिवाना गरायो । तीमध्ये सबैभन्दा धेरै माइक्रोबस थिए ।
आर्थिक वर्ष ०७०/७१ मा मात्रै यो सडक खण्डको ८३ किलोमिटरमा ६१ जनाको मृत्यु सवारी दुर्घटनाकै कारण भयो । अर्थात्, औसत हिसाब निकाल्ने हो  भने प्रत्येक साता प्रत्येक डेढ किलोमिटरमा एक जनाभन्दा धेरैको ज्यान गइरहेको छ ।
२२ मंसिरमा नेपाल प्रतिनिधि पुग्दा धादिङका प्रहरी नायब उपरीक्षक -डीएसपी) प्रकाश मल्लको वाकीटकी बजिरहेको थियो । पछिल्लो खबर थियो,  काठमाडौँबाट पोखराका लागि छुटेको माइक्रोबस बिहान साढे ८ बजे बेनीघाटस्थित गोमती खोलामा खस्दा १० जना घाइते भए । तीमध्ये चार जनालाई  उपचारका लागि काठमाडौँ पुर्‍याउनुपर्‍यो । धुनीबेसी उच्च मावि, नौबिसेका अध्यक्ष केदार पाठक भन्छन्, "दुई-चार घन्टाको जाम र दुई-चार दुर्घटना  नियमित कुरा भइसक्यो ।"
डीएसपी मल्लका निम्ति उक्त दिनको दुर्घटनाको त्यो पहिलो समाचार थिएन । भन्दै थिए, "यो आजको तेस्रो खबर हो र यही अन्तिम पनि होइन ।  कतिखेर के हुने हो, कहाँ कति मर्ने हुन्, कुनै टुंगो छैन ।"

रामभरोसे राजमार्ग
भूमेस्थान गाविसको चालिसेमा पाँच वर्षदेखि होटल गरेर बसेका अर्जुन श्रेष्ठले आफ्नै आँखाले होटलअघिको घुमाउरो र साँघुरो बाटोमा दुर्घटनाका अने कन् दृश्य देखिसकेका छन् । उनको होटलअघिको यो खण्डमा प्रत्येक साता सानो होस् वा ठूलो, एउटा दुर्घटना हुने भएकाले सडक विभागले दुर्घटनाग्रस्त  क्षेत्र लेखिएको साइनबोर्ड राखिदिएको छ । तैपनि, दुर्घटनामा कत्ति कमी आएको छैन । भन्छन्, "पाँच वर्षमा झन्डै आधा दर्जन बीभत्स दुर्घटना देखेको छु  । दुर्घटनाको पहिलो र प्रमुख कारण भनेकै तीव्र गति र क्षमताभन्दा धेरै भार नै हो ।"
ज्ाोगीमारा प्रहरी चौकीका असई बालकृष्ण भट्टराईको कार्यक्षेत्रमा पर्ने जोगीमारा-९ स्थित हुग्दी खोलामा पछिल्ला तीन महिनामा मात्रै तीनवटा ट्रक खस्दा  ६ जनाको मृत्यु भयो । राजमार्गको आठ किलोमिटरमा मात्रै मंसिर महिनामा पाँच ठूला दुर्घटना हुँदा चार जनाको मृत्यु भयो । भट्टराई भन्छन्, "सडक  मार्ग मृत्यु मार्गजस्तो भइसक्यो । गति मात्रै कम गर्ने हो भने आधा दुर्घटना कम हुन्छन् ।"
जिल्ला ट्राफिक प्रहरी कार्यालय, धादिङले सवारीहरूबाट असुलेको जरिवाना शुल्कको परिणामले नै देखाउँछ, सवारीको लापरबाही । जस्तो कि, गत  कात्तिक महिनाभरि २४ लाख ७८ हजार २ सय रुपियाँ जरिवानाबाट उठ्यो । सबैभन्दा धेरै जरिवाना क्षमताभन्दा धेरै वजन बोक्ने सवारीबाट भएको दे खिन्छ । डीएसपी मल्ल भन्छन्, "राजमार्गको यात्रा अझै रामभरोसे छ ।"
छैन उद्धार संयन्त्र औसतमा दैनिक तीन दुर्घटना हुने पृथ्वी राजमार्गको यस खण्डमा दुर्घटना भइहालेमा तत्काल उद्धारको कुनै संयन्त्र छैन । न तत्काल  प्रहरीको उपस्थिति सम्भव छ, न त तिनीहरूको उपस्थितिले च्यापिएका, डुब्नै आँटेका र उद्धारको आश गरेका यात्रुको ज्यान जोगाउन सकिने सम्भावना  नै छ । यति लामो सडक खण्डमा दुई ठाउँमा मात्रै ट्राफिक प्रहरीका पोस्ट छन् । तर, प्रहरीसँग कुनै आधुनिक उद्धार संयन्त्र छैन । प्रहरी उपरीक्षक मल्ल  स्वीर्काछन्, "उद्धार सामग्रीको कुनै बन्दोबस्त छैन ।"
बढ्दो दुर्घटना र तत्काल उद्धारको अभावमा यात्रुले ज्यान गुमाइरहेको देखेर गजुरीका बासिन्दाले सडक सुरक्षा समिति नै स्थापना गरेका छन् । तर,  उनीहरूको पनि समस्या उही छ, आवश्यक उपकरण नहुनु । समितिका अगुवा दिवससागर श्रेष्ठ भन्छन्, "उद्धार उपकरणका नाममा हामीसँग खासै केही  छैन । केही थान पुराना स्ट्रेचर र केही लाइफ ज्याकेट मात्रै हो ।"
१६ मंसिरमा हुग्दी खोलामा खसेको ट्रकका दुई यात्रु धेरै बेरसम्म 'बचाऊ बचाऊ' भनेर कराइरहेका थिए । तीव्र गतिमा फलाम काट्ने गतिलो उपकरण  मात्रै भएको भए पनि बचाउन सकिन्थ्यो भन्ने श्रेष्ठलाई लाग्छ । तीन महिनाअघि चामेवासमा बस र माइक्रोबस जुधेर भएको दुर्घटनामा च्यापिएका तीन  यात्रुको उद्धार गर्न प्रहरी, उद्धारक र स्थानीयलाई तीन घन्टा लाग्यो । श्रेष्ठ भन्छन्, "फलाम काट्ने ह्याक्सो हातैले चलाएर तिनलाई निकाल्नु सास्ती नै  हो ।"
बारम्बार दुर्घटना भइरहने राजमार्गको यस खण्डमा न प्रहरी, न सडक विभाग, न त अन्य उद्धारमा संलग्न संघसंस्थासँगै आवश्यक उपकरण छ । सडक  विभाग, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय साइट क्याम्प धादिङका इन्जिनियर मधुसूदन साखी नै दुर्घटना भएका गाडी हटाउने वा तिनलाई खो लाबाट झिक्ने उपकरण नभएको बताउँछन् । फिस्लिङ, गजुरी र नौबिसेमा तीन लोडर -पहिरो सफा गर्ने) भए पनि अहिले एउटा मात्रै छ । इन्जिनियर  साखी भन्छन्, "दुर्घटना भएपछि घन्टौँको जाम सामान्य भइसक्यो । यति लामो दूरीमा कम्तीमा एउटा शक्तिशाली मोबाइल क्रेनको खाँचो छ ।" जस्तो  कि, १५ असोजमा सिम्लेमा एकआपसमा बस ठोक्किँदा ६ जनाको घटनास्थलमै मृत्यु हुँदा पनि त्यसलाई हटाउन प्रहरीलाई चार घन्टा लाग्यो । यसको  असर सडकमा झन्डै १० घन्टासम्म जाम भयो ।
समयमै घटनास्थल पुगे पनि ट्राफिक प्रहरी मान्छेको भीड हटाउनेबाहेक अरू केही गर्न सक्दैन । आवश्यक उपकरणको अभावमा मूकदर्शक बन्नुको  विकल्प छैन । यति लामो दूरीमा पर्याप्त ट्राफिक जनशक्ति नहुनु पनि दुर्घटनाको एउटा कारण हो । २४सै घन्टा सवारी चल्ने ८३ किमि राजमार्गमा  जम्मा २८ जना मात्रै ट्राफिक छन् र दुईवटा मात्रै स्थायी पोस्ट । धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे भन्छन्, "कम्तीमा पनि आठवटा पोस्ट  नभई राम्ररी निरीक्षण गर्न सकिँदैन । ट्राफिकको संख्या त दुई सय प्रतिशत बढाउन जरुरी छ ।"
धादिङ सडक खण्डमा दुर्घटना भइहाले तत्काल उपचारका निम्ति एउटै सुविधाजनक अस्पताल छैन । भएका तीन साना अस्पतालले दुर्घटनाका गम्भीर  घाइतेलाई बचाउन सक्दैनन् । दुर्घटनामा मर्नेकै हाराहारीमा दुर्घटनापछि उपचार नपाएर मर्नेको संख्या छ । दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाउनु  पहिलो र अन्तिम विकल्प हो । तर, लामो जामका कारण भनेकै समयमा घाइतेलाई काठमाडौँ पुर्‍याउन कठिन छ । समितिका अगुवा श्रेष्ठ भन्छन्,  "उपचार गर्न काठमाडौँ लैजानुपर्ने हुन्छ तर बाटो घन्टौँसम्म जाम हुन्छ र घाइते बीचमै मर्छन् ।" धादिङका प्रमुख जिल्ला अधिकारी पनि दुर्घटनाको  व्यवस्थापन गर्नु र घाइतेको उपचार गर्नुलाई चुनौतीपूर्ण ठान्छन् ।

झस्काउने दुर्घटना
२६ वर्षपहिले सदरमुकाम धादिङबेसीका सीतारामप्रसाद बर्मा (कट्टेल) वन विभागका लेखापाल थिए । काठमाडौँबाट पूर्व जाँदै गरेको बस २९ यात्रुसहित  त्रिशूलीमा बेपत्ता भएपछि खोजबिन कमिटीको हिसाबकिताब गर्न अञ्चलाधीश कार्यालयबाट खटिएर उनी घटनास्थल पुगेका थिए । बंगलादेशबाट चार  गोताखोर ल्याएपछि माछाले खाइसकेको अवस्थामा महिनौँपछि कंकाल फेला परेका थिए । पूर्वपत्रकारसमेत रहेका बर्माका अनुसार त्यति बेला झन्डै ६०  लाख रुपियाँ शव खोज्नमा मात्रै खर्च भएको थियो । बर्मा भन्छन्, "त्यति ठूलो जनधनको क्षतिपछि पनि कसैले पाठ सिकेन । दुर्घटना दोहोरिरहने नियति  बन्यो ।"
२३ फागुन ०६२ मा जोगीमाराको ज्यामिरे घाटमा भएको बस दुर्घटना यो सडक खण्डमा भएको सम्भवत: सबैभन्दा ठूलो सडक दुर्घटना हो । साँझ ६  बजे भएको बस दुर्घटनामा ५२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । आवश्यक उपकरणको अभावमा त्यतिबेला पनि हराइरहेका ३८ शव निकाल्न  चार दिन लागेको थियो । दुर्घटनाको विषयमा कैयौँ समाचार लेखेका स्थानीय पत्रकार शिव सिलवाल दुर्घटना टार्नै नसकिने नियतिजस्तो बनेको बताउँछन्  । भन्छन्, "मान्छेको मृत्युको संख्या गन्दागन्दै हामी त थाकिसक्यौँ ।"

सडक उस्तै, सवारी तेब्बर

०५५/५६ सालमा बि्रटिस सरकारको सहयोगमा पृथ्वी राजमार्गको धादिङ सडक खण्ड पुन: निमर्ाण गर्दा दैनिक दुईदेखि तीन हजार गाडीका लागि  इस्टिमेट तयार पारिएको थियो । औसतमा साढे ६ मिटरको चौडाइ भएको सडकको अवस्था अहिलेसम्म उत्रै छ । तर, गाडीको संख्या तेब्बर भइसक्यो ।  क्षेत्रीय सडक निर्देशनालय साइट क्याम्प धादिङका इन्जिनियर मधुसूदन साखी भन्छन्, "अब सडकको चौडाइ नबढाई सुख छैन ।"
साखीका बुझाइमा दुर्घटनाका अन्य कैयौँ कारणमध्ये साँघुरो बाटो र अत्यधिक सडक चाप पनि हो । सवारी साधनको संख्या अनुसार यो सडक चार ले नको हुनुपर्ने हो । स्थानीय पत्रकार शिव सिलवाल १० टन क्षमताको गाडीले ३० टनसम्म सामान बोक्नु र तिनीहरूको सुस्त गतिका कारण पनि दुर्घटना  हुने गरेको बताउँछन् । भन्छन्, "सडकले न सवारीको धेरै संख्या थेग्छ, न त क्षमताभन्दा धेरै भारका सवारी नै ।"

राजमार्गमा जे देखियो
तीव्र गतिमा हुँइकेका सवारी जहाँ पायो त्यहीँ रोक्ने, यात्रु ओराल्ने र चढाउने, ट्राफिकको अत्यन्तै पातलो उपस्थिति पृथ्वी राजमार्गमा जति बेला पनि दे ख्न पाइने दृश्य हुन् । राजमार्गका निम्ति न आवश्यक पूर्वाधार पृथ्वी राजमार्गमा छ, न त राजमार्गको नियम पालना गरेर सवारी हाँक्ने चालक नै ।  घुमाउरो सडकमा जहाँ पायो त्यहीँ ओभरटेक गर्नु, निश्चित सीमितता तोकिएको स्थानमा त्यसको उल्लंघन भइरहेका छन् ।
दोष चालकको मात्रै छैन । राजमार्गका निम्ति आवश्यक ट्राफिक पूर्वाधारको व्यवस्था यहाँ कतै छैन । कतिसम्म भने ८३ किमि राजमार्गमा कहीँकतै पनि  सडक बत्तीको व्यवस्था छैन । जबकि, दैनिक झन्डै तीन हजारभन्दा धेरै गाडी रातीको समयमा कुद्छन् । पर्याप्त ट्राफिक चिह्न, गति सीमित गर्नका  निम्ति आवश्यक संकेत, सडकछेउमा बारको अभाव राजमार्गमा हुने दुर्घटनाका थप कारण हुन् ।
राजमार्ग कतिसम्म अस्तव्यस्त छ भने छेउमा पर्ने अधिकांश बजार र गाउँ क्षेत्रमा समेत पैदल यात्री हिँड्ने फुटपाथको व्यवस्था छैन । कतिपय ठाउँमा त  सडक लेनसमेत छुट्याइएको छैन । जस्तो कि, फेदीखोलादेखि नौबिसेको उकालो सुरु हुन्जेल कतै सडक लेनको संकेत चिह्नसमेत देख्न पाइँदैन ।  कतिपय ठाउँमा संकेत चिह्नका बोर्ड त छन् तर त्यहाँ संकेत चिह्न खुइलिसकेको छ । माझखोलादेखि नौबिसेको उकालोसम्म झन्डै ४० किलोमिटरमा  कतै सडक लेन छुट्याइएको छैन । नौबिसेका केदार पाठक भन्छन्, "जेब्रा क्रसिङ र ट्राफिक चिह्न यहाँका मान्छेलाई कुन चराको नाम हो भन्याजस्तो छ  ।"
प्रकाशित: मंसिर २८, २०७१