महाकालीपारिको नेपाल

भारतमुखी आर्थिक-सामाजिक जीवन

- रामबहादुर रावलभवानी भट्ट, दोधारा-चाँदनी (कञ्चनपुर)
पूर्वपश्चिम राजमार्गको अन्तिम विन्दु महेन्द्रनगरलाई छाडेर दक्षिण-पश्चिम सोझिएको धुलाम्मे सडक पछ्याउँदैजाँदा करिब १२ किलोमिटरपछि आइपुग्छ, महाकाली नदी। शुक्लाफाँटा वन्यजन्तु आरक्ष हेर्न पुग्ने पर्यटकका लागि नयाँ आकर्षक गन्तव्य पनि बनेको छ,  यो ठाउँ। कारण, ०६१ सालमा १ हजार ४ सय ५२ मिटर लामो झोलुंगे पुल बनेको छ यहाँ। धेरै नेपालीका मनमा महाकाली सीमानदीका रूपमा बसेको छ। त्यसैले लाग्छ, यो नदीले नेपाल-भारत सीमा छुट्याउँछ र पुलले दुई देशको भूमि जोड्छ।
यस नदीले यहाँ नेपाल-भारत सीमा होइन, नेपालबाटै नेपालको भूमि छुट्याएको छ। कञ्चनपुर जिल्लाका दुई गाविस दोधारा र चाँदनी नेपाली भूमि भएर पनि सीमापारिका जस्ता बन्न पुगेका छन्। यहाँका बासिन्दाले नेपाली भएर पनि अन्य नेपाली नागरिकसरह  राज्यको सेवासुविधा उपभोग गर्न पाएका छैनन्। दुई गाविसका गरी करिब ४० हजार जनसंख्या रहेको यस क्षेत्रलाई राष्ट्रिय विकासको मूलधारमा समावेश गर्न राज्यले पर्याप्त ध्यान नदिएको स्थानीयवासी ठान्छन्। चाँदनी-६, कञ्चनपुरका बमबहादुर रेग्मी  भन्छन्, "पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भूगोल मात्र नेपाल भन्दा हाम्रो चित्त दुख्छ। यो पनि त नेपाल हो। हामी पनि नेपाली नै हौँ।"

घर नेपालमा, आँगन भारतमा
महाकाली तरेपछि पनि करिब १२ किलोमिटर थप दक्षिण-पश्चिम हिँड्ने हो भने अर्को नदी आइपुग्छ, जोगबुढा। जोगबुढापारि पनि नेपाली बस्ती छरिएका छन्। सीमामै उनीहरूका घर छन्। कतिपयका त घर नेपालमा छन्, आँगन भारतमा। केही घरमा साइकल  भारतमा अड्याएर दैलोभित्र पसेपछि मात्र नेपाल सुरु हुन्छ। उनीहरूमध्ये नेपालमा बाली फलाउँछन्, बिस्कुन भारतमा सुकाउँछन्। ओल्लो घरबाट पल्लो घर जान भारतको भूमि कुल्चनुपर्छ। "कहिलेकाहीँ एसएसबी (भारतीय सीमा सुरक्षा बल)को गस्ती आउँछ र  १० मिटर परै बस भन्छ। हामी सुकुमबासी यहाँबाट उठेर कहाँ जाऔँ ?" दोधारा-९, कुतियाकभरकी बब्ली खड्का, ३१, भन्छिन्।
कुतियाकभर यस्तो गाउँ हो, जहाँ हिउँदमा पनि बाढी आउँछ। जोगबुढा र महाकाली नदीको दोभानमा छ, यो क्षेत्र। नदीले बहाव परिवर्तन गर्दा वा बढी पानी आउँदा पहिलो क्षति बेहोर्ने पनि यही क्षेत्रका बासिन्दा हुन्छन्। शारदा ब्यारेजबाट लगिएको पानी  कहिलेकाहीँ भारतले जोगबुढामै खन्याइदिन्छ। त्यसको सिकार नदीकिनारका बासिन्दा हुन्छन्। वषर्ात्को समयमा त बाढी नआएको कुनै वर्ष नै हुँदैन। तर, सबैभन्दा ढिलो राहत पुग्ने वा पुग्दै नपुग्ने ठाउँ पनि यही हो।
दायाँबायाँ बालुवाले भरिएका ठूल्ठूला मरुभूमिजस्ता बगर छन्। बीचमा उठेको टापुमा लहरै ससाना खरका झुप्रा छन्। सक्नेले एक तलाका पक्की घर बनाएका छन्। कसैले इँटको गाह्रो लगाएर खरको छानो हालेका छन्। कुतियाकभरकी मायादेवी सुनार, ४७,  भन्छिन्, "आकाशमा बादल लाग्नेबित्तिकै कतातिर भाग्ने भनेर हेर्न थाल्नुपर्छ।"

भारतनिर्भर जीवन

कुतियाकभरमा मात्र ४१ परिवारको बसोवास छ। अधिकांश युवा रोजगारीका लागि भारत जान्छन्। बब्लीका श्रीमान् लालबहादुर खड्का, ३२, पनि अहमदावाद, भारतमा मजदुरी गर्छन्। उनी कामको खोजीमा भारत जान थालेको १२ वर्ष भयो। उनले भारतबाट  कमाएर ल्याएको पैसा पनि भारतीय बजारमै किनमेल गरेर सकिन्छ। "लुगाफाटो, नुनतेल सबै भारतको नौजलिया बजारबाट ल्याउनुपर्छ," बब्लीको भनाइ छ।
जयबहादुर खड्का, ८०, लाई चार महिनामा दुई हजारका दरले वृद्धभत्ता दिन्छ, गाविसले। नेपाल राज्यसँग उनको नाता यही मासिक पाँच सय रुपियाँको वृद्धभत्ताले मात्र गाँसेको छ। बाँकी व्यवहार सबै भारतसँग छ। वृद्धभत्ताबाट प्राप्त रकम पनि उनी नेपाली रु पियाँमै खर्च गर्न पाउँदैनन्। नेपाली रुपियाँले पहिला भारतीय रुपियाँ (भारु) किन्नुपर्छ। अनि मात्र अरू सामान किन्न मिल्छ। नेपाली रुपियाँ पूरा भाउमा यहाँ चल्दैन। खड्का आफ्नो वृद्धभत्ताको हिसाब सुनाउँछन्, "दुई हजार नेपाली रुपियाँ भारुसँग साँट्दा जम्मा  १ हजार २ सय हुन्छ। साट्नेले ५० रुपियाँ काटेर दिन्छ। कहिलेकाहीँ त त्यो पनि साट्दैनौँ भनेर दु:ख दिन्छन्।"
२२ असोज अपराह्नतिर नेपाल प्रतिनिधि कुतियाकभर गाउँ पुग्दा ऐनबहादुर सुनार, ४६, घरबाट साइकल निकाल्दै थिए। उनी हतार र तनावमा थिए। भन्दै थिए, "छोरी बिमारी भई। औषधी खोज्न जान्छु।" औषधीका लागि उनले दोधारामा रहेको स्वास्थ्य चौकी  रोजेनन्। कारण, जोगबुढा नदी तर्नुपर्छ। डुंगामा नदी तरेको प्रतिव्यक्ति पाँच र साइकलको पाँच गरी १० रुपियाँ खर्च हुन्छ। फेरि स्वास्थ्य चौकी टाढा छ। भनेजस्तो औषधी र उपचार पाइने ठेगान पनि छैन। त्यसैले उनको साइकल भारतीय खेत चिरेर गएको  गोरेटो बाटो पछ्याउँदै नौजलियातिर सोझियो। "हाम्रा दु:ख नेपालका नेतालाई सुनाइदिनू," जाँदाजाँदै उनले भने।
जोगबुढापारि मात्र होइन, अवस्था वारिको पनि उस्तै हो। आफ्नै देशमा आफ्नो मुद्रा चल्दैन। चले पनि पूरा भाउ पाइँदैन। सरकारी शिक्षक र कर्मचारीहरू नेपाली रुपियाँमा तलब खान्छन्। तिनलाई भारु साट्न हम्मेहम्मे पर्छ। स्थानीय पसलमा चिया खाँदा मोल  सोध्दा पाँच रुपियाँ भन्छन्। नेपाली दिन खोजे आठ रुपियाँ काट्छन्। नुन प्रतिकिलो १० रुपियाँ भन्छन्। तिर्दा १६ रुपियाँ दिनुपर्छ। "यहाँ हिसाबै भारुमा हुन्छ। बच्चाबच्चीलाई समेत नेपाली १० रुपियाँ दिए ६ रुपियाँ भन्छन्। नेपाली २० लाई २० भन्दैनन्, १२ रु पियाँ भन्छन्," सुरेश चौक्याल भन्छन्।
सबैजसो आर्थिक कारोबार भारतीय बजारमा हुन्छ। स्थानीय बजारमा पनि तरकारीदेखि नुन, तेल, मसला, दाल, चामल सबै भारतीय बजारबाट आउँछ। "कतिसम्म भने स्थानीय उत्पादन प्रवर्द्धन गर्नका लागि आयोजना गरिने हाट र मेलाहरूमा समेत भारतीय  सामानकै बोलवाला हुन्छ," बाबाथान, दोधाराका गोपाल गुरुङ, ७२, भन्छन्।
२२ असोजमा दोधारा-७ स्थित अम्बिका उच्च माविको प्रांगणमा सांस्कृतिक कार्यक्रम हुँदै थियो। देउडा सांगीतिक महोत्सव नाम दिइएको कार्यक्रममा देउडा गीतभन्दा बढी हिन्दी गीत नै बजे। केही समय हास्य कलाकारले बिताए। कार्यक्रमको टिकटको माथि  दायाँ किनारमा मूल्य तोकिएको थियो, २० रुपियाँ भारु। यसले पनि यहाँको आर्थिक-सामाजिक जीवनका धेरै पक्ष उजागर गर्छ।
गाउँका सडक कुनै खहरे खोलाका बगरजस्ता लाग्छन्। ठूल्ठूला ढुंगा बीच बाटामा तेर्सिएका छन्। बाटो ग्राभेल गर्ने नाममा ढुंगा छरिएका छन्। ती ढुंगा कहिले बाटाबाट १० फिट उफ्रेर सडक किनाराका घरका भित्तामा पुग्छन् त कहिले पैदलयात्रीका जीउमा। मो टरसाइकल चालकले हेल्मेट लगाउनैपर्ने नेपालको कानुन यहाँ छुट दिइएजस्तो देखिन्छ। यति मात्र होइन, एउटा मोटरसाइकलले दुई वा तीन होइन, पाँच जनासम्म यात्रु र त्यसमाथि थप भारी पनि बोकेको दृश्य सामान्य मानिन्छन्। कतिसम्म भने महेन्द्रनगरदेखि  महाकाली पुलसम्म यस्तै मोटरसाइकलले ट्याक्सी सेवा प्रदान गर्छन्, जसलाई स्थानीयले नै नाम दिएका छन्, मुन्द्रे यातायात। इलाका प्रहरी चौकी, दोधाराका निरीक्षक कमल बडुवाल भन्छन्, "मुन्द्रे यातायात स्थानीयको बाध्यतामा ठगी खाने भाँडो भएको छ।  मान्छे हेरी एक सयदेखि १ सय ५० भारुसम्म असुल्ने गरेका छन्। सार्वजनिक यातायात सुविधा नहुँदा यी सब समस्या देखिएका हुन्।" यस्तो सुविधाको व्यवस्था गर्ने जिम्मेवारी कसको हो ? यसको जवाफ उनीसँग पनि छैन।
सडकमा भारतीय नम्बर प्लेटका मोटरसाइकल मात्र देखिन्छन्। ती पनि कसैका नम्बर खुइलिएका छन्। कसैले नम्बर मेटेर नारा र सायरी लेखेका छन्। नेपाली रातो नम्बर प्लेट त अपवाद रूपमा मात्र पाइन्छन्। यो एकलासको दुनियाँमा पुगेपछि लाग्छ, यहाँ ने पालको कुनै नियम-कानुन लाग्दैन। यसको आफ्नै कानुन छ। आफ्नै शासन र व्यवस्था छ।
"नेपालमा मोटरसाइकल महँगो छ। नेपालमा एउटा किन्दा भारतीय मोटरसाइकल त तीनवटासम्म किन्न मिल्छ," दोधारा-९, आमबोझका मोतीराम बुढा आफ्नो बजाज डिस्कभर मोटरसाइकल देखाउँदै भन्छन्, "यो ५० हजार रुपियाँमा किनेको हो।" बुढाले  भारतीय मोटरसाइकल किन्ने रोचक काइदा पनि सुनाए, "भारतमै चिनेजानेका व्यक्तिका नाममा किन्ने। सबै कागजपत्र भारतीय नागरिककै नाममा तयार हुन्छ। त्यसपछि ढुक्कैले चढ्न पाइन्छ।"

पहिला सुविधा, अब सास्ती
भारतीय बजार नजिक हुँदा केही सामान सस्तो पनि छ। गुरुङका अनुसार चिनी ६५ रुपियाँ प्रतिकिलोमा पाइन्छ। जबकि, महेन्द्रनगरमा ७० देखि ७५ रुपियाँ तिर्नुपर्छ। तोरीको तेल, चामल, दाललगायत दैनिक उपभोग्य वस्तु नेपालका अन्य बजारभन्दा सस्तो पर्छ।  निर्माण सामग्री महेन्द्रनगरको तुलनामा धेरै सस्तोमा किन्न पाइन्छ। सिमेन्ट महेन्द्रनगरको तुलनामा एक बोरामा करिब तीन सय रुपियाँ सस्तो पर्छ। त्यसैले महेन्द्रनगरका तुलनामा घर बनाउन पनि यहाँ कम खर्च लाग्छ। महेन्द्रनगरबाट ती सामान लैजानुपर्‍यो  भनेचाहिँ चर्को पर्छ। कारण, महाकाली नदीमा मोटर चल्ने पुल बन्न सकेको छैन।
पछिल्ला केही वर्षमा भने भारतीय सीमा सुरक्षा बलले निर्माण सामग्री ओसारपसारमा कडाइ गरेको छ। दैनिक उपभोग्य वस्तुमा एकैपटक धेरै किनेर ल्याउन पाइँदैन। दुई-दुई किलोमिटरको दूरीमा एसएसबीका शिविर छन्। तिनले नियमित गस्ती गरिरहन्छन्।  भन्सार नाका पनि नजिक छैन। गड्डाचौकी नाका भएर आउँदा झन् महँगो र असुविधा पर्छ। महेन्द्रनगरबाट दोधारा-चाँदनी जान मोटरसाइकल वा साइकलबाहेक अरू विकल्प छैन। त्यसैले महेन्द्रनगरबाट नल्याई नहुने सामान मात्र मोटरसाइकलमा ओसार्छन्।  आफ्नो मोटरसाइकल छैन भने महँगो भाडा तिरेर लैजानुपर्छ।
धान, गहुँ, तरकारी भण्डारणको समस्या हुन्छ। तरकारीका लागि न नजिकमा शीतभण्डार छ, न त अन्नभण्डारण गरी वर्षभरि राख्न सकिने घर। धेरै परिवारको चिन्ता हुन्छ, घरमा भएको अन्नपात कतिखेर बाढीले बगाउने हो भन्ने। त्यसैले धान पाके पनि, गहुँ  पाके पनि भारतीय व्यापारीलाई बेच्नुको विकल्प छैन। त्यसपछि सामान किन्दा पनि भारतीय बजारकै भर पर्नुपर्छ। धेरै सामान किन्दा भारतीय सुरक्षाकर्मीले ल्याउन नदिनेअनि थोरै किन्दा महँगो पर्ने र बारम्बार बजार धाउनुपर्ने समस्या त छँदै छ। "हाम्रा यस्ता  समस्या कसले समाधान गर्दिन्छ ?" दोधारा-५, पीपलचौताराकी कमला विष्ट भन्छिन्, "हामी नाम मात्रका नेपाली भएका छौँ। न हाम्रो कुरो कसैले सुन्छ, न त समाधान हाम्रो हातमा छ।"

बिहेबारी पनि उतै

भानु बहुमुखी क्याम्पस, दोधारा-चाँदनीका प्रमुख प्रकाशबहादुर चन्दले भारतको उडिसामा जन्मेकी मीरा ठकुरीसँग विवाह गरे। पुख्र्यौली थलो बैतडी भए पनि ठकुरी परिवारको उडिसाको बसाइ पनि कुनै रैथानेभन्दा कम छैन। नेपाल र भारतमा उनका आफन्त र  इष्टमित्र उत्तिकै छन्। यता चन्द परिवारको पनि नेपाल र भारतमा उत्तिकै नाता-सम्बन्ध जोडिएको छ। प्रकाशको मामाघर भारतको वनवासा, पचपोखरियामा छ। अहिले पनि आमा मीनादेवी चन्द भाइटीका लगाउन सीमापारि जान्छिन्। प्रकाशकी बहिनी मञ्जु  चन्दले टनकपुर, सल्यानी गोठका हरिश चन्दसँग विवाह गरेकी छन्। भाइ शेरबहादुर चन्दको ससुराली पनि सीमापारि छ। शेरबहादुरकी श्रीमती अनिता चन्दको माइती भारत, खटिमाको विछुवा हो।
नाफुसिंह साउँद, ४१, ले पनि पिथौरागढको विष्ट परिवारमा जन्मेकी जयमालासँग विवाह गरे। "अहिले त उताको भाषा पनि बिर्सिसकेँ," सुदूरपश्चिमेली लबजमै जयमाला भन्छिन्, "झुक्किएर कुनै शब्द उताको आयो भने जिस्काइहाल्छन्।" माइती परिवार पनि  पिथौरागढबाट बसाइ सरेर उनको नजिकै खटिमा आएको छ। "हाम्रा धेरै मान्छे उता बसेका छन्। उताका यता बसेका छन्। त्यसैले संस्कार, संस्कृति पनि धेरैजसो मिल्छ," आफ्नो विवाहको एल्बम पल्टाउँदै जयमालाले भनिन्, "मेरो विवाहमा भने माइतमा  माइतकै चलन अनुसार, घरमा यहाँकै चलन अनुसारका कर्मकाण्ड गरियो।" साउँदले थपे, "यो हाम्रो धेरै पुस्ताअघिदेखि चलेको सम्बन्ध हो। पहाडमा पनि छ। यहाँ पनि छ।"
सीमापारि विवाह गर्ने चलन एक हदसम्म परम्पराको निरन्तरता भए पनि दोधारा-चाँदनीलाई सिंगो नेपालको सीमाबाट महाकालीले अलग्याउनु पनि एउटा कारण मान्छन्, क्याम्पस प्रमुख चन्द। भन्छन्, "नेपालसँग जतिसुकै भावनात्मक सम्बन्ध भए पनि बीचमा  महाकाली तगारो बनिरह्यो। हाम्रो धेरै व्यवहार भारतमै भयो। त्यसैले भारतमा नाता-सम्बन्ध जोड्न सहज मात्र होइन, बाध्य पनि बनायो।"
बैतडी, दार्चुलालगायत जिल्ला थातथलो भएका कतिपय बासिन्दाको सीमापारिसँग बनेको सम्बन्ध पनि पुरानै हो। कतिपय ठाउँमा पहाडकै सम्बन्ध तराई झरेको पनि देखिन्छ। तर, भारतीय समाजसँग घुलमिल र अन्तरक्रिया गर्न जति सजिलो छ, बाँकी नेपालस ँगको सम्बन्ध त्यति सजिलो छैन। "हामीलाई नेपालसँग केही कुराले जोडेको छ भने नेपाली राष्ट्रियताको भावनाले मात्र। बाँकी सबै कुरामा भारतसँगै निर्भर छौँ," साउँद भन्छन्।

छोरीबुहारीको क्याम्पस

१८ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गर्दा मनरूपा शाही, ४०, को विवाह भइसकेको थियो । दुई बच्चाकी आमाका रूपमा घरधन्दा सबै आफैँ सम्हाल्नुपर्दा उनको पढाइ निरन्तर हुन सकेन । १८ वर्षपछि उनले आफ्नै घरअगाडि उच्च मावि खुलेको पाइन् । त्यही ँबाट प्लस टु गरिन् । जेठो छोरा आँखासम्बन्धी प्राविधिक शिक्षा पढ्दै छन् । कान्छो छोरा एसएलसी दिने तयारीमा छन् । उनी अहिले स्नातक पढ्दै छिन्, शिक्षा संकायमा जनसंख्या विषय लिएर । भन्छिन्, "बालबच्चा पढाउनु कि आफू पढ्नु ? फेरि बाहिर गएर कहाँ  डेरा गरी बस्नु ?"
उनीजस्तै लामो समय अन्तर भएका, बाहिर गएर पढ्न नसक्ने दर्जनौँ छात्रा क्याम्पसमा भर्ना भएका छन् । त्यसैले छात्रभन्दा छात्राको संख्या अत्यधिक छ । घरमै बसी रूखोसुखो खाएर पढ्ने । पैसा हुने त महेन्द्रनगर, काठमाडौँ र विदेश पनि गएका छन् ।
राष्ट्रिय रूपमा औसत साक्षरता दर ६५.९ प्रतिशत छ । यसको तुलनामा कञ्चनपुर केही अगाडि छ । कञ्चनपुरको जिल्लागत अनुपातभन्दा धेरै फरक छैन, दोधारा र चाँदनी गाविसको । कञ्चनपुरको साक्षरता दर ७०.६७ छ । जसमा पुरुषको साक्षरता दर ८१  प्रतिशत र महिलाको ६१ प्रतिशत छ । दोधारा र चाँदनीमा क्रमश: ७१.६७ र ६९.७४ प्रतिशत जनसंख्या साक्षर छ । साक्षरता दर जिल्लाको अनुपातसँग मिले पनि उच्च शिक्षा अध्ययन भएको जनशक्तिको उपस्थिति यी गाविसमा कमजोर छ । गाविसभरिमा ४९  जना स्नातकोत्तर छन् । तीमध्ये ४० पुरुष मात्र छन् । दोधारामा ३५ स्नातकोत्तर छन्, तीमध्ये २८ पुरुष छन् । यस हिसाबले एक वडामा मुस्किलले तीन जना स्नातकोत्तर भेटिन्छन् । स्नातकमा कुल २ सय ८१ विद्यार्थीमध्ये छात्राको संख्या १ सय ८७ छ ।

प्रमुख चार समस्या
बाढी : भारतबाट नेपालतिर छिरेको जोगबुढा नदीले कुतियाकभरनिर दोभान बनाउँछ । कहिले महाकालीको बहाव यस क्षेत्रमा बढ्छ र जोगबुढा नदीले समेत बाटो बिराउँछ । कहिले जोगबुढाले महाकालीको बाटो थुन्छ र महाकाली बहकिन्छ । यहाँको जनजीवन र  खेतीपातीलाई अस्तव्यस्त बनाउन यी दुई नदीको अघोषित कार्यगत एकता भएजस्तो लाग्छ, यहाँका बासिन्दालाई ।
यातायात : यस क्षेत्रभित्र कुनै सार्वजनिक यातायात चल्दैनन् । महाकाली र जोगबुढा नदीमा मोटर चल्न सक्ने पुल छैनन् । एम्बुलेन्स चाहिने आपत्कालीन अवस्थामा सुविधासम्पन्न अस्पताल पुर्‍याउन गाह्रो छ। ठूलो मात्रामा स्थानीय उत्पादन बाहिर लैजान  सकिँदैन ।
हात्ती आतंक : जंगली हात्तीका बथानै आएर गाउँलेको बालीनाली खाइदिन्छन् । घर भत्काइदिन्छन् । गत भदौमा पनि यस क्षेत्रका बासिन्दालाई भारतीय जंगलबाट आएको हात्तीको बथानले त्राहित्राहि बनाएको थियो ।
बेरोजगारी : यो समस्या आमनेपालीकै समस्या हो । तर, यहाँ सानै उमेरमा विद्यालय छाड्ने, कामको खोजीमा भारत जाने, सपरिवार मजदुरीका लागि भारत जाँदा पढाइ प्रभावित हुने भएकाले शिक्षाको स्तर उठ्न सकेको छैन । यसको प्रत्यक्ष असर नयाँ  पुस्ताको वृत्तिविकासमा परिरहेको छ । उखु, धान, गहुँ र तरकारी राम्रो उत्पादन हुने भए पनि बजारसम्म पुर्‍याउने यातायात सुविधा नभएकाले पनि यहाँको ठूलो युवाशक्ति विदेशिन बाध्य छ ।

प्रकाशित: आश्विन २६, २०७१