चितुवा चिन्तक

- शिव शर्मा
ज्या क किनरोस, ५३, खासमा न्युजिल्यान्डका वन्यजन्तु संरक्षणकर्मी हुन्। तर, अहिले उनी पोखरा, पुम्दीभुम्दीको रानीवनमा राखेर हुकाईएको चितुवाको सेवामा खटिएका छन्। एक महिनाअअघि पुम्दीभुम्दीबाट पर्यटकीय गाउँ घान्द्रुक पुर्‍याएर राखिएको उक्त  चितुवाले सेतै फुलेको झुस्स दारी भएका किनरोसका हातपाखुरामा चिथोरेको छ, खेल्दा। आमाबाट बिछोडिएको चितुवा रेखदेख गर्नु पक्कै पनि सजिलो काम होइन। भन्छन्, "मेरो मायालाई चिनेर होला, ऊ मसँग खेल्दा रमाइलो मान्छ। मलाई पनि आनन्द  आउँछ।"
बस्तीदेखि झन्डै दुई घन्टाको दूरीमा रहेको अनकन्टार वनमा अहिले चितुवासँगै बसेर हेरचाहमा खटिएका किनरोसले यहाँ चितुवाकै लागि आकर्षक घर बनाएका छन्। पोखराबाट हेलिकप्टर चार्टर गरेर चितुवालाई घान्द्रुक लगेका रहेछन् उनले। अहिलेसम्म  चितुवाका लागि पाँच लाख रुपियाँभन्दा बढी खर्च गरसिकेका छन्। चितुवालाई खुवाउने र बाँच्ने कला सिकाउन उनले बस्तीबाट टाढा एकलास वनमा बस्नुपरेको बताउँछन्।
चितुवाको बच्चाले यिनकै सहाराले नयाँ जीवन पाएको छ। वन कार्यालयमा छुट्टै बजेटको व्यवस्था नहुने हुनाले घाइते अर्थात् अलपत्र भेटिएका वन्यजन्तु संरक्षणको अभावमा मर्दै आएका छन्। तर, किनरोसकै सहयोगले यो चितुवाले हुर्किने मौका पाएको छ।  बिहान उठेदेखि बेलुकासम्म उनलाई चितुवाबाहेक अरूको चिन्ता छैन। आशै आशमा बाँचेको यो चितुवाको बच्चाको नामसमेत आशा राखिएको छ।
वाइल्ड टाइगर रसिर्च कन्जरभेसन एन्ड डेभलपमेन्ट, अस्टे्रलियाका संयोजकसमेत रहेका उनी ११ वर्षदेखि वन्यजन्तुको संरक्षणमा लागिरहेका छन्। एसिया, युरोपलगायत क्षेत्रमा उनले वन्यजन्तुको अध्ययन अनुसन्धान गर्दै आएका छन्। खास गरी बाघ प्रजातिका  वन्यजन्तुको अनुसन्धानमा लागेका किनरोस नेपालमा पनि विभिन्न भागमा पुगिसकेका छन्। चितुवालाई बाँच्ने कला सिकाउन पन्च हान्ने, सिकार खेल्ने, झाडीमा लुक्ने, रूखमा चढ्नेलगायत तालिम दिइरहेका उनी भन्छन्, "यो चितुवालाई वनमा छाडिदिने हो  आफ्नो सिकार आफैँ गर्न सक्छ।" वषौर्ं किन नलागोस्, उनी यो चितुवालाई जंगलप्रेमी बनाएरै छाड्न प्रतिबद्ध देखिन्छन्।
किनरोसले पछिल्लोपटक पोखरामा घाइते र अलपत्र वन्यजन्तु मर्ने क्रम बढेपछि वन्यजन्तु पुनःस्थापना केन्द्र आवश्यक भएको ठहर गरेका हुन्। यसैका लागि उनले रानीवन क्षेत्रमा पुनःस्थापना केन्द्रका लागि पहलसमेत गररिहेका छन्।
पोखराको मियापाटनको मानव बस्तीनजिकै भेटिएको यो चितुवालाई सुरुमा सहायक वन अधिकृत माधवप्रसाद बराललगायत वन कार्यालयका कर्मचारीले हुर्काए। भेटिएको एक महिना त जेनतेन खल्तीको पैसा हाले। त्यसपछि नसक्ने अवस्थामा पुगेपछि  किनरोस नै त्यसको अभिभावक बनेर आए। "चितुवालाई वनको बीचमा घरै बनाएर बाँच्ने कला सिकाउनु एउटा नयाँ प्रयोग पनि हो," अग्रज संरक्षणकर्मी हुमबहादुर गुरुङ भन्छन्, "एक विदेशीले वन्यजन्तु संरक्षणमा देखाएको यो चासो सबै संरक्षणकर्मीका लागि  प्रेरणाको विषय हो।"
प्रकाशित: भाद्र २२, २०७१