खुला नाका, असहज आवागमन

प्रमुख व्यापारिक केन्द्र वीरगन्ज—रक्सौल मार्ग अस्तव्यस्त

- भूषण यादव, वीरगन्ज
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १८ साउनमा काठमाडौँमा व्यवस्थापिका-संसद्लाई सम्बोधन गर्दै 'नेपाल-भारतबीचको सीमा अवरोध होइन, पुल बन्नुपर्छ' भनिरहँदा भारतसँग जोडिएको मुलुकको ठूलो व्यापारकि नाका वीरगन्ज-रक्सौल सडक अस्तव्यस्त थियो।
भारतका विभिन्न सहरबाट स्थलमार्ग भई रक्सौल हुँदै मुलुक भित्रिने यो नाका अस्तव्यस्त हुन थालेको धेरै भइसक्यो। अब त मालवाहक सवारी साधनहरूसँग नाकामा लाइन लागेर लामो समयसम्म पालो पर्खनेबाहेक विकल्प नै छैन। दुई देशका आमनागरकिको आवागमन कठिन हुँदै गएको छ। बिरामी बोक्ने एम्बुलेन्स ओहोरदोहोरमा समस्या छ। जबकि, भारतसँग कुल व्यापारको ७० प्रतिशत यही नाकाबाट हुने गर्छ। मुलुकको कुल इन्धन खपतको ६० प्रतिशत आयात पनि यही नाका भएर हुन्छ।
नाका खुला भनिए पनि आवागमन असहज छ। वीरगन्ज र सीमावर्ती सहर विहारको रक्सौलमा हुने दिनहुँको ट्राफिक जाम समस्या विकराल बन्दै गएको छ। बिहान सखारै प्रमुख नाकामा मालवाहक गाडीका साथै रिक्सा, टाँगा र टेम्पोको ताँती लागिसकेको हुन्छ। ८ बजे नै मुलुकको प्रवेशद्वार भनिने वीरगन्ज नाकामा सवारी जाम सुरु हुन्छ। यसरी सुरु भएको जाम बढ्दै जाँदा दिउँसो त मानिसलाई ओहोरदोहोर गर्न पनि सकस पर्छ। वीरगन्जबाट यात्रु बोकेर रक्सौलका लागि निस्कने टेम्पो, रक्िसा र टाँगा भन्सार नपुग्दै रोकिन्छन्। यात्रुहरू पैदलै एक किलोमिटर हिँडेर रक्सौल पुग्नुपर्ने वाध्यता छ। सीमावर्ती रक्सौलका बासिन्दाले जामको समस्या बढ्दै गएपछि विरोध र्‍यालीसमेत निकालेका छन्। जामले गर्दा प्रमुख नाकाबाट हुने आपूर्ति मात्र होइन, जनजीवन नै प्रभावित भएको छ। "चार किलोमिटरको दूरी पार गर्न चार घन्टा लाग्न थालेको छ," युवा व्यवसायी विश्वकरण जैन भन्छन्।
गत महिना ट्राफिक समस्याका कारण डिजेल र पेट्रोलको आपूर्ति ५० प्रतिशत घटेकाले देशभरि अभाव चुलिएको थियो। दैनिक २ हजार ७ सय किलोलिटर इन्धन भित्रिनुपर्नेमा नाकामा ट्राफिक जामका कारण १ हजार ३ सयदेखि १ हजार ५ किलोलिटर मात्र भित्रिएको थियो। इन्धन ढुवानी सहज बनाउन नेपाल आयल निगमका प्रबन्ध निर्देशकलगायतका पदाधिकारीले यहाँका प्रशासक र प्रहरीसँग छलफल गरेका थिए।
पाँच महिनाअघि सुरु भएको रक्सौल-सीतामडी रेल्वे सेवाका कारण भारतको राष्ट्रिय राजमार्गमा रहेको रेल्वे फाटक दिनमा दसपटक बन्द हुन्छ। "एकपटक बन्द हुँदा कम्तीमा २० मिनेट सवारी आवागमन ठप्प बन्छ," रक्सौलका पत्रकार विजय गिरी भन्छन्, "त्यसैले राजमार्गमा फ्लाइओभरको आवश्यकता छ।" भारत सरकारले यसपालिको रेल्वे बजेटमा उक्त क्षेत्रमा फ्लाइओभर निर्माणका लागि १० करोड भारु विनियोजन गरेको छ।
बर्सादको मौसममा रक्सौलको दिल्ली-रक्सौल राष्ट्रिय राजमार्ग (एनएच-२८ ए)मा ठूल्ठूला खाल्डा बन्छन्। रक्सौलदेखि सुगौलीसम्म ३० किलोमिटर सडक क्षतविक्षत बनेको छ। आधा घन्टाको यो सडक खण्ड पार गर्न सवारीलाई तीन घन्टाभन्दा बढी लागिरहेको छ। "पानी परेको समयमा पाँच दिनसम्म बाटोमै अलपत्र परिन्छ," ट्रक चालक वलवीर सिंह भन्छन्, "सुक्खायाममै समेत तीन घन्टा लाग्छ।"
दैनिकको सवारी जाम र सडकमा हिलोले भरिएको खाल्डाखुल्डीका कारण रक्सौलको व्यापारसमेत प्रभावित भइरहेको छ। मेनरोडमा एक दशकदेखि मोबाइल पसल सञ्चालन गररिहेका व्यवसायी इर्शाद आलमका अनुसार मासिक १५ लाखदेखि २० लाख रुपियाँको व्यापार हुँदै आएकामा केही महिनादेखि त्यो एकतिहाइमा झरेको छ। आलम भन्छन्, "पाँच लाखको बिक्री पनि छैन, जाम र फोहरले नेपाली ग्राहक घटेका छन्।" यहाँको व्यापार नेपाली ग्राहकले नै चलेको छ।
नेपालसँग हुने व्यापारको मुख्य नाका सहर भए पनि राज्य र केन्द्र सरकारले रक्सौलको विकासमा उदासीनता देखाएको प्रोफेसर अनिल सिन्हा गुनासो गर्छन्। भन्छन्, "कोलाहल, फोहर, ट्राफिक जाम सहरको परचिय बनेको छ।"
ट्राफिक अस्तव्यस्त हुँदा भन्सार जाँचपास प्रक्रिया नै प्रभावित हुने गरेको भन्सार प्रमुख रामहरि अर्याल बताउँछन्। भारत तथा तेस्रो मुलुकबाट आयातित वस्तु बोकेर दैनिक १ हजारदेखि १ हजार २ सय भारतीय ट्रक वीरगन्ज भन्सार भित्रिने गरेका छन्। वीरगन्ज भन्सारले दैनिक १५ देखि १७ करोड रुपियाँ राजस्व संकलन गर्छ।
भारतसँग जोडिएका नेपालका प्रमुख नाकाका सहर (वीरगन्ज, विराटनगर, भैरहवा, नेपालगन्ज)ले आर्थिक तथा पूर्वाधार विकासमा फड्को मारे पनि सीमावर्ती सहर रक्सौल, जोगबनी, सुनौली र रुपैडिहाचाहिँ अझै उपेक्षित छन्। तर, प्रधानमन्त्री मोदीको सीमालाई पुल बनाउने वचनबद्धताले यिनको स्वरूप फेरनि सक्छ। त्यसैले अब खाँचो छ त त्यो प्रतिबद्धता कार्यान्वयनको।
प्रकाशित: श्रावण २५, २०७१