भेटियो सुनगिद्धको गुँड

पहिलो गिद्ध-सुरक्षित जिल्ला बनाउने तयारी

- हरिहरसिंह राठौर, खलंगा (जाजरकोट)
खलंगा (जाजरकोट) - विश्वमै लोपोन्मुख गिद्धमध्ये अतिसंकटापन्न सुनगिद्धको गुँड जाजरकोटको लहँ-६, महादेव गाउँमा फेला परेको छ। नेपाल पन्छी संरक्षण संघले हालै गरेको अनुसन्धानमा समुद्री सतहदेखि १ हजार ५ सय १९ मिटर उचाइमा सुनगिद्धको गुँड भेट्टाइएको हो। यसअघि गत वर्ष पाल्पाको तानसेननजिकै यसै प्रजातिको गिद्धको गुँड फेला परेको थियो।
संघले एक सातासम्म जाजरकोटका सक्ला, नायकवाडा र लहँ गाविसका भीरपहरामा रहेका गिद्धका गुँड र चल्लाहरूको अध्ययन गरेको थियो। अध्ययनका क्रममा सुनगिद्धसँगै अन्य संकटापन्न सेतो गिद्ध, हाडे गरुड (हाडफोर) र हिमाली गिद्ध पनि फेला परेको संघका फिल्ड बायोलोजिस्ट कृष्णप्रसाद भुसाल बताउँछन्।
स्थानीय बारेकोट पर्यावरण तथा एकीकृत विकास अभियान र सक्ला गाविसको सहयोगमा २० हजार रुपियाँमा राँगो खरदि गरी सेपुखोलामा गिद्धहरूका लािग भोजसमेत आयोजना गरएिको सक्ला गाविस सचिव धनीराम कुमाईको भनाइ छ। जिल्लाका उत्तरी भेक नायकवाडा, सक्ला, रामीडाँडा र रोकाय गाउँलाई वन्यजन्तु संरक्षण क्षेत्र घोषणाको तयारी पनि छ।
यसअघि त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्रका प्राध्यापक करनबहादुर शाह, पन्छीविज्ञ हेमसागर बराल र शलु अधिकारीको टोलीले चार गाविसमा गरेको आधारभूत अध्ययनमा चीरकालिज, डाँफे, मुनाल, लरुवालगायत १ सय ५९ प्रजातिका पन्छी फेला पारेको थियो। यस भेकमा रेड पान्डा फेला परेपछि रेड पान्डा नेटवर्कले समेत शोधकर्ता बद्री बराल र मनोज भट्टलाई अध्ययनका लागि
खटाएको थियो।
गाउँघरमा पशुहरूको उपचारमा प्रयोग गरनिे डाइक्लोेफेनिक नामक औषधी, स्याल र बाघ मार्न सिनोमा प्रयोग गरनिे विषादी, उपयुक्त वासस्थानको विनाश र डढेलोलाई गिद्ध मासिनुको मुख्य कारण मानिएको छ। सरकारले डाइक्लोेफेनिक औषधीको बिक्रीवितरण र आयातमा समेत प्रतिबन्ध लगाएको छ।
"सन् '९० को दशकसम्म १० देखि १६ लाख गिद्ध रहेको नेपालमा हाल ९१ प्रतिशत गिद्ध लोप भइसकेको छ," भुसाल भन्छन्, "गुँडलाई प्रमाण मानेर अब हामी विदेशी पन्छीविज्ञहरूसँग सुनगिद्ध हाम्रो रैथाने हो भनेर दाबी गर्न सक्छौँ।"



के हो सुनगिद्ध ?
रेड हेडेड भल्चर अंग्रेजी नाम रहेको सुनगिद्ध समुद्री सतहबाट दुई हजारदेखि ३ हजार १ सय मिटरसम्मका उचाइमा तीन दशकअघिसम्म प्रचुर मात्रामा पाइन्थ्यो। तुलनात्मक रूपमा पातला र चुच्चा पखेटाहरू हुने सुनगिद्धका वयस्कको नांगो रातो टाउको, नासिका झिल्ली, घाँटीको फेद र तिघ्राको माथिल्लो भागमा सेता टाटा, राता राता खुट्टा र औँलाहरू हुन्छन्।
हाल यो प्रजाति लोप हँुदै गएर यसको संख्या एक हजारको हाराहारीमा रहेको अनुमान छ। सरकारले यसलाई अतिसंकटापन्न पन्छीमा सूचीकृत गरेको छ भने अन्य डंगर, हाडफोर र सेतो गिद्धलाई संकटापन्नमा सूचीकृत गरेको छ। अतिसंकटापन्न सूचीमा रहेका गिद्धहरू आगामी एक दशकमा ५० प्रतिशत अझै घट्ने अनुमान छ।

प्रकाशित: वैशाख १४, २०७१